राजु परियारले गरे ‘न्यु देउराली रोधीघर’ को शुभारम्भ

काठमाडौँ । नेपाली लोकगीतको संरक्षण एवं प्रवद्र्धन गर्ने उद्देश्य राखेर रोधीघर सञ्चालनमा आएको छ । गोंगबुस्थित नयाँ बसपार्कमा ‘न्यु देउराली रोधीघर’ को गायक राजु परियारले एक कार्यक्रमका बीच शुभारम्भ गरे । रोधीघरका सञ्चालक हरि गुरुङ र नवराज तामाङले पारिवारिक वातावरण तथा सुविधासम्पन्न रोधीघरको स्थापना गरिएको जानकारी दिए ।

आफू केही वर्ष वैदेशिक रोजगारीमा काम गरेपछि स्वदेशमै केही गर्ने लक्ष्य राखेर रोधीघर सुरु गरेको उनीहरुले बताए । रोधीघरका सञ्चालक गुरुङले स्वदेशमै आफ्नै व्यवसाय गर्ने लक्ष्यका रोधीघर सञ्चालन गरेको र अरुभन्दा पृथक र मौलिक ढंगले रोधीघर सञ्चालन गर्ने जिकिर गरे । त्यस्तै, अर्का सञ्चालक तामाङले नेपालको मौलिक संस्कृतिलाई जर्गेना गर्नेगरी रोधीघर सुरु गरिएको बताए ।

गायक परियारले रोधीघर नयाँ आउने कलाकारका लागि पाठशाला भएकाले मौलिक लोक संस्कृतिको ख्याल गर्न आग्रह गरे । उनले भने, ‘रोधीघरले नयाँ पुस्ताका प्रतिभालाई निखार्न र उनीहरुको क्षमता विकासमा महत्वपूर्ण सहयोग गर्ने हुँदा मौलिकतालाई समेत विशेष ख्याल गर्नुपर्दछ ।’ उनले आफूलाई मलाई धेरैले वरिष्ठ गायक भनेको सुनाउँदै भने, तर, अहिले नै म वरिष्ठ भइसकेको छैन, मभन्दा अग्रज कलाकार दाजुदिदीहरु हुनुहुन्छ ।’

उनले वरिष्ठ गायक नारायण रायमाझी, प्रजापति पराजुली, गायिका बिमाकुमारी दुरा लगायतको नाम लिँदै आफूभन्दा उनीहरु वरिष्ठ भएको बताए । उनले थपे, ‘मैले पनि सुरुमा दोहोरी साँझबाटै गीत गाउन सिकेको हुँ, कलाकारको जन्म भनेकै दोहोरी साँझबाट हुने भएकाले दोहोरीलाई विद्यालय सम्झेर पछि आउने कलाकार भाइबहिनीले दोहोरीलाई फोहोरी नबनाइ यसको संरक्षण र विकासमा लाग्नुपर्छ ।’ उक्त कार्यक्रममा गायक परियारले आफ्ना विभिन्न नयाँ पुराना गीत गाएका थिए । उनलाई रोधीघरका सञ्चालकले सम्मान समेत गरेका थिए ।

प्रतिक्रिया