मन्त्री भट्टराईको कमजोरी

भीडतन्त्र र लोकतन्त्र सँगैअघि बढ्न सक्दैनन् । भीडतन्त्र निर्णायक बन्दै गयो भने लोकतन्त्रको मृत्यु निश्चित छ । दुर्भाग्यवश मुलुकमा पछिल्ला दिनमा भीडतन्त्र निर्णायक हुँदै गइरहेको छ । एक महिनाअघि चितवनमा भीडतन्त्रले झन्डैझन्डै निर्णायक रूप लिएको थियो । गत शनिबार पनि नेपालगञ्जमा यस्तै घटना भयो । संस्कृति तथा पर्यटन मन्त्री योगेश भट्टराई एक सार्वजनिक कार्यक्रममा भाग लिई काठमाडौं फर्कंदै थिए । उनले टिकट काटेको बुद्ध एयरको विमान केही समय डिले भयो । मन्त्रीकै कारण डिले भएको भन्दै विमानका यात्रुहरू अक्रोसित भए । यात्रुहरूको समूहमा ज्ञानेन्द्र शाहीलगायत केही राजावादी युवाहरू पनि थिए । अन्य यात्रुहरूले सामान्य असन्तुष्टि जनाए पनि राजावादी युवाहरूले मन्त्री भट्टराई विरुद्ध ठूलै हुल हुज्जत गरे । यो हुल हुज्जतलाई उनीहरूले गर्वका साथ सामाजिक सञ्जाल तथा युट्युबमा प्रेसित गरे । सम्पूर्ण यात्रुहरूलाई नै मर्कामा पार्ने गरी गरिएको विमान डिलेको विरुद्ध राजावादी समूहले मन्त्री भट्टराई विरुद्ध जे गर्यो त्यो ठीक थियो भन्दै सामाजिक सञ्जालमा टिप्पणीहरू सुरु भए । अर्का तिर सत्तारूढ नेकपाका कार्यकर्ताहरूले मन्त्री माथि हुल हुज्जत गर्नेलाई पक्राउ गरी कानुनी दायरामा ल्याउनु पर्ने माग गरे । प्रहरीले यो समूहका अगुवा शाहीलाई पक्राउ ग¥यो पनि , तर सर्वसाधरण जनताको माहौल शाहीकै पक्षमा देखिएकोले प्रहरीले केही घन्टापछि नै रिहाइ गर्यो ।

पहिलो कुरा त विमान भित्र हुलहुज्जत गर्नु अन्तर्राष्ट्रिय कानुनमा पनि धेरै नै आपत्ति जनक मानिन्छ । दोस्रो कुरा बहालवाला पर्यटन मन्त्री, जसलाई विमान भित्रै हुल हुज्जत गरिएको छ , तर सर्वसाधरण जनताले जे भयो ठीकै भयो भन्ने प्रतिक्रिया दिइरहेका छन् । यो गम्भीर संकेत हो । घटनाको प्रकृति हेर्दा यस्तो अवशर मन्त्री भट्टराईले नै प्रदान गरेको देखिन्छ । उनले बाँकेको कार्यक्रमबाट फर्केर त्यही दिन संसद्को बैठकमा पुग्नु पर्ने भएकाले केही समयका लागि विमान डिले गराएको स्वीकार गरेका छन् । मन्त्री भट्टराईले विमान डिले गर्न बुद्ध एयरलाई आफैँले अनुरोध गरेको बताई सकेका कारण पनि यो प्रकरण निकै पेचिलो बनेको छ । विमान डिले गराउनु मन्त्रीको अधिकार क्षेत्रभित्र पर्छ कि पर्दैन ? भन्ने प्रश्नका कारण पनि हुलहुज्जत गर्ने समूहले जनसमर्थन पाइरहेको हो । विभागीय मन्त्री भएका कारण आपसी अनौपचारिक सहमतिमा केही मिनेट पर्खनुलाई नेपालका सन्दर्भमा अन्यथा लिन मिल्दैन । भएको यही हो । तर, मन्त्री भट्टराईको निजी सचिवालयले विमान डिले गराएको जानकारी विज्ञाप्ति निकालेरै दियो । मन्त्री भट्टराईले पदको दुरूपयोग गरेको कुरा उनकै सचिवालयले जारी गरेको विज्ञाप्तिद्वारा पुष्टि हुन्छ । डिले हुनाको जिम्मेवारी बुद्ध एयरलाई नै नदिएर मन्त्री भट्टराईले हतार हतार आफैँले लिएका कारण पनि हुलहुज्जत गर्ने समूहको मनोबल बढेको छ ।

यो घटना अकास्मिक हो या सुनियोजित हो ? छानबिन हुनु जरुरी छ । तर यो घटनालाई आकस्मिक देख्नु मन्त्री भट्टराईको कमजोरी हो । पहिलो कुरा मन्त्री भट्टराई निर्धारित समयमै विमानस्थल पुग्न नसक्ने परिस्थिति कसरी सिर्जना भयो ? यसबीचमा उनलाई कसकसले कसरी अलमल्याए ? विमान डिले गराउनका लागि मन्त्री भट्टराईले बुद्ध एयरलायन्सलाई आफैँले निर्देशन दिएका हुन् कि यसका लागि कसैले उनलाई सल्लाह दियो ? मन्त्री भट्टराई चढ्ने विमानकै टिकट राजावादीहरू समूहले किन रोजे ? विना पूर्वतयारी यस्तो हुलहुज्जत संभव हुन्छ कि हुँदैन ? लगायतका प्रश्नको उत्तर खोज्न पर्छ । विमान डिले भएको कारणबारे प्रष्टीकरण दिने सम्बन्धित एयरलाइन्सले हो कि मन्त्रीले हो ? भन्ने प्रश्नको पनि उत्तर खोज्नु पर्छ । यो गम्भीर घटना हो । यसको छानबिन सरकारले समिति बनाएरै गर्नु पर्छ । यो घटना मन्त्री भट्टराईसँग मात्रै सम्बन्धित होइन, लोकतन्त्रको भविष्यसँग पनि यो घटना जोडिएको छ । कुनै एक व्याक्तिको कमजोरीका कारण लोकतन्त्र बदनाम हुनु हुँदैन । कमी कमजोरी प्रधानमन्त्री तथा मन्त्रीबाट हुने तर दोष संविधान तथा लोकतन्त्रले पाउने सिलसिला पछिल्ला दिनमा बढेर गएका छन् ।

प्रतिक्रिया