स्वरोजगार बन्दै पूर्वकम्लरी

सात वर्षअघि उनका हातमा जुठा भाँडा मात्रै हुन्थे, अरुका घरमा जुठा भाडासँग पैठाजोरी खेल्दै गर्दा चार वर्षअघि एकएक उनलाई राइफल चलाउने रहर भयो । राइफल समाउने रहर बोकेर साहुको घर छाडेकी उन हातहरू यति वेला कपडा सिलाउने मेसिनको गतिसँगै चलायमान हुने गरेको छ । बाँके बैजनाथ–१ की २६ वर्षीया सविना चौधरीमा आएको परिर्वतन र उनीमा देखिएको सीपले गाउँलेहरू अहिले चकित छन् ।

कक्षा ७ मा पढ्दापढ्दै आमाको मृत्यु भएपछि घरको आर्थिक अभावका कारण कम्लरी बस्न बाध्य सविनाको जीवनमा चार वर्षयता निकै परिवर्तन आएको छ । दाङ, बाँकेलगायतका जिल्लामा पाँच वर्ष कम्लरी जीवन बिताएकी सविनाले अध्ययन कार्यलाई निरन्तरता दिन नसके पनि आफ्नो जीवनलाई दासताबाट भने मुक्ति दिलाएकी छन् । अहिले उनी स्वतन्त्र मात्रै होइन, आत्मनिर्भर र आर्थिक रूपमा सक्षम बनेकी छन् ।

प्रहरीमा भर्ती हुन आवश्यक उचाइ नपुगेपछि ममाथि अर्को चुनौती थपियो,’ सविना भन्छिन्, ‘तैपनि म निराश भइनँ । समाजलाई केही गरेर देखाउने अनेक उपायको खोजी गर्न थालेँ ।’ उनीभित्र आत्मनिर्भर बन्नुपर्छ भन्ने भावना जोडतोडका साथ उर्लिएको थियो

उनी दासताको त्यो जीवनबाट यति खुला र उत्साहित भएर आइन् कि एउटा थारू किसानको छोरीका हातहरू जुठा भाँडा माझ्न र अरुका काम गर्नका लागि मात्र हन् भन्ने समाजलाई बन्दुक समाएर देखाइदिन पाँच वर्षअघि उनी नेपालगञ्जसम्म पुगिन् । नेपाल प्रहरीमा भर्ती खुलेकाले उनी ठूलो उत्साह र जोशका साथ नेपालगञ्ज पुगेकी थिइन् । तर, बिडम्वना उनले लिएको त्यो लक्ष्यमा आफ्नै उचाइ बाधक बनिदियो ।

‘प्रहरीमा भर्ती हुन आवश्यक उचाइ नपुगेपछि ममाथि अर्को चुनौती थपियो,’ सविना भन्छिन्, ‘तैपनि म निराश भइनँ । समाजलाई केही गरेर देखाउने अनेक उपायको खोजी गर्न थालेँ ।’ उनीभित्र आत्मनिर्भर बन्नुपर्छ भन्ने भावना जोडतोडका साथ उर्लिएको थियो । जसलाई उनी रोक्न चाहन्थिन् र निरन्तर अगाडि बढ्न चाहन्थिन् उनी ।

समाजलाई बेग्लै काम गरेर देखाउने धोको लिएकी सविनामा अर्को विकल्प अगाडि आयो, कपडा सिलाउने मेसिन चलाउने । सिलाइकटाइ सिक्न थाल्दा उनले आफूजस्तै पूर्वकम्लरी सिर्जना चौधरीलाई भेटिन् । बैजनाथ–१ कै २७ वर्षीया सिर्जनामा पनि सविनाको जस्तै समाजमा केही गरेर देखाउने अठोट थियो । दुवैजनाले एक महिनासम्म सिलाइकटाइ सिकिन् । सुरुमा सिलाइकटाइ मेसिन चलाउन डराउने दुवैले अहिले यसैलाई व्यवसाय बनाएका छन् ।

