नेपाली रग्बी टोली जापान प्रस्थान

काठमाडौं । विश्व रग्बीको आयोजनामा जापानामा हुने कार्यक्रममा सहभागी हुन तीन सदस्यीय नेपाली रग्बी टोली मंगलबार त्यसतर्पm प्रस्थान गरेका छन् । विश्व रग्बीको ‘इम्प्याक्ट बियोन्ड’ कार्यक्रममा सहभागी हुन दुई खेलाडी र एक प्रशिक्षक मंगलबार जापान प्रस्थान गरेका हुन् । नेपालको यु–१८ रग्बी टोलीका सदस्य महिलामा मुस्कान आलेमगर र पुरुषमा अभिसेक विक उक्त कार्यक्रममा सहभागी हुनेछन् । टोलीको प्रशिक्षकमा गोविन्द घिमिरे छन् ।

उनीहरूलाई मंगलबार त्रिभुवन विमानस्थलमा संघका महासचिव चेतनराज गिरी, कोषाध्यक्ष विजय मोक्तान र राष्ट्रिय टोलीका कप्तान कृष्ण क्षेत्रीले बिदाई गरेका थिए । ‘इम्प्याक्ट बियोन्ड’ कार्यक्रमलाई विश्व रग्बीले ‘फ्युचर प्लेयर’ रूपमा परिभाषितसमेत गर्दै आइरहेको छ । नेपाली खेलाडीले यस क्रममा विश्वकप रग्बीको उद्घाटन समारोहमा समेत सहभागी हुन पाउनेछन् ।

उद्घाटन खेल आयोजक राष्ट्र जापान र रसियाबीच टोकियोस्थित टोकियो स्टेडियममा हुँदै छ । उक्त खेलमा अवलोकनपश्चात् दुई युवा खेलाडी र प्रशिक्षकले रग्बीको प्रशिक्षण कोर्ससमेत लिने कार्यक्रम रहेको नेपाली राष्ट्रिय टोलीका कप्तान क्षेत्रीले जानकारी दिए ।

प्रतिक्रिया