प्रज्ञा पुरस्कार घोषणा

काठमाडौं । नेपाल प्रज्ञा–प्र्रतिष्ठानले हरेक चार वर्षमा दिँदै आएको ‘पृथ्वी प्रज्ञा–पुरस्कार’ (२०७६–२०७८) वाङ्मय शताब्दी पुरूष सत्यमोहन जोशीलाई प्रदान गर्ने भएको छ । उक्त पुरस्कारको राशि चार लाख नगद रहेको छ । यसैगरी प्रतिष्ठानले विभिन्न प्रज्ञा पुरस्कारको घोषणा गरेको छ ।

जसअनुसार प्रत्येक दुई दुई वर्षमा प्रदान गरिने नेपाल प्रज्ञा सामाजिक शास्त्र, संस्कृति तथा दर्शनशास्त्र पुरस्कार प्राडा. त्रिरत्न मानन्धर र नेपाल प्रज्ञा नेपाली भाषा पुरस्कार २०७५–२०७६ का लागि प्र्राडा. टंकप्रसाद न्यौपानेलाई प्रदान गरिने भएको छ । यस्तै, प्रत्येक वर्षमा प्रदान गरिने नेपाल प्रज्ञा नेपाली साहित्य पुरस्कार २०७५ मदन रेग्मी, २०७६ का लागि भागीरथी श्रेष्ठ, पहाड, हिमाल क्षेत्रमा बोलिने मातृभाषा साहित्यतर्फ २०७५ का लागि अमर तुम्याहाङ (लिम्बू भाषा–साहित्य), २०७६ का लागि अमृत योञ्जन तामाङ, तराई मधेसमा बोलिने मातृभाषाका साहित्यतर्फ २०७५ का लागि अयोध्यानाथ चौधरी (मैथिली भाषा साहित्य), २०७६ का लागि अशोक थारू (थारू, भाषा–साहित्य) प्रदान गरिने भएको छ । यी पुरस्कारको राशि नगद एक लाख रहेको छ ।

यसैगरी प्रतिष्ठानले अन्य तीन पुरस्कार स्थापना गर्ने निर्णय गरेको छ । नेपालबाहिर रहेर नेपाली साहित्यमा विशिष्ट योगदान गरेका नेपाली मूलका स्रष्टालाई प्रत्येक दुई वर्षमा दिने गरी नेपाल प्रज्ञा अन्तरदेशीय नेपाली साहित्य पुरस्कार, नेपाली भाषाबाट विदेशी भाषामा र अन्य भाषाबाट नेपाली भाषामा अनुवादका माध्यमबाट विशिष्ट योगदान गरेका स्रष्टालाई दिने गरी नेपाल प्रज्ञा अनुवाद पुरस्कार स्थापना गर्ने निर्णय गरिएको छ । यी पुरस्कारको राशि नगद एक एक लाख रहने जनाइएको छ । यसरी नै अध्ययन र अनुसन्धानका माध्यमबाट नेपालबाट नेपालको गौरवलाई विश्वमा चिनाउन विशिष्ट योगदान गरेका विदेशी विद्वान्लाई तीन तीन वर्षमा दिने गरी तीन हजार अमेरिकी डलरको नेपाल प्रज्ञालङ्कार पुरस्कार स्थापनाको समेत निर्णय गरिएको छ ।

मंगलबार प्रज्ञा भवन, कमलादीमा बसेको प्रज्ञा–प्रतिष्ठानको प्राज्ञसभाको ३४औँ बैठकले उक्त निर्णय गरेको कुलपति गंगाप्रसाद उप्रेतीले बताए । साथै प्राज्ञसभाको उक्त बैठकले गत आ.व.को बजेट अनुमोदन गर्नुका साथै आगामी आ.व. ०७६-२०७७ का लागि नीति, योजना तथा कार्यक्रम पारित र विनियोजित २३ करोड सात लाख ३३ हजार रकम बजेट पारित गरेको छ ।

प्रतिष्ठानको ३४ औँ प्राज्ञसभा बैठकमा शुभकामना सन्देश पठाइ प्रतिष्ठानका प्रमुख संरक्षक प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक व्यक्ति र प्रतिभाका लागि स्वतन्त्रता र अवसर सुनिश्चित गर्न लामो समयको त्याग र बलिदानबाट स्थापित व्यवस्थानुकूल इतिहास लेखनको प्राज्ञिक पहल र अग्रसरता राष्ट्रले अपेक्षा गरेकाले सो योजनाका लागि रकम प्रबन्ध हुने प्रतिबद्धता व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले विश्वमै प्राचीन वैदिक सभ्यता, संस्कृति, चिकित्सा, धर्म, दर्शनलगायत ज्ञान, विज्ञानको उद्गम भूमिको गौरवप्राप्त नेपालको चिन्तन परम्परालाई यहाँको विद्यमान भौगोलिक प्राकृतिक विविधताका साथै समानता, स्वतन्त्रता, मानवता, भातृत्व, विश्वबन्धुत्व, सद्भावपूर्ण सहअस्तित्व, शान्ति, समृद्धि र सुखको स्पष्ट मार्गचित्र कोर्न वर्तमान पुस्तासँग परिचित गराउन आवश्यक भएको उल्लेख गरेका छन् ।

