स्याउ टिप्दै मनाङ एग्रो

मनाङ । स्याउ जोनको मान्यता पाएको हिमाली जिल्ला मनाङमा धमाधम स्याउ टिप्ने समय आएको छ । नेपालकै ठूलो स्याउ फार्मका रूपमा परिचित मनाङ एग्रोमा यतिबेला स्याउ टिप्ने काम भइरहेको छ ।

सेप्टेम्बर महीनाको सुरुदेखि स्याउ टिप्न थाल्ने भए पनि अहिले अलि ढिलो भएको हो । स्याउको रङ र स्वाद परीक्षण गरेर मात्र स्याउ टिप्न थालिने मनाङ एग्रोका अध्यक्ष समराज गुरुङले बताए । उनका अनुसार कम्पनीले स्याउको चाना, केक, जुसलगायत धेरै परिकार बनाउँदै आएको छ । अब कम्पनीले स्याउको वाइन बनाउने तयारी गरिरहेको पनि उनले बताए ।

मनाङ एग्रोले ७३५ रोपनी क्षेत्रफल ओगटे पनि ४५० रोपनीमा स्याउ उत्पादन गर्दै आएको छ । कम्पनीले गत वर्ष ३५० टन स्याउ उत्पादन गरेको थियो । अहिले ४५० टन उत्पादन हुने अध्यक्ष गुरुङले बताए । उनका अनुसार अब मनाङको स्याउ नेपालमा मात्र नभई विदेशमा पनि आपूर्ति हुनेछ ।

यहाँ सर्र्वियाबाट तीन जातका स्याउका बिरुवा ल्याई व्यावसायिकरूपमा स्याउखेती गर्दै आएको कम्पनीले वर्षेनी करोडौँ आम्दानी गर्न थालेको छ । समुद्री सतहदेखि दुई हजार ९०० मिटर उचाइमा रहेको फार्ममा गाला, फुजी र गोल्डेन गरी तीन जातका स्याउ रहेका छन् ।

मनाङ ङिस्याङ गाउँपालिका–१ भ्रताङमा रहेको स्याउ फार्ममा अहिले ५० स्थानीय कामदार रहेका छन् । दैनिकरूपमा यी कामदारले स्याउको हेरचाह, कटिङ र स्याउ टिप्ने जस्ता काम गर्दै आएको कामदार पञ्च गुरुङले बताए ।

कम्पनीले स्याउको उत्पादनसँगै स्याउको परिकार निर्माण पनि गर्दै आएको छ । यहाँ स्याउ भण्डारण र प्याकिङ सबै मेसिनबाट गरिँदै आएको छ । गत वर्ष प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको कम्पनीले हाल नेपालका प्रमुख बजारमा आफ्नो उत्पादन पुर्याउन सफल भएको छ ।

प्रतिक्रिया