कवर्ड हल निर्माणमा ढिलासुस्ती

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा निर्माणधीन कवर्ड हलको निर्माण अवधि सकिएको छ । तर कवर्डहल निर्माणको काम भने सकिएको छैन । एक वर्ष अगाडि काम सुरु भएको कवर्ड हल निर्माणको सम्झौता अवधि गएको साउन मसान्तमा सकिसकेको छ । तर काम भने आधा पनि हुन सकेको छैन ।

करिब तीन वर्ष अगाडि सुर्खेतको वीरेन्द्रनगस्थित खुलामञ्चमा कवर्ड हल निमार्णको लागि धार्मिक महोत्सव गरियो । सुर्खेत जिल्ला व्याडमिन्टन संघको आयोजनामा २०७३ कात्तिक २५ गतेदेखि मंसिर दुई गतेसम्म महोत्सव सुर्खेतको उक्त कवर्ड हल निर्माण स्थल नजिकै भयो । सुर्खेत जिल्ला लगायत हालको कर्णाली प्रदेशका विभिन्न जिल्लाका स्थायी घर भई विभिन्न सिलसिलामा सुर्खेतमा वसोवास गर्दै आएका खेलाडी र खेलप्रेमीहरूले निकै हर्ष मनाए कवर्ड हल बन्छ भनेर । विविध कारणले त्यो खुसी तीन वर्ष वर्ष बितिसक्दा पनि आउन सकेको छैन । अर्थात कवर्ड हल अझैँ निर्माणको काम सकिन सकेको छैन ।

धार्मिक महोत्सवमा उत्साहका साथ कवर्ड हल निर्माणका लागि भनेर सक्दो सहयोग गरे । धार्मिक महोत्सवमा कुल एक करोड ३० लाख संकलन भएको महात्सव मूल समारोह समितिका अध्यक्ष चेत अधिकारीले जानकारी दिए । उनका अनुसार सहयोग गर्ने भनेर घोषणा गरिएको रकममध्ये केही रकम अझै उठ्न सकेको छैन । जम्मा नगद एक करोड ३० लाखमध्ये करिब ६५ लाखको हाराहारीमा रकम अझै उठ्न नसकेको उनको दाबी रहेको छ ।

तर दुई वर्षपछि अर्थात गएको वर्ष मात्र कवर्ड हलको उद्घाटन भएर काम सुरु भयो । उद्घाटन कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको प्रमुख आतिथ्यतामा गरिएको थियो । तर अझैपनि निर्माण सम्पन्न हुन नसक्दा सरोकारवालाहरुले निराशा छाएको बताउँछन् ।
गएको आर्थिक वर्ष ०७५÷०७६ मा कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयबाट कवर्डहल निर्माणको लागि ५० लाख रकमसमेत प्राप्त भयो । जम्मा एक करोड ८० लाख रकम हुँदा पनि निर्माण समितिले रकम अभावले डिला भएको भनेर आलटाल गरिरहेको छ ।

कवर्ड हल निर्माणको लागि अहिले प्रयाप्त रकम भने सकिएको छैन । निर्माण समितिका अध्यक्ष चेत अधिकारीले उक्त कवर्ड हल निर्माणको लागि जम्मा तीन करोड रकम लाग्ने अनुमान गरिएको बताए । उक्त अनुमानअनुसार कवर्ड हल निर्माणको लागि एक करोड २० लाख रकम अपुग हुने देखिन्छ । अध्यक्ष अधिकारीका अनुसार अपुग हुने करिब एक करोड २० लाख रकमको लागि प्रदेश सरकारको नै भर रहेको छ ।

अहिले उपलब्ध रहेको कुल एक करोड ८० लाख रकमको काम सक्न करिब ६ महिना अझै लाग्ने उनले बताए । त्यसपछि मात्र कर्णाली प्रदेश सरकारसँग वजेटको लागि गुहार गर्ने हुनाले यो वर्ष पनि कवर्ड हल बन्ने छाँटकाँट देखिदैन । व्याडमिन्टन संघ सुर्खेतका अध्यक्ष महेश केशर खनालले निर्माणको लागि रकम संघका एक सय ५० जना खेलाडीबाट पनि केही मात्रामा संकलन गरिने बताए ।

कबर्ड हलको स्टिलको जिम्मा ७४ लाखमा काठमाडौंको गुरु मयलले पाएको छ । भने ज्याला ठेक्का निर्माण समितिले नै लिएको छ । हालसम्म छानोको काम भइरहेको बताउँदै खनालले सिटलका लागि काठमाडांैको कम्पनी हुँदा पनि तीन महिना जति ढिला भएको दावी गरे ।  जिल्ला खेलकुद विकास समितिका निवर्तमान सदस्य दिपेन्द्र केशर खनालले विद्युत्मा केही समस्या भएकाले ढिला भएको बताए । यस्तै गतिमा निर्माण कार्य हुने हो भने यो आर्थिक वर्षमा पनि कवर्डहल निर्माण सम्पन्न हुन मुस्किल देखिन्छ ।

प्रतिक्रिया