प्रियंका रोइन्

मुम्बई । बलिउड तथा हलिउडमा व्यस्त अभिनेत्री प्रियंका चोपडा तीन वर्षपछि ‘द स्काई इज पिंक’ बाट बलिउडमा फर्किंदैछन् । मिस वल्र्ड हुँदै बलिउड तथा हलिउडमा सफलता हासिल गरेकी प्रियंका अभिनीत यो चलचित्र अक्टोबर ११ मा सिनेमा प्रदर्शनमा आउने तयारीमा छ ।

अभिनेत्री प्रियंका अभिनीत यो चलचित्रले प्रदर्शनअघि नै समीक्षक तथा दर्शकबीच परिचर्चा सुरु हुन थालेको छ । यसैबीच टोरोन्टो इन्टरनेसनल फिल्म फेस्टिभलमा प्रिमियर गरिएको यो चलचित्र प्रशंसा बटुलेको हो ।

सोनाली बोसले निर्देशन गरेको यो चलचित्रको प्रिमियर सकिएलगत्तै चलचित्र हेर्ने दर्शकले करिब चार मिनेटसम्म ताली पिटेर उक्त चलचित्रप्रति सम्मान प्रकट गरेका थिए । यसै कार्यक्रमका लागि पुगेकी प्रियंका यो देखेर निकै भावुक भइन् । चलचित्र प्रदर्शनपश्चात् उनका आँखा आँसुले भरिएका थिए । प्रियंकाले चलचित्रकी निर्देशक सोनालीलाई अँगालो हाल्दै गर्दा उनका आँखा रसाएका थिए ।

यसलगत्तै विभिन्न अनलाइनमा उनी भावुक भएको भिडियो सार्वजनिक भयो । यो चलचित्रले पुल्मोनेरी फाइब्रेसिस नामक रोगबाट जीवन गुमाउने अवस्थामा पुगेकी एक छोरीका बाबुआमाको कथालाई निकै कलात्मक रूपमा प्रस्तुत गरेको छ ।

चलचित्रमा अभिनेत्री प्रियंका र अभिनेता फरहान अख्तर पतिपत्नीको भूमिकामा देखिएका छन् । त्यस्तै, हालै इस्लामले इजाजत नदिने भन्दै बलिउड चलचित्र दुनियाँबाट सन्न्यासको घोषणा गरेकी जायरा वसिम उनीहरूको छोरीको भूमिकामा प्रस्तुत भएकी छन् ।

उक्त प्रिमियर सोमा प्रियंका आफ्ना पति निक जोनाससँग उपस्थित भएकी थिइन् । निकले पनि सिनेमाको क्लाइमेक्स हेरेर आफू रोएको प्रतिक्रिया दिए । ‘द स्काई इज पिंक’ चलचित्रले आइशा चौधरीको वास्तविक कथालाई पेश गरेको छ । मात्र १३ वर्षको उमेरमा पुल्मोनरी फाइब्रेसिस भएको पत्ता लागेपछि उनी ‘मोटिभेसनल स्पिकर’ बनेकी थिइन् । चलचित्रको कथालाई उनकै कोणबाट प्रस्तुत गरिएकोे निर्माण पक्षले छ ।

प्रतिक्रिया