सिर्जना भन्छिन्, ‘ सुरुमा त सकिँदैन जस्तो लाग्थ्यो, घरमा पनि यसले गर्छे भनेर विश्वासै गर्दैन्थे । अहिले व्यवसाय नै सुरु गरेको देखेर अचम्म मान्छन् ।’ कुनै दिन मालिकको घरमा जुठा भाँडा माझेर समय खेर फालिरहेका सविना र सिर्जनाले अहिले सीप सिकेर व्यावसायिकरूपमा सिलाइकटाइ पेसालाई अघि बढाइरहेका छन् । तर, उनीहरूसामु फेरि पनि समस्या बनेको छ, समाजको अविश्वास । जुन ठाउँमा बसे काम गर्ने हो त्यहाँको विश्सास प्राप्त भएन भने काम गर्न कठिन हुन्छ नै ।

‘सीप सिकेर मात्र के गर्नु ?, यो केटीले कहाँ राम्रो कपडा सिलाउन सक्छे भनेर धेरैले अझै पनि विश्वासै गर्दैनन्,’ सिर्जना भन्छिन्, ‘हामीहरू भने विश्वास जित्नकै लागि लागिपरेका छौँ ।’ उता सविनालाई भने अहिले मानिसहरूले काम नदिए पनि अर्काको घरमा दासताको जीवन बिताउनुभन्दा आफैँ सीप सिकेर कामको खोजी गर्न सक्ने भएकामा सन्तोष छ । ‘काम खोज्दै गए एक दिन कसो नपाइएला,’ सविना भन्छिन् । उनमा निराशाभन्दा आत्मविश्वास बढी छ । केही गर्नु पर्छ र गर्न सकिन्छ भन्ने भावना बढ्दै छ ।

सरकार, संघसंस्था र समाजले आफूहरूजस्ता केही गर्न चाहने पूर्वकम्लरीको रोजीरोटीका बारेमा विशेष ध्यान दिनुपर्ने सविना र सिर्जनाको माग छ । सरकार र संघसंस्थाहरूले आफूहरूको सीपको उपेक्षा गरेको उनीहरूको गुनासो छ । सविना भन्छिन्, ‘हामी भएको सीपलाई प्रयोग गरेर जसोतसो खाइरहेका छौँ, परिवार पालिरहेका छौँ ।’ आफूहरूको भाँडा माझ्ने क्षमतामाथि विश्वास गर्नेहरूले सिलाइकटाइको सीपमाथि विश्वास गर्न नसकेको उनीहरूको दुःखेसो छ ।

सविना भन्छिन्, ‘भाँडा माझ्ने काममा थारूका छोरीहरूबाहेक अरू कोही सक्षम छैनन् कि जस्तो गरी खोजी–खोजी लैजाने तर, अरू सीपमा भने विश्वासै नगर्ने ? कुनै दिन अवश्य पनि विश्वास जाग्छ । अहिले केहीले विश्वास गर्न थालेका छन् । त्यसैले त सिलाइकटाइका कामहरू आउन थालेका छन् ।’ अहिले उनीहरूको पसलमा कामको चाप बढ्दै गएको छ । सिलाइकटाइ पेसाबाट दैनिक एक हजार ५ सय देखि दुई हजार ५ सय रुपैयाँसम्म आम्दानी हुने गरेको उनीहरू बताउँछन् ।

‘दैनिक आम्दानीले खाना लाउन मात्र होइन केटाकेटीको पढाइ खर्च पनि पुगेको छ,’ सविनाले भनिन् । कसैको सहयोगविनै यही पेसाले आफूहरू आफ्नै खुट्टामा उभिन सफल भएको उनीहरू बताउँछन् । ‘यो पेसाले हामीलाई निकै राहत दिएको छ,’ सिर्जनाले भनिन् । बाँके चिसापानी–५ की सीता चौधरीको पनि आम्दानीको स्रोत बनेको छ, सिलाइकटाइ मेसिन । उनी आजभोलि ग्राहकका कपडा सिलाउनमै व्यस्त छिन् ।

