खाद्य संंस्थानको चामल जिल्ला मै थन्कियो

कालिकोट । सडक सञ्जालले जोडिएपछि कालिकोटमा खाद्य संस्थानको चामल उपभोग गर्नेको संख्यामा कमी आएको छ । स्थानीय बजारहरुमा संस्थानको भन्दा स्तरीय चामल जताततै सहजै उपलब्ध हुन थालेपछि संस्थानको चामल उपभोग गर्नेको संख्या घट्दै गएको हो । कर्णाली राजमार्गको स्तरोन्नति सँगै कालिकोटका ग्रामीण भेगसम्म सडक जोडिएपछि गाँउघरमै स्थानीय ब्यापारी मार्फत बजारको खाद्यान्न उपलब्ध हुन थालेको छ । बढ्दो प्रतिस्पर्धाका कारण ब्यापारीहरुले खाद्यकै मुल्यमा बजारको चामल गाँउघरमा विक्री गर्दा संस्थानको चामल थन्किएको हो ।

संस्थान शाखा कार्यालयमा दसैंलाई लक्षित गरी गोदाममा जम्मा गरिएको करिब ६ सय क्विन्टल चामल भित्र्याएको छ, जसमध्ये दसैंमा करिब दुई सय क्विन्टल मात्र चामल बिक्री हुन सक्ने आँकलन गरिएको छ । ‘दशैका लागि जिल्ला भित्र्याएको चामल हामीसँग प्रयाप्त छ’ संस्थान शाखा प्रमुख निर्मल थापाले भने, ‘गोदाममा थन्किएको चामल वैशाखसम्म पनि कट्दैन जस्तो छ, जिल्लामा खाद्य अपुग छैन।’ अहिले संस्थानमा पाँच सय ६५ क्विन्टल चामल मौज्दात छ । संस्थानमा पाईने ६ प्रकारको चामलमध्य जिरा मसिनो चामल प्रतिकेजि ६३ रुपैयाँ प्रतिकेजि, सोना मन्सुली प्रतिकेजी ४८ रुपैयाँ, उसिना मनसुली ४२ रुपैयाँ र जापानी चामल ४२ रुपैयाँ अरुवा मध्यम चामल ४६ रुपैयाँ र अरुण मोटो चामल ४५ रुपैयाँ प्रतिकिजि विक्री हुदै आएको छ ।

आर्थिक वर्ष २०७४÷७५ मा थिर्पु डिपोमा ४५ सय क्विन्टल चाम विक्रि भएकोमा आर्थिक वर्ष २०७५÷७६ मा घटेर १६ सय क्विन्टल चामल विक्रि भएको छ । यस्तै तिलागुफाको खल्ला गाडामा,अघिल्लो वर्ष तिन सय ६० क्विन्टल चामल विक्रि भएकोमा घटेर एकएक सय १४ क्विन्टल चाम विक्रि भएको छ, भने सदरमुकाम मान्मको कार्यालयमा गत वर्ष २८ सय ६० क्विन्टल विक्रि भएकोमा यो वर्ष १७ सय २१ केजि चामल विक्रि भएको छ ।
‘कर्णाली प्रदेशका डोल्पा, जाजरकोट, हुम्ला लगाएतका जिल्ला र जुम्लाका ग्रामीण डिपोमा खाद्य अपुग भैरहेको बेला कालिकोटमा खाद्य संस्थानमा भने चामल थन्किएको छ ।’ संस्थानमा थन्किएको चामल दसैंमा विक्री हुने अपेक्षा गरिए पनि स्थानीयले डिपोको चामलमा रुचि देखाएको देखिदैन ।

कालिकोटको ग्रामीण क्षेत्रका खाद्य डिपोमा समयमै चामल नपुग्दा त्यहाँका स्थानीयलाई चामल खरिद गर्न स्थानिय हाट बजारमा महंगो मुल्यमा किन्न बाध्य छन । महावै गाउँपालिकाको पादमघाट, तिलागुफा नगरपालिकाको खल्लागाड र पलाता गाँउपालिकाको थिर्पु डिपोमा संस्थानको चामल नहुँदा स्थानीय बजारकै चामल खरिद गर्न बाध्य छन । खाद्य संस्थाका प्रमुख थापाका अनुसार, थिर्पु डिपोमा मोटो चामल हुनु पर्नेमा गत वर्षकै स्टक मसिनो चाम एकसय ७० क्विन्टल स्टक रहेको छ । अरु मोटो चामल अहिलेसम्म डिपोमा पठाउन सकिरहेको छैन। संस्थानको चामल सदरमुकामस्थित गोदाममा प्रशस्त थुप्रिएको छ तर ग्रामीण क्षेत्रको डिपोमा टेण्डर आव्हान गरेर ठेकेदारले समयमा चामल नपु¥याउँदा समस्या भएको उनले बताए ।
उनले भने, महावै गाँउपालिकाको पादमघाटमा एक वषदेखि कुनै पनि चाम छैन । पटक पटक टेन्डर आव्हान गर्दा पनि ठेकेदारले चामल पुराउन सकिरहेका छैनन । त्यहाँका स्थानिय अहिले नजिकैको स्थानिय बजारमा महंगो मुल्यमा चामल किनेर खाइरहेका छन । जिल्लामा भने, टनाटन चामल थन्किएको छ । गाउँको डिपोमा चामल आउदा बीच बाटोमै विक्री हुने, डिपोमा पुगेपनि नजिकैका व्यापारीले विक्रीमा राख्ने र समयमा चामल नपुग्ने भएकोले संस्थानको चामलप्रति स्थानीयको चासो घट्दै गएको महावै गाउँपालिकाका स्थानीय हक बहादुर सिंहले बताए ।

दुर्गम क्षेत्रका बासिन्दालाई मध्यनजर गर्दै डिपो स्थापना भएको भएपनि डिपोमा चामल ल्याउनेक्रममा निकै लापारबाही हुने गरेको उनले गुनासो गरे । समयमै डिपोमा चामल नपठाउने तर जिल्लाकै लागी चामल अपुग नभएको संस्थान शाखाले दावी गरेको छ। खाद्य संस्थान क्षेत्रीय कार्यालय नेपालगञ्ज, राजापुर र सुर्खेतदेखि वार्षिक ९ हजार क्विन्टल चामल कालिकोटमा आयात हुँदै आएको छ ।
गाँउका खाद्य डिपोहरुमा चामल अभाव भएपनि कालिकोटका केहि स्थानिय तहहरुले नेपालि हरुको प्रमुख चाँडपर्व दशैं तिहारलाई लक्ष्तिगरि वडा वडामा चामल खरिद गरिसकेको जनाएका छन । अन्न उत्पादनको हिसाबले अरु स्थानिय तहभन्दा कम उत्पादन हुने पलाता गाँउपालिकाले वडा वडामा दशैं तिहारलाई लक्ष्तिगरि चामल खरिद गरि वितरण गर्न लागिरहेको गाँउपालिका अध्यक्ष लक्ष्मण वमले बताए।उनका अनुसार, चार्डपर्वलाई लक्षितगरि हामिले ९ वटै वडाहरुमा रहेका विपन्न, शहिद परिवारहरुको लागि आवश्यक चामल खरिद गरिसकेको बताए । यस्तै चामलको अभाव हुने महावै गाँउपालिकाले पनि चामल खरिद गर्ने अध्यक्ष नन्द बहादुर सिंहले बताए ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया