कांग्रेसले गर्यो राष्ट्रियसभाको बैठक अवरुद्ध

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संघीय संसद्, राष्ट्रियसभाको आजको बैठक अवरुद्ध गरेको छ । कांग्रेस सांसदहरुले भदौ २६ गते बाँकेमा भएको घटनाबारे दिइएको जाहेरी दर्ता गर्नुपर्ने माग गर्दै सुरुवातमै उठेर बैठक अवरुद्ध गरेका हुन् ।

कांग्रेस सांसद बद्रीप्रसाद पाण्डेले बाँके क्षेत्र नं ३ प्रदेशसभा ‘ख’अन्तर्गत पर्ने खजुरा गाउँपालिका कांग्रेसले सञ्चालन गरेको हिमाल, पहाड, तराई, मधेश नेपाली राष्ट्रिय जागरण अभियान कार्यक्रम सीतापुरमा भदौ २६ गते चलिरहेका बेला खजुरा गाउँपालिका–१ का वडाध्यक्ष सुमन मल्ल नेतृत्वको समूहले कांग्रेस जिल्ला सभापति किरण कोइरालामाथि साङ्घातिक आक्रमण गरेकाले जाहेरी नलिएसम्म कांग्रेसले संसद् अवरुद्ध गर्ने बताए ।

उनले घटनाबारे गृह मन्त्रालयमा ज्ञापनपत्र बुझाए पनि पीडितले जाहेरी गर्न खोज्दा दर्ता नभएको र अहिलेसम्म पनि मुख्य अभियुक्तलाई पक्राउ नगरिएकोमा आपत्ति जनाए । ‘किटानी जाहेरी दर्ता गरियोस्, लोकतान्त्रिक पार्टीमाथि आक्रमण भएको छ, यो योजनाबद्ध घटना हो, घटनाप्रति सरकार गम्भीर छैन’, उनले भने ।

सांसद राधेश्याम अधिकारीले सरकारले अहिलेसम्म पनि जाहेरी दर्ता गरेको छैन तपाई कसरी कारवाही गर्नुहुन्छ ? भन्दै गहृमन्त्री थापालाई प्रश्न गरे । सांसद अनिता देवकोटाले नेकपाको सरकार भएकाले कानून लाग्ने हो वा होइन भन्दै सरकारलाई प्रश्न गरिन् । सांसद सुरेन्द्र पाण्डेले पीडितको तर्फबाट दिइएको जाहेरी अस्वीकार गर्नु लोकतन्त्र विरोधी भएको टिप्पणी गरे ।

प्रतिक्रिया