फिफा वरीयतामा नेपाल पाँच स्थान उक्लियो

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले सेप्टेम्बर महिनाको फिफा वरीयतामा पाँच स्थान सुधार गरेको छ । अघिल्लो महिना एक सय ६६ औं स्थानमा रहेको नेपाल १ सय ६१ औं स्थानमा पुगेको हो । नेपालले फिफा विश्वकप छनोट अन्तर्गत पहिलो खेलमा कुवेतसँग ७–० को फराकिलो अन्तरको हार बेहोरेको थियो । दोस्रो खेलमा नेपालले चाइनिज ताइपेइलाई २–० ले पराजित गरेको थियो । कुवेत वरीयतामा एक सय ५६ औंँ स्थानमा यथावत रहेको छ । दोस्रो खेलमा कुवेत अष्ट्रेलियासँग ३–० ले पराजित भएको थियो ।

ताइपेइ भने वरीयतामा ४ स्थान खस्कँदै एक सय २९ औँ स्थानमा पुगेको छ । ताइपेइ त्यसअघि जोर्डनसँग २–१ ले पराजित भएको थियो । नेपालको समूहमा रहेको जोर्डन एक स्थान उक्लँदै ९८ स्थानमा पुगेको छ । अष्ट्रेलिया पनि दुई स्थान माथि चढ्दै ४४ औँ स्थानमा पुगेको छ । नेपालले अर्को महिना हुने विश्वकप छनोटको खेलमा अष्ट्रेलिया र जोर्डनको भ्रमण गर्दैछ ।

दक्षिण एसियाको शीर्षस्थानमा रहेको भारत एक स्थान तल झर्दै एक सय चारौँैँ स्थानमा छ । दोस्रो स्थानको माल्दिभ्स एक स्थान झर्दै एक सय ५३ औँ स्थानमा छ । नेपालपछि भुटान एक सय ८५ औँ स्थानमा छ । पाँच स्थान खसेको बंगलादेश एक सय ८७ औँ स्थानमा छ । दुई सय दुई औँ स्थानमा श्रीलंका र दुई सय तीन औँ स्थानमा पाकिस्तान रहेका छन् ।

वरीयताको शीर्ष स्थानमा बेल्जियम रहेको छ । फ्रान्सले ब्राजिललाई उछिन्दै दोस्रो स्थानमा पुगेको छ । इंग्ल्यान्ड चौथो स्थानमा यथावत छ । पोर्चुगल उरुग्वेलाई उछिन्दै पाँचौँ स्थानमा पुगेको छ । स्पेन क्रोएसिया र कोलोम्बियालाई उछिन्दै सातौँमा छ । दशौँ स्थानमा अर्जेन्टिना यथावत छ । एसियाली वरियतामा चौथो रहेको अष्ट्रेलियाभन्दा अगाडि इरान २३ औँ, जापान ३१ औँ र दक्षिण कोरिया ३७ औँ स्थानमा छन् ।

प्रतिक्रिया