दक्षिण एसियाली नेटबल कातिकमा

काठमाडौं । पहिलो दक्षिण एसियाली यु–१६ नेटबल च्याम्पियनसिप कातिक पहिलो साता हुने भएको छ । च्याम्पियनसिपमा दक्षिण एसियाका ६ राष्ट्रको सहभागिता रहने छ । च्याम्पियनसिपमा आयोजक नेपालसहित भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका र माल्दिभ्सले प्रतिस्पर्धा गर्ने छन् ।

च्याम्पियनसिप कातिक १ गतदेखि ५ गतेसम्म लगनखेलस्थित सैनिक शारीरिक तथा तालिम केन्द्रमा सञ्चालन हुने नेपाल नेटबल संघका अध्यक्ष मोहन बस्नेतले जानकारी दिए । उनका अनुसार प्रतियोगिता सञ्चालनका लागि मलेसिया, भारत, श्रीलंका र पाकिस्तानका निर्णायक आउने छन् । ३१ लाख रुपैयाँ बजेट रहेको च्याम्पियनसिपका लागि नागार्जुन नगरपालिकाले १५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

महिला सशक्तीकरणका लागि आयोजना हुन लागेको च्याम्पियनसिपका लागि नगरपालिकाले सहयोग गर्न लागेको अध्यक्ष बस्नेतले जानकारी दिए ।  च्याम्पियनसिपका लागि नेपालले विगत एक महिनादेखि छनोट प्रतियोगिता भइरहेको संघका महासचिव दीपक लामाले जानकारी दिए । हाल प्रशिक्षणमा रहेका खेलाडीबाट अन्तिम १२ खेलाडी छनोट गरी बन्द प्रशिक्षणमा राखिने लामाले जानकारी दिए ।

प्रतिक्रिया