डिन अग्रवालमाथिको दुर्व्यहारप्रति आपत्ति

काठमाडौं । चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) का डिन प्राडा. जगदीशप्रसाद अग्रवालप्रति गरिएको दुव्र्यवहारको नेपाल चिकित्सक संघले त्रिविले निन्दा गरेको छ ।

संघले सोमबार विज्ञप्ति जारी गर्दै अन्तरवार्ताका नाममा प्राज्ञिक क्षेत्रको महत्वपूर्ण जिम्मेवारी सम्हालेका चिकित्सकमाथि भएको दुव्र्यवहार घृणित भएको उल्लेख गरिएको छ । ‘पत्रकारिता पेसालाई नै कलंकित र दुषित तुल्याउने यस्तो कार्यले समग्र पत्रकारहरूकै बदनाम गर्न खोजको छ,’ विज्ञप्तिमा लेखिएको छ ।

संघका महासचिव डा.लोचन कार्कीले चिकित्सकको सुरक्षाका निम्ति मन्त्री परिषदमा विचाराधीन ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ र सोको नियमावली २०६९मा ‘बिना धरौटी जेल चलानको प्रावधान’ थप गरी यथाशीघ्र पारित गर्न पनि सरकारसँग अपिल गरेका छन् । राजधानीको केन्द्रमा रहेको चिकित्साशास्त्र अध्ययन संस्थानमा यस्ता दुव्र्यवहारका क्रियाकलाप हुनुले देशभरका स्वास्थ्य संस्थामा कार्यरत चिकित्सकहरूको सुरक्षाबारे प्रश्न उठाएको संघले जनाएको छ ।

‘घटनामा संलग्नलाई यथाशीघ्र कारबाही नगरिएको खण्डमा नेपाल चिकित्सक संघका आजीवन सदस्यहरूको रक्षाका निम्ति संघले जस्तोसुकै कदम चाल्नपछि नपर्ने जानकारी गराइन्छ’, विज्ञप्तिमा भनिएको छ । संघले यस्ता घटनामा संलग्न दोषीलाई कारबाहीको दायरामा नल्याइए जस्तोसुकै कडा कदम चाल्न बाध्य हुने चेतावनी दिएको हो ।

यस्तै नन गभर्मेन्ट डक्टर्स एसोसिएसन अफ नेपालल पनि प्राडा. अग्रवालप्रति गरिएको दुव्र्यवहारको भत्र्सना गरेको छ । एसोसिएसनका महासचिव डा. रितेश थापाले विज्ञप्ति जारी गर्दै डिन जस्तो बौद्विक व्यक्तित्वप्रति हुने यस्ता घटनाको जति निन्दा गरे पनि कम हुने उल्लेख गरेका छन् । ‘दिनानुदिन विभिन्न बहानामा हुने यस्ता दुव्र्यवहारले चिकित्सकको मनोबल गिर्दै गएको छ । चिकित्सक कतै पनि सुरक्षित नभएको अनुभूति हुन्छ,’ जारी विज्ञप्तिमा उल्लेख छ ।

यता स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) महाराजगञ्ज क्याम्पसले पनि विज्ञप्ति निकाली विरोध जनाएका छन् । महाराजगञ्ज क्याम्पसका स्ववियू सभापतिद्वारा जारी विज्ञप्तिमा प्राडा. अग्रवालप्रति गरिएको दुव्र्यवहार प्रति भत्सर्ना गर्दै सत्यतत्य छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरिएको छ । यसअघि आइतबार दिउँसो सवा २ बजे शिक्षण अस्पतालको आफ्नो कार्यकक्षमा रहेका प्राडा. अग्रवाललाई नेपाल टाइम्सको पत्रकार भन्दै समसामयिक विषयमा अन्तरवार्ता लिने भनेर आएका दुई जना अज्ञात व्यक्तिले कालो मसी छ्यापेर भागेका थिए । प्रहरीले उनीहरूको खोजी गरिरहेको जनाएको छ ।

प्रतिक्रिया