‘दशा’ निम्त्याउने लामोसाँघु–चरिकोट सडक

दोलखा । दसैँ आउन केही दिन मात्रै बाँकी छ, निरन्तर वर्षाका कारण सडकमा परेका खाल्डाहरू र पहिरोले गर्दा सडक हिलाम्य भएको छ । सडकको अवस्थामा सुधार आएन भने दसैँका लागि घर फर्किने यात्रुलाई ठूलो सास्ती भोग्नुपर्ने देखिन्छ । पूर्वीय पहाडी जिल्ला दोलखा जोड्ने मुख्य राजमार्गअन्तर्गत लामोसाँघु–चरिकोट सडकको अवस्था हेर्ने हो भने यसपालिको ‘दसैँ यात्रा’ सजिलो र सुरक्षित हुने देखिँदैन । दसैँमा घर जाने सडक नै दशा बन्ने हो कि सबैमा चिन्ता थपिएको छ ।

लामोसाँघु–चरिकोटको ५५ किलोमिटर सडक हेर्दा यस्तो लाग्छ, धान रोप्न तयार पारेको खेतजस्तो देखिन्छ । गाडी चल्नुको त के कुरा जेसिबीले तानेर यातायातका साधन सडक पार गराउनुपर्ने अवस्था रहेको यातायातमा सवार बालकृष्ण काफ्लेले गुनासो गरे । बेहाल सडकका कारण काठमाडौँंबाट चरिकोट पुग्न ८÷१० घन्टा लाग्ने गरेको उनको भनाइ छ ।

यति धेरै सवारीसाधन र तिनमा सवार यात्रु चलायमान हुने बेला आइसक्दा पनि सडकको अबस्थामा खासै सुधार आएको देखिँदैन । सडकको दुरावस्थाले दसैँमा सवारीसाधन सञ्चालन गर्न चुनौती थपिएको यातायातका व्यवसायी राजेश कार्कीले बताए । ‘यात्रुको सुरक्षाको प्रश्न त छँदै छ, सडकको दुरावस्थाले सवारी सञ्चालन गर्नै असहज हुने अवस्था छ,’ उनले भने, ‘जसरी हुन्छ दसैँको आवागमन बाक्लिनुअघि नै सडकको अवस्था सुधार्नुपर्छ । यही अवस्थामा सवारी चलाउन गाह्रो छ ।’ कमाइभन्दा नि खर्च बढी आउने गरेको छ । ‘सडकको बेहाल अवस्था देख्दा त आफ्नो यातायात व्यवसायदेखि नै दिक्क लागेर आउँछ ।’

डिभिजन सडक कार्यालय दोलखाका प्रमुख धर्मेन्द्र झाको उपस्थितिमा दसैँअघिदेखि नै सडक निर्माण गर्न र सडकका खाल्डाखुल्डी पुरेर यात्र सहज बनाउन लागि परे पनि निरन्तर वर्षाका कारण काम तीव्र गतिमा हुन सकेको छैन । तर, समय निकै कम भएता पनि दसैँअघि सवारीसाधन केही सहज रूपमा सञ्चालनमा ल्याउन लागिपरेको उनले बताए ।

यस सडकको जिरो किलोदेखि २५ किलोमिटरसम्मको सडक बनाउने जिम्मा सीमाञ्चल गौरीपार्वती–सुनौला खिम्ती जेभीले र २५ किलोमिटरदेखि ५५ किलोमिटरसम्मको ठेक्का शकिल हेदर शंकरमाली–सुनौला खिम्ती जेभी कम्पनीले पाएको थियो । खाडिचौरदेखि मुडेसम्मको सडक निर्माणमा केही प्रगति देखिए पनि निरन्तर वर्षाका कारण सोचेजस्तो काम हुन सकेको छैन । मुडेदेखि चरिकोटको सडक निर्माण भने केही दिनअघिबाट मात्र थालिएको छ ।

प्रतिक्रिया