उनले विश्वका समकालीन प्रवृत्तिसँग नेपाली प्राज्ञिक जगत्लाई अद्यावधिक चलाइराख्न चलिआएका प्रयत्नलाई अझै प्रभावकारी बनाउन जोड दिए । प्रधानमन्त्री ओलीको लिखित सन्देश सदस्यसचिच प्रा. जगतप्रसाद उपाध्यायले वाचन गरेका थिए ।

प्रतिष्ठानका संरक्षक एवं संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले सभाको उद्घाटन गर्दै गौरवपूर्ण योजनामा सरकारले बजेट दिने वचन दिए । उनले ठूला ठूला विकासका आयोजनामा सरकारले हात हाले पनि वाङ्मय क्षेत्रलाई उचित सम्बोधन गर्ने बताए । उनले भने, ‘नेपालीको सभ्यता, मित्रता र सामाजिक सद्भावलाई अराजकतामा लगेर दिग्भ्रमित बनाउने कोसिस भइरहेका वेला विद्वतवर्गले सबै जातजाति र भाषाभाषीले प्रतिष्ठानलाई अझ नजिकबाट चिन्न सक्नुपर्दछ ।’

मन्त्री भट्टराईले नेपाली समाजलाई भड्काउने उच्छृङ्खलता र अराजकताले मुलुकलाई दिग्भ्रमित र विखण्डित गराउने कोसिस यदाकदा देखेको भनाइ राखे । उनले भने, ‘प्राज्ञिक संस्थाहरूले हाम्रो सभ्याताको विकास कसरी भयो ? साम्राज्यवादीसँग हाम्रा पूर्खाहरूले कसरी लडे भन्नेबारेमा नयाँ पुस्तामा चेतना जाग्रित गर्नुपर्ने अवस्था छ । त्यसका लागि नयाँ–नयाँ र समाजलाई रूपान्तरण गराउने योजना ल्याउनुस् । हामी सघाउँछौँ ।’

प्रतिष्ठानका कुलपति वाङ्मय क्षेत्रमा हालसम्म राष्ट्रिय गौरवका आयोजना नभएको स्थितिमा प्रतिष्ठानले अघि सारेको ग्रन्थ प्रकाशनको योजनामा सरकारले सघाउने विश्वास दिएपछि काम गर्ने ऊर्जा मिलेको बताए । वाङ्मय क्षेत्रमा पहिलो राष्ट्रिय गौरवको आयोजनाका रुपमा संघीय लोकतान्त्रिक गणतन्त्रअनुकूल सातै प्रदेश र समग्र देशको अद्यावधिक इतिहास ग्रन्थ प्रकाशन गरिने उप्रेतीले बताए ।

उनले सरकारले दिएको जिम्मेवारीअनुसार महाकवि लक्ष्मीप्रसाद देवकोटाको निवासलाई संग्रहालय बनाउन विस्तृत परियोजना प्रतिवेदन तयार गरिने र आगामी महिना हिमवत् खण्डका नौ मुलुकका प्राज्ञिक निकायको सहभागिता हुने गरी ‘चाइना साउथ एसिया लिटरेचर फोरम’ को दोस्रो सम्मेलन गरेर ज्ञानको साझा क्षेत्रमा सहकार्य बढाउने भनाइ राखे ।

उक्त कार्यक्रममा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी, प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँला, नेपाल सङ्गीत नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ (रायन), नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्यलगायतले सभाको सफलताको कामना गरे ।

प्रतिष्ठानका सदस्य सचिव प्रा. उपाध्यायले हरेक प्रदेशका भूगोल, जाति, परम्परा, सभ्यता, शिक्षा आदि विषयबारे खोज अनुसन्धानसहित सातवटा ग्रन्थ (प्रोफाइल) र त्यसको सारसहितको नेपाल दर्पण ग्रन्थ प्रकाशन गरी त्यसलाई अंग्रेजीमा पनि अनुवाद गर्ने लक्ष्य राखिएको जनाए ।

प्रतिक्रिया