उपयुक्त विकल्प भरतपुर

नेपाल भ्रमण वर्ष २०२० आउन अब केही महिना बाँकी छ । सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य सरकारले राखेको छ । यो त्यति धेरै महत्वकांक्षी लक्ष होइन । विदेशी पर्यटक आगमनको विगत तीन वर्षको वृद्धिदरलाई हेर्ने हो भने थोरै मिहेनत गर्दा आगामी वर्ष २० लाख विदेशी पर्यटक भित्र्याउन नसकिने होइन । तर तयारी र मिहेनत उत्साहजनक छैन । विदेशी पर्यटक भित्र्याउनका लागि मुख्य समस्या भनेको अन्तर्राष्ट्रिय विमानस्थल हो । हामीसँग रहेको एउटै मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले हवाई यात्रुको चाप धन्न सकिरहेको छैन । २४ सै घण्टा सञ्चालनमा ल्याँउदा पनि यात्रुको चाप धान्न नसकिरहेको अवस्था छ । त्यस माथि पनि मर्मत तथा बिस्तारका लागि दैनिक सात घण्टा उडान रोक्ने भनिएको छ । भ्रमण वर्षको पूर्व सन्ध्यामा यसरी उडान रोक्दा विदेशमा नकरात्मक सन्देश जान्छ । त्यसमा पनि असोजदेखि मंसिरसम्म विदेशी पर्यटक नेपाल आउने मुख्य सिजन हो । यही सिजनमा अन्तर्राष्ट्रिय विमानस्थल दैनिक सात घण्टा बन्द गर्दा नेपालबारे विश्वभर नकरात्मक प्रचार हुनु स्वभाविकै हो । मर्मत तथा बिस्तार गर्नुको विकल्प छैन , तर एक मात्रै विमानस्थल भएका कारण मर्मत तथा विस्तार गर्नुअघि अन्य विकल्प समेत खोज्न सकिन्थ्यो । तर सरकारले ध्यान दिएको देखिएन ।

विगतमा विकल्प नखोजिएको होइन , तर यस्ता विकल्प खोजिएछ कि ती व्यावहारिक देखिएनन् । उदाहरणका लागि अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प निजगढ र आन्तरिक विमानस्थलको विकल्प काभ्रे जिल्लाको नागीडा“डालाई रोजियो । तर काम अघि बढ्न सकेन । उपयुक्त विकल्व भए पो काम अघि बढ्न सक्थ्यो । काभ्रेको नागीडाँडामा पहाडै सम्याएर विमानस्थल बनाउनु पर्छ , त्यो विमानस्थल पनि ४४ जना भन्दा बढी यात्रु बोकेको विमान अवतरण गर्न सक्ने खालको हुँदैन । आन्तरिक नै भए पनि राजधानी काठमाडौंलाई लक्षित गरी बनाइने विमानस्थल कम्तीमा दुई सय यात्रु बोक्ने विमान अवतरण गर्न सक्ने खालको हुनु पर्छ । दशौँ अर्ब रुपैयाँ खर्च गरेर ४४ सिटे विमान अवतरण गर्ने विमानस्थल बनाउनु भनेको विकल्प होइन । यसैगरी निजगढमा बन्ने भनिएको अन्तर्राष्ट्रिय विमानस्थल पनि धेरै महत्वकांक्षी भयो । तत्काल सुरु भयो भने पनि उक्त विमानस्थल निर्माण भई सञ्चालनमा आउन कम्तीमा १० वर्ष पर्खनुपर्ने हुन्छ । काठमाडौं–निजगड सुपरहाइवे निर्माण सम्पन्न नभएसम्म उक्त विमानस्थल राजधानी काठमाडौंका लागि विकल्प हुन सक्दैन ।

सस्तो र छिटो विकल्प हुँदा हुँदै काभ्रेको नागीडाँडा जस्तो अव्यावहारिक र निजगड जस्तो धेरै नै समय लाग्ने र निकै महत्वकांक्षी विकल्प रोजिएको रहेछ भन्ने कुरा केही दिन अघि चितवनको भरतपुर विमानस्थल विस्तार सम्बन्धी छलफलले पुष्टि गरेको छ । उक्त छलफलमा नेपाली सेनाले स्पष्ट रुपमै भन्यो–हामीलाई अर्को ठाउँमा जग्गा व्यवस्था गरियो भने विमानस्थललाई विस्तारका लागि अहिलेको ब्यारेक खाली गर्न तयार छौँ ।’ सेनाको व्यारेक खाली गरी विस्तार गर्ने हो भने भरतपुर विमानस्थलमा दुई किलोमिटर धावनमार्ग बनाउन सकिने रहेछ । दक्षिणतर्फ थप एक किलोमिटर विस्तार गर्न सकिन्छ । तीन किलोमिटर धावनमार्गमा तीन सयसम्म यात्रु बोक्ने विमान सजिलै अवतरण गर्न सकिन्छ । निजगढ विमानस्थल निर्माण सम्पन्न नभएसम्म काम चलाउन रूपमा अन्तर्राष्ट्रिय उडानसमेत गर्न सकिन्छ । भरतपुर राजधानी काठमाडौंबाट धेरै नै टाढा पनि होइन । पृथ्वीराजमार्गको समानान्तर हुने गरी त्रिशूलीको दाहिने किनारमा दुई लेनको सडक निर्माण गर्ने हो र थानकोट नौविसे सुरुङ मार्गको निर्माण सम्पन्न गर्ने हो भने काठमाडौं–भारतपुरको करिब एक सय ४० किलोमिटर सडक दुरी दुई घण्टा ड्राइभिङको गन्तव्य हो ।

प्रतिक्रिया