कर्णालीका १० हजार घरको बिमा

सुर्खेत । कर्णाली प्रदेश सरकारले सबै प्रदेशबासीको सामूहिक दुर्घटना बिमा गरिदिने भएको छ । कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय र राष्ट्रिय बिमा कम्पनी लिमिटिेडसँग बुधबार सम्झौता भएको छ । सामुहिक बिमा शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीका जनतालाई थप राहत दिन बिमा कार्यक्रम लागु गरिएको बताए ।

‘हरेक प्रकारका प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेको प्रदेश कर्णाली नै हो । भीर पाखा धेरै भएको प्रदेश हो । वर्षेनी धेरै मानिस भीरबाट खसेर मर्ने गरेका छन् ।’ कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले यो ऐतिहासिक पल भएको बताउँदै कहीँ यस्ता कार्यक्रम हेर्दा खेरी सामान्य लाग्ने तर यसले गहिरो प्रभाव पार्ने बताए । कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि सम्बद्ध निकायलाई क्रियाशील हुनका लागि मन्त्री भण्डारीले आग्रह गरे ।

उनले यस्ता कार्यक्रमलाई सबै मिलेर सफल बनाउनुपर्ने बताए । उनका अनुसार यो कार्यक्रममा यो वर्ष दश हजार घरको बिमा गरिनेछ । यो कार्यक्रममार्फत कर्णाली प्रदेश सरकार हरेक जनताको मन मस्तिष्कमा पुग्न सफल भएको उनको दाबी थियो । विपद पर्दा भगवान सम्झने दिन अन्त्य हुने भन्दै उनले कार्यक्रम सफल भएको खण्डमा हरेक कर्णालीवासीले कर्णाली सरकारलाई सम्झने बताए ।

वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले कर्णाली सरकारले कर्णाली बासीकोे लागि सामाजिक न्याय गरेको बताइन् । ‘विकास भनेको भौतिक पूर्वाधार मात्र नभई कर्णालीका सामाजिक न्याय सहितको विकास आवश्यक रहेको र त्योे दायित्व प्रदेश सरकारले पूरा गरेको छ ।’ उनले भनिन्, ‘उक्त अभियानले प्रत्येक नागरिकले आफू सुरक्षित रहेको महसुस गर्नेछन् । यो अभियानलाई साथ दिन, कार्यक्रमलाई सफल बनाउन हामीले के भूमिका खेल्नुपर्छ तयार छौँ ।’

राष्ट्रिय बिमा कम्पनी लिमिटेड कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा. डिल्लीराज अर्यालले मौलिक हकमा रहेको सामाजिक सुरक्षाको कार्यक्रमलाई तीनै तहका सरकारले महत्व दिएको बताउँदै कम्पनीले निर्जीवन बिमा गर्ने, व्यावसायिक दक्षता बढाई पहुँच विस्तार गर्दै आम्दानी गर्ने र नेपाल सरकारले ल्याउने यस्ता सामाजिक सुरक्षामा सामाजिक उत्तर दायित्वको कामहरू गर्ने जानकारी दिए ।

उनले सरकारको स्वामित्वमा रहेको कम्पनी भएका कारण राज्यको अंगको जस्तै काम गर्दै गइरहेको बताए । ‘कर्णाली प्रदेशमा धेरै जोखिम छन् । धेरै किसिमका जोखिम छन् । यी सबैलाई एकै पटक समाधान गर्न समस्या छ । सबैलाई एउटै डालोमा समेटेर १७ लाख ५० हजार जनताको बिमा गरिएको छ । विपद, दैविप्रकोपबाट हुने जोखिमलाई मात्रै समेटेका छौँ ।’ उनले भने ।

बिमा गरिएको घरभित्रै घरसहित मृत्यु भएको खण्डमा प्रतिव्यक्ति पाँच लाख रुपैयाँ पाँच लाख घरको प्राप्त गर्न सकिने बताइएको छ । प्रदेश सरकार र कम्पनीबीच दशै जिल्लाका उच्च विपद जोखिम बढी भएका १० हजार घरधुरीको सम्पती बिमा गर्ने सहमति भएको छ ।

प्रति जिल्लाका एक हजार घरधुरीको सुरक्षाका लागि घरहरूको पहिचान गरिने र वर्गीकरण गर्ने तयारी सँगै गरिनेछ । विकट स्थानमा दुर्घटना भएको खण्डमा कार्यान्वयन गर्दा केही ढिलाई हुनसक्ने कम्पनीले जनाएको छ । बिमा विज्ञ सुकल्याण पराजुलीले कर्णालीका १७ लाख ७० हजार जनसंख्याको बिमा गरिएको बताउँदै बिमा कार्यक्रमलाई प्रभावकारीरूपमा कार्यान्वयन गरिने बताए ।

प्रतिक्रिया