शिक्षामा सुधार ल्याउन स्थानीयतह तल्लीन

कालिकोट । बालबालिकाको शिक्षामा सुधार ल्याउन यतिवेला कालीकोटका स्थानीयतहहरू आफ्नो तनमन लगाएर लागिपरेका छन् । कालिकोट जिल्लाका स्थानीयतहका जनप्रतिनिधिले तल्लो तहको शिक्षामा सुधार गरी बाल शिक्षामा लगानी गर्न सात बुँदे घोषणपत्र जारी गरेको छ ।

शिक्षामा तल्लो तहका कक्षामा प्रभावकारी सिकाइ नहुँदा गुणस्तरीय जनशक्ति उत्पादन हुन नसकेको ठहर गर्दै रास्कोट घोषणापत्र जारी गरिएको हो । जिल्लाको एकीकृत बालशिक्षा विकासका लागि स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा नेपाल सरकारले गरेको कार्य विस्तृतीकरण ०७३ लाई आधार मानेर सहकार्य गर्न लागिएको हो ।

प्राप्त सिकाइबारे समीक्षा गर्दै ‘घर बलियो जगले, राष्ट्र बलियो बालविकास केन्द्रले’ नारालाई सार्थक बनाउन घोषणापत्र जारी गरिएको हो । जिल्ला समन्वय समिति प्रमुख अनिपाल शाही, नौ वटै स्थानीय तहका प्रमुख र शिक्षा अधिकृतलगायत सरोकारवालाले संयुक्त रूपमा रास्कोटका दुई स्वास्थ्य संस्था र दुई वटा नमुना बालविकास केन्द्रको अनुगमन गरेका छन् ।

अनुगममा सहभागी जनप्रतिनिधिले सबै स्थानीय तहमा एकीकृत प्रारम्भिक बाल विकासको कार्यविधि बनाएर लागू गर्ने र न्यूनतम मापदण्डमा आधारित बसाइँ व्यवस्थापन गर्ने प्रतिबद्धता गरेका छन्, केन्द्रमा शैक्षिक सामग्री, खानेपानी, शौचालय, खेलमैदान लगायतको सुविधासहित सहयोगी कार्यकर्ता १२ कक्षा पास गरेका हुनुपर्ने निर्णय गरिएको छ ।

उज्यालो र पर्याप्त ठाउँ भएको कक्षाकोठासहितको नमुना बाल विकास केन्द्र बनाउने तथा सहयोगी कार्यकर्तालाई आवश्यक तालिम दिँदै प्रोत्साहनमा एकरूपता ल्याउने जनप्रतिनिधिले प्रतिबद्धता जनाएका छन् । त्यस्तै, प्रत्येक स्थानीय तहमा प्रारम्भिक बालविकास केन्द्रसम्बन्धी सिकाइ स्रोत तथा अनुसन्धान केन्द्र स्थापना गरी प्रयोगमा ल्याउने, दिवा खाजालाई व्यवस्थित गर्न अभिभावकको भूमिकालाई प्रोत्साहित गर्ने निर्णय गरिएको छ । जिल्लाका सबै स्थानीय तहका बाल विकास केन्द्रलाई नमुना बनाउन जिल्ला परिषद्मार्फत प्रदेश सरकारसँग एक करोडका दरले रकम माग गर्ने निर्णय गरिएको सेतो गुराँस सेवा केन्द्रका जिल्ला संयोजक हुकुम शाहीले बताए । बालविकास केन्द्रसँगसँगै स्वास्थ्य संस्थामा पनि बालविकास सिकाई सामग्री कक्ष स्थापना गरेका छौँ ।

बाल विकासको लगानीविना विद्यालय शिक्षा बलियो नहुने भएकाले लगानीसहितको निर्णय गरिएको रास्कोट नगरप्रमुख काशीचन्द्र बरालले बताए । ‘बालबालिकामा लगानी गर्दा समृद्ध समाज बनाउन सकिन्छ,’ उनले भने, ‘बाल विकास केन्द्र ओझेलमा छन्, त्यसैले स्थानीय सरकारमार्फत लगानी बढाउन खोजेका हौँ ।’

बाल विकासलाई महत्व दिएर रास्कोट नगरले यसवर्ष इसिडीका लागि मात्र ४५ लाख रुपैयाँ विनियोजन गरेको उनले जानकारी दिए । उनका अनुसार नगरपालिकाको सहयोगमा दुई वटा इसिडीलाई नमुनाको रुपमा विकास गर्न लागिएको छ । कालिकोटमा २ सय ९४ सामुदायिक विद्यालय र २ सय ४६ बालविकास केन्द्र छन् । स्थानीय तहमा जनप्रतिनिधि आएपछि नौ वटै स्थानीय तहमा १ सय २ बाल विकास केन्द्र थप गरिएको हो ।

छरिएको वस्ती रहेको बाल विकास केन्द्रमा बालबालिका पु¥याउनै कठिन रहेको राष्ट्रिय सेतो गुराँसकी भीम राईले बताइन् । ‘कतिपय बाल विकास केन्द्रका बालबालिका खुलाचौर र धुलोमै बस्न बाध्य छन्,’ उनले भनिन, ‘खेल मैदान, सिकाइ सामग्री, खानेपानी, शौचालय, दिवा खाजा, तालिमप्राप्त दक्ष सहयोगी कार्यकर्ताको अभावलगायत समस्या केन्द्रले भोग्दै आइरहेका छन् ।’

घोषणापत्र तथा प्रतिबद्धता कार्यान्वयनका लागि सबै स्थानीय तहमा प्रमुख संयोजक, प्रमुख प्रशासकीय अधिकृत सदस्य र शिक्षा अधिकृत सदस्य सचिव रहने कार्यदलसमेत बनाइनेछ । विद्यालयको अनुगमनका लागि शिक्षा समितिका अतिरिक्त स्थानीय तहका सबै वडाका अध्यक्षलाई जिम्मेवार बनाई त्रैमासिक रूपमा प्रतिवेदन पेस गर्ने व्यवस्था मिलाउने र प्रतिवेदनमाथि शिक्षा समितिमा छ । सोही आधारमा स्थानीय तहको शिक्षानीति तयार गरिनेछ ।

प्रतिक्रिया