ट्रकको डाली छोपेर गाईगोरु ओसार्न प्रतिबन्ध

भद्रपुर । झापाका विभिन्न सीमावर्ती क्षेत्रबाट वर्षौँदेखि चलिरहेको गाईगोरुको तस्करी धन्दा रोक्न प्रहरीले विशेष योजना अघि बढाएको छ । मोरङ, सुनसरी, इलाम, पाँचथर, ताप्लेजुङलगायतका क्षेत्रबाट गाईगोरुलाई ठूला ट्रकमा डाली छोपेर ओसारपसार गर्न र सिधैँ सीमावर्ती बजारमा लैजान झापाको प्रहरीले बन्देज लगाएको छ ।

सीमाका बजारमा बिक्री गर्ने बहानामा खुला सीमाको फाइदा उठाउँदै गाईगोरु सिधै भारत पुर्याउने पहिल्यैदेखि चलेको तस्करी गतिविधि रोक्न त्यस्तो बन्देज लगाउनुपरेको प्रहरीको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले ठूला गाडीमा ल्याइएका गाईगोरुलाई दमक पशुहाटमा उतारेर साना गाडीमार्फत मात्र झापाका अरु बजारमा लैजान दिने व्यवस्था गरिएको बताए । गाईगोरु बोक्ने साना गाडीसमेत डाली खुला भएको हुनुपर्ने नियम लगाइएको छ ।

दमकलाई झापाको सबैभन्दा ठूलो पशुबजार मानिन्छ । त्यहाँबाट त्रिपालले डाली छोपिएका ठूला ट्रकमा गाईगोरु लोड गरेर खुला सिमाना कटाउँदै भारत तस्करी हुने गरेको स्थानीयवासीको भनाइ छ ।

तस्करीमा संलग्न व्यक्तिहरुले झापाको ज्यामिरगढी, भद्रपुर, पृथ्वीनगर, टाघनडुब्बा र गौरीगञ्ज सीमा क्षेत्रबाट गाईगोरु भारतको नक्सलबाडी, खोरीबारी, गलगलिया, कादोगाउँ र डिगल बैंक पुर्याउने गरेका छन् ।

स्थानीय बजारबाट लुकाइछिपाइ ल्याइएका गाईगोरुलाई चरनमा लैजाने बहाना गरी सीमावर्ती गाउँको सेल्टरमा थुपार्ने र प्रहरी प्रशासनको आँखा छलेर सीमापार गराउने तस्करी धन्दा अब रोकिने अपेक्षा गरिएको छ ।

गन्तव्य गलत बताएर ओसारपसार गरेको पत्ता लागेमा गाईगोरुलाई पूर्वपश्चिम राजमार्गबाट दक्षिणतर्फ लैजान पूर्णतः रोक लगाउन जिल्लाभरिका प्रहरी कार्यालयमा जिल्ला प्रहरी कार्यालय झापाले सर्कुलर पठाएको प्रहरी प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय झापाको तथ्यांक अनुसार २०७६ वैशाखदेखि भदौसम्मको पाँच महीना अवधिमा प्रहरीले १४८ गाईगोरु भारत तस्करी हुनलागेको अवस्थामा नियन्त्रणमा लिएर भन्सार बुझाएको छ । नियन्त्रणमा लिइएकामध्ये २९ गाईलाई भद्रपुर गौशालामा संरक्षणका लागि बुझाइएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया