क्यानको निर्वाचन असोजमै

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को निर्वाचन आगामी असोज १० र ११ गते हुने भएको छ ।  नेपाल आएका अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) प्रतिनिधि र राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालबीच भएको छलफलपछि क्यान निर्वाचनको नयाँ मिति घोषणा भएको छ । आइसिसीबाट आएका उस्मान ख्वाजा र अमर शेखसँगको छलफलपछि निर्वाचन काठमाडौंमा गर्ने निर्णय गरिएको हो ।

यसअघि स्वतन्त्र समितिले क्यान निर्वाचनको मिति असोज ३ र ४ गते तोके पनि राष्ट्रिय खेलकुद परिषद्ले प्रक्रिया नपुगेको भन्दै रोक्न आदेश दिएको थियो । परिषद्को निर्णयप्रति नेपाल क्रिकेट समर्थकले चर्को आलोचनासमेत गरेका थिए । क्यानको यो निर्वाचन नेपाली क्रिकेटका लागि महत्वपूर्ण छ । नेपाल क्रिकेट संघ विगत तीन वर्षभन्दा लामो समयदेखि निलम्बनमा छ ।

यसअघि पनि वि.सं. २०७२ साल पुसमा निर्वाचित क्रिकेट संघलाई विघटन गर्दै राखेपले तदर्थ कमिटी गठन ग¥यो । उक्त तदर्थ कमिटीको संयोजकमा राखेपका वर्तमान सदस्यसचिव सिलवाल थिए । त्यससँगै आइसिसीले सरकारी हस्तक्षेप भएको भन्दै ०७३ वैशाख १३ मा क्यानलाई प्रतिबन्ध गरेको थियो । त्यसपछि यो निलम्बन फुकुवाका लागि पहल भए पनि सफल हुन सकेको थिएन ।

असोजमा नेपाल क्रिकेट संघको निर्वाचन विवादरहित तवरले हुन सके आगामी अक्टोबरमा सिड्नीमा हुने आइसिसीको बोर्डबाट प्रतिबन्ध फुकुवा हुन सक्ने सम्भावना रहेको आइसिसीले सोमबार विज्ञप्ति जारी गर्दै उल्लेख गरेको छ । यो निर्वाचन भएको खण्डमा अक्टोबरमा हुने आईसीसीको बैठकबाट नेपालको निलम्बन फुकुवा हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया