चेल्सी घरमै स्तब्ध

पेरिस । इंग्लिस क्लब चेल्सी युइएफए च्याम्पियन लिग फुटबलमा स्पेनिस क्लब भ्यालेन्सियासँग घरमै पराजित भएको छ ।

स्टामफोर्ड ब्रिजमा मंगलबार राती भएको खेलमा घरेलु टोली चेल्सी भ्यालेन्सियासँग १–० ले पराजित भएको हो । प्रिमियर लिगमा उच्च प्रदर्शन गरिरहेको इंग्लिस मिडफिल्डर मेसन माउन्ट खेलको सुरुमै युवा चोट बोक्दै मैदानबाट बाहिरिएपछि चेल्सी समस्यामा परेको थियो । त्यसपछि पनि चेल्सीले भ्यालेन्सियालाई दवावमा राख्दै गोलको अवसर सिर्जना गरेपनि भ्यालेन्सियाको बलियो रक्षापंक्ति तोड्न असमर्थ रह्यो ।

उल्टै ७४औँ मिनेटमा घरेलु टोली गोल खान पुग्यो । ड्यानियल पारेजोको फ्रिकिकमा रोड्रिगोले चलाखीपूर्ण तरिकाले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए । ८७औँ मिनेटमा चेल्सीले खेललाई बराबरी गर्ने अवसर पाएको थियो । रस बार्कलीको पेनाल्टी प्रहार क्रसबारमा लाग्दै बाहिरिँदा चेल्सीले बराबरी गर्ने सुन्दर मौका खेर फाल्यो ।

त्यसपछि थप गोल निस्कन नसक्दा चेल्सी घरमै १–० ले पराजित हुन पुग्यो । च्याम्पियन्स लिगमा प्रशिक्षकको रूपमा डेब्यु गरेका फ्रान्क लाम्पार्डले सुखद सुरुआत गर्न सकेनन् । जितसँगै भ्यालेन्सियाले समूह ‘एच’ मा महत्वपूर्ण ३ अंक जोडेको छ । चेल्सी अंकविहीन छ ।

समूह ’एफ’को खेलमा स्पेनिस महारथी बार्सिलोना जर्मन बुन्डेसलिगाको प्रतिद्वन्द्वी बोरुसिया डर्टमन्डसँग गोलरहित बराबरीमा रोकिएको छ । घरेलु मैदानमा भएको खेलको ५७औँ मिनेटमा पाएको पेनाल्टीमा स्टार खेलाडी मार्को रुइस गोल गर्नबाट चुकेपछि डर्टमन्ड अंक बाँड्न बाध्य भयो । दुवैतर्फबाट निरन्तर प्रयास भए पनि गोल हुन नसक्दा खेल गोलरहित बराबरीमा टुंगिएको हो ।

गत सिजन लिभरपुलसँग सेमिफाइनलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको बार्सिलोनाका कप्तान लियोनल मेसीले चोट मुक्त भएसँगै सोही खेलबाट टोलीमा पुनरागमन गरेका छन् । पिँडुलामा चोट लागेका कारण इटालियन क्लब नेपोलीविरुद्ध गत अगस्टमा भएको सिजन पूर्वको मैत्रीपूर्णपछि मेसीले खेल्न सकेका थिएनन् ।

समूह ’इ’को खेलमा प्रतियोगिताको साबिक विजेता लिभरपुल इटालियन क्लब नेपोलीसँग २–० को नतिजामा पराजित भएको छ । नेपोलीको मैदानमा भएको खेलको अन्तिम १० मिनेटमा लिभरपुलले २ गोल खाएको थियो ।

८२औँ मिनेटमा लिभरपुलका रक्षक एन्ड्रिउ रोबर्टसनले विपक्षी टोलीका खेलाडीलाई पेनाल्टी बक्समा फाउल गरेपछि नेपोलीले पेनाल्टी पाएको थियो । नेपोलीका बेल्जियन फरवार्ड द्रिइस मार्टिन्सले पेनाल्टीलाई गोलमा परिणत गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

इन्जुरी समयको दोस्रो मिनेटमा स्पेनिस फरवार्ड फर्नान्डो लोरेन्टेले गोल गर्दै टोलीको जित सुनिश्चित गरेका हुन् । सोही समूहको अर्को खेलमा साल्जवर्गले जेन्कलाई ६–२ गोलको फराकिलो अन्तरमा पराजित गरेको छ । साल्जवर्गका लागि अर्लिङ ब्राउट हलान्डले ह्याट्रिक तथा ही च्वाङ ह्वाङले १–१ गोल गरे । जेन्कका लागि जोन लुकुमी र वाना समाताले १–१ गोल फर्काएका थिए ।

समूह ’एच’को खेलमा डच क्लब आयाक्सले फ्रान्सको लिलेलाई ३–० को फराकिलो अन्तरमा पराजित गरेको छ । समूह ’एच’अन्तर्गत आम्सटरडमस्थित घरेलु मैदानमा भएको खेलको १८औँ मिनेटमा क्वेन्सी प्रोमेसको गोलबाट आयाक्सले अग्रता लिएको थियो । पहिलो हाफमा एक गोलले अगाडि रहेको आयाक्सले दोस्रो हाफमा दुई गोल थप्दै शानदार जित दर्ता गर्न सफल भयो ।

५०औँ मिनेटमा एडसन एल्भारेजले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर पारे । त्यसको सात मिनेट बित्न नपाउँदै निकोलस ट्याग्लियाफिकोले तेस्रो गोल गर्दै टोलीको जित सुनिश्चित गरे । गत सिजन रियाल मड्रिड र युभेन्टस जस्ता क्लबलाई पराजित गर्दै आयाक्स प्रतियोगिताको सेमिफाइनलसम्म पुगेको थियो । सोही समूहको अर्को खेलमा इंग्लिस कलब चेल्सी घरेलु मैदानमा स्पेनिस क्लब भ्यालेन्सियासँग १–० ले पराजित भएको छ ।

टिमो वेर्नेरको दुई गोल प्रेरित आरबी लिपजिगले मंगलबार नै सम्पन्न च्याम्पियन्स लिगको समूह चरणको खेलमा पोर्चुगिज क्लब बेन्फिकालाई २–० ले पराजित गरेको छ । बेन्फिकाको घरेलु मैदानमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिए पनि दोस्रो हाफमा घरेलु टोली सम्हालिन सकेन । ६९औँ मिनेटमा वेर्नेरले गोल गर्दै लिपजिगलाई अग्रता दिलाएका थिए । त्यसको ९ मिनेट नबित्दै वेर्नेरले व्यक्तिगत दोस्रो गोल गर्दै लिपजिगको जित सुनिश्चित गरे ।

प्रतिक्रिया