ट्रयाक खुलेको पच्चीस वर्षपछि डिपिआर

पश्चिम सुर्खेतको लाइफलाइन अर्थात् भाग्यरेखा भनेर चिनिदै आएको र नेपालको नवौँ राष्ट्रिय राजमार्गको रूपमा चिनिएको मदन भण्डारी राजमार्गको सुर्खेत पश्चिम खण्डको विस्तृत परियोजना प्रतिवेदन डिपिआरको काम सुरु भएको छ । गत भाद्र २९ गते प्रतिनिधिसभा सदस्य एवं सुर्र्खेत क्षेत्र नम्बर २ का सांसद नवराज रावतको उपस्थितिमा सुर्खेतको बराहताल गाउँपालिका बड्डिचौरदेखि गुटु हुँदै बेनिघाटसम्मको ९४ किलोमिटर सडकखण्डको डिपिआरको काम सुरु गरिएको हो ।

विक्रम संवत २०५१ सालमा उक्त सडकको ट्र्याक खोलिएको थियो । तर, त्यसको ठिक २५ वर्षपछि डिपिआरको काम सुरु भएको हो । नेपाल सरकारले नेपालको नवौँ राष्ट्रिय राजमार्गको रूपमा मदन भण्डारी राजमार्ग घोषणा गरेसँगै उक्त सडक पनि सोही राजमार्गमा पर्ने भएकाले डिपिआरको काम सुरु भएको हो ।

यस सडकको बारेमा पटक–पटक स्थानीय तहका जनप्रतिनिधि, राजनीतिक दलका नेता, सांसदले स्तरोन्नति र कालोपत्रे गरिन्छ भन्दै आश्वासन दिँदै आएका भए पनि २५ वर्षसम्म काम पूरा हुन सकेको थिएन । तर, अहिले भने उक्त सडकखण्ड मदन भण्डारी राजमार्गमा पर्ने भएकोले काम सुरु हुने भएको हो । सडकको ट्र्याक खुलिसकेपछि जन्मिएका सन्तान २५ वर्षका भएर बेरोजगारीको लागि विदेशमा पसिना बगाउँदै गरेको अवस्थामा पुग्दा बल्ला डिपिआरको काम सुरु भएको भन्दै स्थानीयले गुनासो गरेका छन् ।

डिपिआर तयार गर्ने जिम्मा सेल्ट सिइआरसी जिओकम जेभि कुपण्डोल ललितपुरले पाएको छ । आयोजनाको डिपिआरको काम करिब ५० दिनमा सक्ने आफुहरूको लक्ष्य मरहेको भएता पनि बिचमा दशैं तिहार पर्ने हुँदा डिपिआर तयारको काम मंसिर महिनाको पहिलो साताभित्रै सकिने डिपिआर सर्भे इन्जिनियरहरूले बताएका छन् । प्रदेश नम्बर १ को झापा जिल्लाबाट सुरु भई सुदुरपश्चिम प्रदेशको डडेल्धुरा जिल्लासम्म पुग्ने मदन भण्डारी राजमार्ग पश्चिम सुर्खेतका ३ स्थानीय तहका लागि लामो समयदेखिको एकदमै ठुलो आसा र भरोसाको केन्द्रविन्दुको रूपमा रहेको स्थानीयहरूले बताउने गरेका छन् । ढिलै भए पनि काम हुनेमा आसावादी बनेका छन् उनीहरू ।

मदन भण्डारी राजमार्गमा पर्ने अन्य जिल्लामा सडकको मुआब्जा लगायतका धेरै विवाद भए पनि सुर्खेतमा त्यस्तो समस्या धेरै नभएको सडक डिभिजन कार्यालय सुर्खेतका प्रमुख गुरूप्रसाद अधिकारीले बताए । सुर्खेतमा जम्मा २ सय ३२ किलोमिटर दुरी मदन भण्डारी राष्ट्रिय राजमार्गले समेटेको छ । जसमध्ये पश्चिम सुर्खेतका अलि विकट र सडकको पहुँचबाट अलि समस्यामा रहेका ३ स्थानीय तहलाई समेट्ने बडिचौर गुटु बेनिघाट सडकखण्ड पर्छ । जुन ९४ किलामिटर रहेको छ । सडक दायाँ बायाँ कम्तीमा २५÷२५ मिटर देखि ६५ मिटरसम्मको रहने पनि प्रमुख अधिकारीले जानकारी दिए ।

