हरिलाई टिभिएस खुला दौडको उपाधि

काठमाडौं । आर्मीका हरि रिमालले टिभिएस खुला दौड प्रतियोगिताको उपाधि शनिबार जितेका छन् । आर्मीको वर्चश्व रहेको दौडमा उपाधि विजेता रिमालले २६ मिनेट २९ दशमलव ८१ सेकन्डमा दूरी पार गरेका थिए । विजेता रिमालले ५० हजार रुपैयाँ प्राप्त गरे । दोस्रो स्थानमा रहेका दीपक अधिकारी १ दशमलव ४ सेकेन्डले मात्र पछि परेका थिए । उनले उक्त दुरी पार गर्न २६ मिनेट ३० दशमलव ८५ सेकेन्डको समय खर्चेका थिए । तेस्रो स्थानमा रहेका आर्मीकै गजेन्द्र राईले २६ मिनेट ३५ दशमलव ९० सेकेन्डमा दुरी पार गरे ।

उपविजेता अधिकारीले २५ हजार र तेस्रो स्थान हात पारेका गजेन्द्रले नगद १५ हजार रुपैयाँ प्राप्त गरेका थिए । उक्त दौड पाँच वर्षका बालक नेबिस रौनियार पनि दौडमा सहभागी भएका थिए । युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनारले उद्घाटन गरेको आठ किमी खुला दौडमा नक्सालको बाल मन्दिर हुँदै सिटिसेन्टर, कमलपोखरी, पुतलीसडक, भृकुटीमण्डव, थापाथली, त्रिपुरेश्वर, सुनधारा, दरबारमार्ग, नागपोखरी हुँदै नक्सालको टिभिएस सोरूममा आएर समाप्त भएको थियो ।

विजेता खेलाडीलाई आयोजक जगदम्बा मोटर्स प्रालीका उपाध्यक्ष दीपक अग्रवाल, ओलम्पियन एवं कीर्तिमानी धावक बैकुण्ठ मानन्धर, अल्ट्राधाविका मीरा राई, आयोजक जगदम्बा मोटर प्रालीका बजार प्रमुख नवराज कोइरालालगायतले पुरस्कृत गरेका थिए । जगदम्बा मोटर प्रालीको पाँचौँ वर्ष गाँठका अवसरमा दौड नेपालको सातै क्षेत्रमा आयोजना गरिने बजार प्रमुख नवराज कोईरालाले जानकारी गराएका छन् ।

प्रतिक्रिया