‘संविधान दिवस कालो दिन होइन’

काभ्रे । पूर्वगृहमन्त्री भीमबहादुर रावलले संविधान दिवसलाई कालो दिनका रूपमा मान्नेहरूकै कालो आसय बोकेर राजनीति गरिरहेको बताएका छन् । काभ्रेको बनेपामा संविधान दिवसको अवसरमा आयोजित औपचारिक राष्ट्रिय पोसाक घोषणामा आमनागरिकको भूमिका विषयक विचार गोष्ठी एवं शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

रावलले भने, ‘संविधान बनाउने समयमा केहीले जातीय राज्यअनुसार संघीय राज्य बनाइनुपर्छ भन्ने भनेका थिए । नेपाललाई जातमा विभाजन गरेर चिराचिरा पारेर राजनीति गर्न योजना बनाएकाहरूविरुद्ध बोल्दा भौतिक आक्रमण समेतको प्रयास भएको थियो’, उनले भने, ‘नेपालमा नागरिकताको विषयलाई ०९ सालदेखि हालसम्म विवादास्पद बनाइएको छ, संसारको कुनै पनि मुलुकमा नागरिकताको विषयमा यसरी कोट्याइरहँदैनन् । नेपालमा हामी नागरिकता खुकुलो बनाएर विदेशीलाई भित्र्याउने अनि देशका नागरिकलाई ४५ डिग्री तातो भएको खाडी देश–विदशेमा पठाएर जनसंख्याको राजनीतिबाट नेपालको अस्तित्व समाप्त गर्ने यो काम कदापि गर्न सकिँदैन गर्न मिल्दैन ।’

संविधान जारी हुँदा संविधानसभाका ९१ प्रतिशतभन्दा बढी जनताबाट चुनिएका व्यक्तिले मतदान गरेर संविधान जारी भयो । त्यहीअन्तर्गत संघीय व्यवस्थाअन्तर्गत स्थानीय सरकार, प्रदेश सरकार र केन्द्रीय सरकार गठन भयो । त्यही सरकारबाट मन्त्री वा अन्य कुनै पदमा चुनिएको नेताले जनताको पसिनाबाट पारिश्रमिक लिने अनि वर्षको २५ चोटी विदेश घुम्ने तिनै व्यक्ति भन्दैछन् आज संविधान कालो दिन त्यो कालो दिन हो कि कालो मन हो आशय जनताले छुट्याइदिनुपर्छ । नेपालको संविधान जारी भएको दिनलाई कालो दिन मान्नेहरू जातको आधारमा नेपाललाई टुक्र्याउन खोज्ने जनसंख्याको राजनीतिबाट नेपालको अस्तित्व समाप्त गर्न खोज्नेहरूलाई नेपाली चेलीहरूले सात वर्षसम्म नागरिकता नपाएकोमा चिन्ता छैन ।

कालो दिन भन्नेहरूलाई प्रत्येक नेपालीले खण्डन गर्नुपर्छ प्रत्येक नेपालीले अस्वीकार गर्नुपर्छ । राष्ट्रिय पोसाकबारे तर्क गर्दै रावलले भने, ‘हाम्रो देशको पहिचान मेटिने पहिचान मेटिएको देशभित्र हाम्रो जातको पहिचान कहीँ भेटिन सक्छ ? हाम्रा सबै जात र भाषा सम्पत्ती हुन् । हाम्रा सबै सम्पत्ती हामी नेपाली भएर अभिव्यक्त गरिरहनुपर्छ । आफू गृहमन्त्री हुँदा मन्त्री परिषद्बाट गरेको निर्णय राष्ट्रिय पोसाक दौरा सुरुवाललाई तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले उल्टाए पनि जनताको मनबाट नउल्टिने बताए ।

उनले पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई लक्षित गर्दै भने, ‘तपाइर्इ दाम्लो लगाउनुहुन्छ तपाईंलाई कुन देशले डो¥याएर दाम्लो लगाउनु हुन्छ र यो पोसाकलाई तपाईंले किन खारेज गर्नुभयो ? तपार्इं कर्णाली र सुदूरपश्चिम जाँदा त्यहाँ कसको एक जोर दौरासुरुवाल मागेर लगाउनुभएछ । अनि भन्नुभएछ म खस प्रदशेमा आएर मैले त्यसको पोसाक लगाएको हुँ । यो उनको विवादास्पद र षड्यन्त्रकारी भनाइ हो ।’ आफू सबै पोसाकप्रति उत्तिकै सम्मान गर्ने भन्दै उनले नेपाली इतिहासमा दौरासुरुवालको छुट्टै स्थान रहेको साम्रज्यवादसँग लडेका वीरहरूको पोसाकको ताकत र यसको महत्व पनि उत्तिकै रहेको बताए । उनले दौरासुरुवाल जोगाउने अभियान भनेको राष्ट्रिय स्वाभिमान बचाऊ महाअभियान भएकोसमेत बताए ।

कार्यक्रममा पूर्वप्रधानसेनापति रुक्मांगद कटुवालले प्रमुख अतिथिको रूपमा रहेका भीम रावलको व्यक्तित्वको प्रशंसा गर्दै राष्ट्रिय पोसाकबारे युवाहरू सक्रिय भएकोमा खुसी भएको बताए । उनले आफूले आफू कुनै राजनीतिक दलसँग नजोडिएको र जोडिन पनि नचाहने भन्दै आफूसधँै नेपाली भएर बाँच्न पाउनुमा नै गौरव गरिरहेको बताए । उनले आफू जनतासँग भोट माग्नका लागि यस्ता कुरा नगरेको भन्दै समग्रता भित्रका सबै चिजहरू अघि नेपाल रहेको बताए ।

उनले हरेक राष्ट्रको हरेक चिनारी रहेको भन्दै नेपालको पनि आफ्नो छुट्टै पहिचान रहेको र त्यस्ता विषयहरू कहिल्यै भुल्नु नहुने बताए । उनले धर्म र राजनीतिलाई पनि जोड्न नहुने तर्क गरेका छन् । कार्यक्रममा मण्डन देउपुर नगरपालिकाका मेयर टोकबहादुर वाइबा, पनौती नगरपालिकाकी उपप्रमुख गीता बञ्जरा, बनेपा नगरपालिकाकी रेखा दाहाल लगायतले कार्यक्रलाई सम्बोधन गरेका थिए ।

प्रतिक्रिया