सुरुवातको कार्यक्रममा बोल्दै सुर्खेत क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य नवराज रावतले अहिलेको सरकार जनताको गाउँगाउँमा विकास लिएर आएको दाबी गरे । उनले भने, ‘आफूले निर्वाचनको वेला र त्यसपछि जनतासँग गरेको बाचा र पार्टीको घोषणापत्रअनुरूप नै सुर्खेत पश्चिमका जनताको आवश्यकता र समस्यालाई ध्यानमा राखेर काम गरेको छु,’ ।

सांसद रावतले सिंगो मुलुक समृद्धिको लागि एकजना मात्रै उफ्रेर सम्भव नभएको भन्दै स्थानीय तहका जनप्रतिनिधि, जनता, राजनीतिक दलका नेता कार्यकर्ता र कर्मचारी सबैको सहकार्य आवश्यक रहेको औँल्याए । निर्वाचनको वेला आफूले पश्चिम सुर्खेतमा सडक, बिजुली आदिको समस्या समाधान गर्ने प्रतिबद्धता गरेको स्मरण गराउँदै उनले ति प्रतिबद्धता विस्तारै पूरा भइरहेको बताए । ‘मैले बरु थोेरै बोले हुँला, तर बोलेका ती सबै पूरा गर्नुपर्छ भन्ने मनसाय छ ।’ उनले भने, ‘२८ वर्ष कुरेका जनताले समृद्धिको लागि अब थारै समय कुर्न सक्छनु पर्छ ।’

आफ्नो निरन्तरको पहलमा कोहलपुर सुर्खेत १ सय ३२ केभी प्रसारण लाइन बन्ने सुखद क्षण भएको बताउँदै उनले स्थानीय तहका जनप्रतिनिधिहरूले यो वा त्यो पार्टी भन्ने भावना त्यागेर सबै जनताका हितहुने गरी समन्वय र सहकार्यमा काम गर्न आग्रह गरे । जनताले पनि जनप्रतिनिधिको मनपरीतन्त्रलाई खबरदारी गर्नुपर्ने बताउँदै सांसद रावतले कर्मचारीतन्त्रले पनि विकासमा बाधा पु¥याउने गरेको दाबी गरे ।

सांसद रावतले राजमार्गको उक्त खण्डमा पर्ने विभिन्न विवादहरू स्थानीय जनप्रतिनिधि र राजनीतिक दलको रहेको बताएका छन् । उनले राजमार्ग मंसिरमा डिपिआरको काम सकिएपछि माघमा वातावरण प्रभाव मूल्यांकन इआइए र चैतपछि टेन्डर प्रक्रिया सुरु गरिनुपर्ने बताए । आफूले राजमार्गको उक्त खण्डको लागि ४ अर्ब बजेट माग गरेको समेत सांसद रावतले दाबी गरे । स्थानीयलाई सडक निर्माणको वेला मुआब्जाको आस नगर्न आग्रह गर्दै सबै बजेट मुआब्जामा गयो भने विकास सम्भव नहुने बताए ।

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा बराहताल गाउँपालिकाका अध्यक्ष तेजबहादुर बस्नेतले राजमार्ग बनेपछि आयात मात्र गर्ने परिपाटी बन्द गर्नुपर्ने बताउँदै निर्यात गर्न सकेमा सफलता हासिल हुने बताए । उनले आउने बेला भरिएका र फर्किँदा रितो गाडी जाने राजमार्ग बनेमा रोजगारीका लागि युवाहरू विदेसिनुपर्ने स्थिति आउने भन्दै उत्पानमूलक र निर्यातमूलक क्षेत्रमा जोड दिनुपर्ने बताए ।

यस्तै चौकुने गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीले विकासले पछि परेको पश्चिम सुर्खेतमा विकासको मेरुदण्डको रूपमा सडक र विद्युत् विस्तारमा जनताको माग रहेको बताए । पञ्चपुरी नगरपालिकाका प्रमुख उपेन्द्र थापाले सडक छिटै निर्माण सम्पन्न हुनुपर्नेमा जोड दिए । यसले स्थानीय जनप्रतिनिधिको सक्रियता र जनताका चाहना पूरा हुने देखिन्छ ।

प्रतिक्रिया