महोत्सवको तयारी पूरा

इलाम । शुक्रबार र शनिबार इलाममा हुन लागेको ‘इलाम साहित्य महोत्सव’ को सम्पूर्ण तयारी पूरा भएको छ । इलाम साहित्य समाजले आयोजना गर्न लागेको उक्त महोत्सवमा हुने विविध कार्यक्रमका बारेमा पत्रकार भेटघाट गरी आयोजकले जानकारी दिएको छ ।

महोत्सवका लागि वक्ताको निश्चित, अतिथि सत्कार, होटल व्यवस्थापन, यातायात व्यवस्थापन, प्रचारप्रसार तथा कार्यक्रम व्यवस्थापनका लागि आवश्यक तयारी पूरा भएको आयोजकका अध्यक्ष प्रकाश थाम्सुहाङले जानकारी दिए । ‘पर्यटनको लागि साहित्य’ भन्ने मूल नाराका साथ हुने महोत्सवमा साहित्यकार, कलाकारदेखि राजनीतिज्ञको जमघट हुनेछ । उनीहरूले विभिन्न शीर्षकमा छलफल तथा बहस गर्ने आयोजकले जानएको छ ।

महोत्सवमा पूर्वसभामुख तथा प्रतिनिधिसभाका सदस्य सुवासचन्द्र नेम्वाङ, संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराई, नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा, चिन्तक प्रदीप गिरी, स्रष्टा भूपाल राई, अभिनेता दयाहाङ राई, अभिनेत्री स्वस्तिमा खड्का, कवि श्रवण मुकारुङ, आख्यानकार राजन मुकारुङसहित अन्य ख्यातिप्राप्त साहित्यकार, लेखक, विश्लेषक, कलाकार, राजनीतिज्ञलगायतको सहभागिता रहनेछ । उनीहरूले विभिन्न विषयका १४ वटा सेसनमा बहस तथा विमर्श गर्ने जनाइएको छ ।

कार्यक्रमको पहिलो दिन प्राडा. सन्जीव उप्रेतीको सम्भाषण हुनेछ । ‘सत्ता कि प्रतिपक्ष’ शीर्षकमा श्रवण मुकारुङ, मोमिला जोशी र मनु मञ्जिलबीच हुने बहसमा विमल वैद्यले सहजकर्ताको भूमिका निर्वाह गर्नेछन् । ‘अ’ मा अल्झेको इलाम विषयमा युद्धप्रसाद वैद्य, महेश बस्नेत, राजेन्द्र बरालले छलफल गर्नेछन् भने सहजकर्तामा केदार शर्मा रहनेछन् । त्यस्तै, ‘मानकमाथि प्रश्न’ विषयमा राजन मुकारुङ, मिश्र वैजन्ती, उज्वल प्रसाई र सहजकर्तामा महेश पौडेल रहनेछन् ।

त्यसैगरी, ‘किन बिक्न छोड्यो आख्यान’ विषयमा पेभ ओझा, प्रकाश बुढाथोकी र बिना थिङबीच बालिका थपलियाले बहस चलाउने कार्यक्रम छ । ‘करोड क्लब र अफवाह’ शीर्षकमा सिनेमा विधामा दयाहाङ राई, अनुप सुवेदी, ब्रजेशले बहस गर्नेछन् भने सहजकर्तामा अन्वेश थुलुङ राई रहनेछन् । साँझ विभिन्न स्रष्टाले आफ््ना रचना प्रस्तुत गर्नेछन् ।

दोस्रो दिनको कार्यक्रममा पर्यटनको आयाम सम्बन्धमा हरिशचन्द्र राई, केशव धौराली, डा. देवी क्षेत्री दुलाल र सहजकर्तामा धर्म गौतम रहनेछन् । यसैगरी, निर्माणको जिम्मा विषयमा सुरेश नेम्वाङ, रवि सिंह, दीपक गौतमसँग सन्तोष नेम्वाङ सहजकर्ताका रूपमा रहनेछन् । सिनेमाको सन्देश विषयमा प्रकाश आङदेम्बे, स्वस्तिमा खड्का र सहजकर्तामा सुरेन्द्र राई रहनेछन् ।

साहित्यको पछिल्ला आन्दोलनका सन्दर्भमा उन्मुक्त पुस्ता, फरक आयाम, कुकुर कविता र सहजकर्तामा मुनाराज शेर्मा रहनेछन् । नेपाली साहित्यमा मन्धुुम÷मुन्दुम विधामा भूपाल राई र धर्मेन्द्रविक्रम नेम्वाङ, सहजकर्ता गणेशकुमार राई रहनेछन् । गीतको दुःख विधामा मुख्य वक्तामा कोमल निरौला, गुरुङ सुशान्त, चन्द्र आङदेम्बे र सहजकर्तामा युविर चेम्जोङ रहनेछन् ।

यस्तै, अधिकारको पेवा सन्दर्भ विचारमा जेवी विश्वकर्मा, सीमा आभास, कृष्ण धराबासी र सहजकर्तामा समीरबाबु कट्टेल रहने जनाइएको छ । ‘के गणतन्त्र खतरामा ?’ विषयमा मन्त्री योगेशकुमार भट्टराई, विश्वप्रकाश शर्मा र खगेन्द्र संग्रौलाले बसह गर्नेछन् भने वसन्त बस्नेतले सहजकर्ताको भूमिका निर्वाह गर्ने आयोजकले जनाएको छ ।

महोत्सवमा रैथाने विचार र मुद्दाको विषयमा विशेष बहस हुने अध्यक्ष थाम्सुहाङले बताए । उनले स्थानीय साहित्यकारलाई विशेष प्राथमिकता दिएको जिकिर गरे । ‘हामीले प्रायः सबै वक्ता स्थानीयलाई नै प्राथमिकता दिएका छौँ । सहजकर्ता त झन् सबै जिल्लाकै मात्र छन्,’ अध्यक्ष थाम्सुहाङले भने, ‘स्थानीय प्रतिभालाई विशेष महत्व दिएर महोत्सव सञ्चालन गरिएकाले यो महोत्सव सम्पूर्ण जिल्लावासीकै भन्ने हाम्रो दाबी छ ।’

पूर्वसभामुख तथा प्रतिनिधिसभाका सदस्य सुवासचन्द्र नेम्वाङले महोत्सवको समापन गर्नेछन् । पछिल्लो समय इलाममा साहित्यिक कार्यक्रम सुस्ताइरहेको अवस्थामा पुनःजागरण र पुर्नउत्थानको लागि महोत्सवको आयोजना गरिएको इलाम साहित्य समाजका सचिव रोशन राईले बताए ।

इलाममा २००९ सालमा करफोकमा बृृहत् साहित्यिक सम्मेलन आयोजना गरिएको थियो । त्यसपछि ०४५ सालमा महानन्द पुरस्कार समारोहपश्चात् ०६३ र ०६९ सालमा विशेष साहित्यिक कार्यक्रमपछि कुनै पनि साहित्यिक महोत्सव तथा सम्मेलन आयोजना गरिएको थिएन् । करिब ७ वर्षपछि इलाममा अन्तर्राष्ट्रिय साहित्यिक जमघट गर्न लागिएको हो ।

साढे २२ लाख खर्च लाग्ने अनुमान गरिएको महोत्सवका लागि इलामका स्थानीय तह, प्रदेश सरकार, पर्यटन बोर्ड, नेपाल प्रज्ञा प्रतिष्ठान तथा विभिन्न निजी कम्पनी तथा समाजसेवीसँग सहकार्य गरिएको आयोजक संस्थाले जनाएको छ ।

प्रतिक्रिया