आफ्नै खर्चमा एक महिने तालिम लिएकी उनले यही पेसालाई जीविकोपार्जनको आधारसमेत बनाएकी छन् । आर्थिक स्थिति निकै कमजोर भएकी उनी आफैँले सानो सिलाइकटाइ पसल सञ्चालन गरेपछि आर्थिक अवस्था फेरिएको छ । उनको पसलमा अहिले पुरुषहरूसमेत कपडा सिलाउन आउने गरेका छन् । उनी भन्छिन्, ‘घरमा खानेकुरादेखि छोराछोरीलाई पढाउने खर्च यसैबाट भ्याएकी छु ।’

उनीहरू मात्र होइन विभिन्न सीपमूलक तालिम पाएपछि पूर्वकम्लरीहरू आत्मनिर्भर बन्दै गएका छन् । सीप सिके जीवनयापन गर्न सकिन्छ भन्ने कुरा बुझेका पूर्वकम्लरीहरू सिलाइकटाइ पेसातर्फ आकर्षित हुने गरेका छन् । साहुको घरमा बसेर भाडा माझ्नुपर्ने अवस्था सम्झिँदै बैजनाथ–२ की अनिता चौधरी भन्छिन्, ‘विगतका वर्षहरूमा हामी साहुको घरमा बन्धकजस्तै हुन्थ्यौँ । अहिले हामी त्यो घेराबाट बाहिर छौँ ।’ स्वतन्त्र रूपमा काम गर्न पाएकोमा दंग छन् उनीहरू अहिले ।

सरकारले कम्लरी मुक्तिका लागि गरेको घोषणाको सह्राना गर्दै उनले भनिन्, ‘कम्लरीलाई मुक्त गरे पनि हामीलाई बाँच्ने आधार दिएन ।’ सिलाइकटाइ पेसातिर आकर्षित भएका पूर्वकम्लरीहरूले अहिले थोरै लगानीमा सोचेभन्दा बढी आम्दानीसमेत गर्दैआएका छन् । सिलाइकटाइ पेसामा लागेका अधिकांश पूर्वकम्लरीहरूले अहिले आफूहरूको दैनिक जीवनमा परिर्वतन आएको बताउँछन् ।

राप्तीसोनारी–४ की पूर्वकम्लरी संगीता चौधरी सिलाइकटाइ पेसा अपनाएपछि आफू आत्मनिर्भर बन्दै गएको सगर्व बताउँछिन् । तीन वर्षदेखि सिलाइकटाइ गर्दैआएकी संगीताले घर खर्चसमेत यसैबाट धानेकी छन् । मासिक १० हजार रुपैयाँ बचत गर्दैआएको उनी बताउँछिन् । चार वर्षदेखि थोरै लगानीमा व्यवसाय सुरु गरेर उनले आफ्नै गाउँमा महिलाहरूका लागि आवश्यक पर्ने लुगा सिलाउने गरिरहेकी छन् ।

पहिले घरपरिवारको भरमा जीविका चलाउनुपर्ने संगीताले अहिले आफैंले घर खर्च चलाउन थालेपछि आफ्ना श्रीमान् र सासूससुरा खुसी भएको बताइन् । थारु समुदायका मानिस आम्दानीको अभावमा छोराछोरीलाई विद्यालय पठाउनसमेत सक्दैन्थे तर, संगीताले सिलाइकटाइ व्यवसाय सञ्चालन गरेर छोराछोरीलाई निजी विद्यालयमा पढाइरहेकी छन् । उनीहरूजस्तै सिलाइकटाइ सिकेका अन्य पूर्वकम्लरीहरू कुनै न कुनै पेसा गरेर स्वरोजगार र आत्मनिर्मर बनेका छन् ।

पूर्वकम्लरीहरू पछिल्लो समयमा सिलाइकटाइ, गाडी चालक, पशुपालन, कम्प्युटर अपरेटरजस्ता तालिम पाएर स्वरोजगारतर्फ उन्मुख भइरहेका छन् । भाँडा माझ्ने सीपको प्रयोग गर्न जानेको यो समाजले आफूहरूका अन्य सीपलाई सम्मान गर्ने दिन पनि अवश्य नै आउँछ भन्नेमा पूर्वकम्लरीहरू विश्वस्त छन् ।

प्रतिक्रिया