‘योद्धाको सपना’ बजारमा

सुर्खेत । कवयित्री देवकी तिमल्सिना ‘समीक्षा’द्वारा लिखित कविता संग्रह ‘योद्धाको सपना’ बजारमा आएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले उक्त कृतिको विमोचन गर्दै साहित्यले समाजलाई परिवर्तनको दिशामा लैजानुपर्ने बताए ।

उनले भने, ‘साहित्यले समाज परिवर्तन गर्नुपर्छ, मूलतः कर्णाली नेपाली भाषाको उद्गमस्थल भएकाले अरूले नेपाली भाषा, साहित्य, कला, सभ्यता, संस्कृतिको संरक्षण गर्लान् भन्नुभन्दा कर्णालीबाटै यसको सुरुआत गर्नुपर्दछ ।’ मुख्यमन्त्री शाहीले समाजलाई सचेत ढंगले अगाडि बढाउन साहित्यको भूमिका विशिष्ट रहने भएकाले साहित्यकारले परिवर्तनका पक्षमा कलम चलाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा कर्णाली प्रदेशका आन्तरिक मामिलामन्त्री नरेश भण्डारीले ‘योद्धाको सपना’ कविता कृतिले विगतका यथार्थ घटनालाई विश्लेषण गरेको बताए । उनले संग्रहले एकात्मक राज्य व्यवस्थाको परिवर्तनका लागि भएको जनयुद्धबाट योद्धाहरूले देखेका सपनाहरू पूरा भएका छन् कि छैनन् भनेर प्रश्न गरेको बताए । उनले भने, ‘कवितात्मक रूपमा आएका यी यथार्थ र वस्तुवादी शब्दजडित पंक्तिले एकपटक हामी सबैलाई गम्भीर भएर सोच्न बाध्य बनाएको छ ।’

कवयत्री देवकी तिमल्सिना ‘समीक्षा’ ले कविता संग्रह आफ्नो जीवन भोगाइको सिंगो पाटो रहेको बताइन् । उनले भनिन्, ‘जीवन संघर्ष र निरन्तर यात्राको एक पुञ्ज हो । त्यसैले मैले यस कृतिमा आफ्नो जीवन भोगाइलाई अनेकन कुइँनेटालाई उतार्ने कोसिस गरेको छु ।’

उनले संघर्षमा हेलिएका नारी र तिनले साँचेका सपनाका यावत् पक्षलाई संग्रहमा उधिन्ने कोसिस गरेका जिकिर गरिन् । उनले भनिन्, ‘यसमा नेपालमा भएको लामो सशस्त्र युद्ध र त्यसबाट प्रभावित भएकाहरूको पीडायुक्त आवाज मुखरित गर्ने प्रयास गरेकी छु, अझै पनि धेरै योद्धाहरूको सपना पूरा नभएकाले गणतन्त्र आइसकेपछिका सरकारहरूले ‘योद्धाका सपना’हरूले देखाएको काम पूरा गर्नतर्फ ध्यान दिनुपर्छ ।’

कर्णाली योजना आयोगका सदस्य एवं संग्रहका प्रकाशक डा. दीपेन्द्र रोकायाले समाजका लागि कृतिले के दिनसक्छ भन्ने महत्वपूर्ण कुरा रहेको बताए । मध्यपश्चिम विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकायका डिन प्रा. खोपीराम लम्सालले ‘योद्धाको सपना’ कृतिमा क्रान्तिका स्वरलाई कलात्मक रूपमा चित्रण गरिएको बताए । उनले क्रान्ति र आन्दोलनका विविध पाटालाई कवितामा समेटिएको टिप्पणी गरे । उक्त संग्रहमा ४३ कविता समावेश गरिएको छ ।

प्रतिक्रिया