अर्थबजार

चेकबिनै बैंकबाट भुक्तानी

सौर्य अनलाइन २०७६ भदौ ३० गते ५:५७ मा प्रकाशित

काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानी दिन चेक काट्नुपर्ने बाध्यता अन्त्य गरिदिएको छ । अबदेखि चेक नकाटी एक बैंकबाट बैंकमा भुक्तानी गर्न सकिने भएको हो ।

रियल टाइम ग्रस सेटलमेन्ट (आरटिजीएस) सिस्टम लागू गरेसँगै चेक काट्नुपर्ने युगको अन्त्य भएको हो । यस प्रणालीबाट कुनै पनि भुक्तानी दिने व्यक्ति वा संस्थाले बैंकमा उपस्थित भई सामान्य फारम भरेर भुक्तानी अनुमतिका लागि आग्रह गरेको खण्डमा तुरुन्तै भुक्तानी हुने व्यवस्था मिलाइएको छ । यस्तो भुक्तानी पाँच मिनेटदेखि आधा घन्टाभित्र प्राप्त गर्नेको खातामा जम्मा भइसक्छ ।

राष्ट्र बैंकले दुई लाखदेखि माथिको भुक्तानीमा यो प्रणाली प्रयोग गर्न सकिने बताएको छ । आरटिजीएस प्रणाली लागू भएसँगै भुक्तानी व्यवस्थामा नयाँ युगको सुरुवात भएको राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले बताए । राष्ट्र बैंकले आइतबारदेखि आरटिजिएस प्रणालीको औपचारिक शुभारम्भ गरेको छ । युके एड बेलायतको प्रावधिक तथा आर्थिक सहयोगमा नेपालमा आरटिजिएस प्रणाली सुरुवात गरिएको हो ।

‘आरटिजिएस प्रणाली लागू भएसँगै भुक्तानी व्यवस्थामा नयाँ युगको सुरुवात भएको छ,’ गभर्नर डा. नेपालले भने, ‘यो प्रणालीमा हरेक कारोबार छिटो, प्रस्ट र सुरक्षित हुन्छ ।’ गभर्नर डा. नेपालले माछापुच्छ्रे बैंकबाट नेपाल इन्भेस्टमेन्ट बैंकमा बिनाचेक २० करोड रुपैयाँ भुक्तानी गरेर आरटिजिएस प्रणालीको सुरुवात गरे ।

माछापुच्छ्रे र इन्भेस्टमेन्ट बैंकले आरटिजिएस प्रणालीको पहिलो कारोबार गरेका थिए । यो प्रणाली लागू भएपछि २ लाख रुपैयाँभन्दा माथिको भुक्तानी दिँदा चेक नचाहिने भएको छ । राष्ट्र बैंकले तत्काललाई २ लाख रुपैयाँभन्दा माथि २० लाखसम्मको भुक्तानी स्वेच्छाले र २० लाखभन्दा माथि अनिवार्य आरटिजिएस प्रणालीबाट भुक्तानी गर्न सकिने व्यवस्था गरेको छ । तत्कालमा सबै चेक भुक्तानी प्रणाली हटाउन सम्भव नभएको राष्ट्र बैंकले हाल भुक्तानी रकमको सीमा तोकेको हो ।

आरटिजिएस प्रणालीबाट भुक्तानी गर्दा चेक भुक्तानीमा भन्दा सस्तो शुल्क हुने राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्रले बताए । आरटिजिएस पुल नभएर पुस पेमेन्ट सिस्टम हो । यसमा कुनै पनि व्यक्तिले अर्को व्यक्तिलाई पैसा भुक्तानी गर्नु परेमा आरटिजिएसमा आबद्ध सम्बन्धित बैकमा गएर लिखित निर्देशन दिएपछि त्यो व्यक्तिको खाताबाट अर्को व्यक्तिको खातामा रकम भुक्तानी हुनेछ ।

प्रतिक्रिया