भारतलाई एसिसी यु–१९ एसिया कप

एजेन्सी. कोलम्बो । भारतले बंगलादेशलाई हराउँदै सातौँ पटक एसिसी यु–१९ एसिया कपको उपाधि जितेको छ ।  लगातार दोस्रो तथा समग्रमा सातौँ पटक उमेर समूहको उपाधि जित्ने क्रममा भारतले शनिबार बंगलादेशलाई पाँच रनले हरायो । टस जितेर पहिला ब्याटिङ गरेको भारतले ३२ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै एक सय ६ रन मात्रै बनाउन सक्यो । भारतका करण लालले सर्वाधिक ३७ रन बनाउँदा कप्तान ध्रुव जुरेलले ३३ रनको योगदान गरे ।

यस्तै शास्वत रावतले १९ रन बनाउँदा अरू ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । जसमा तीन जना ब्याट्सम्यानले खाता नै खोल्न सकेनन् । बंगलादेशका मृत्युञ्जय चौधरी र सहिम हसनले समान तीन विकेट लिए । तन्जिम हसन सकिब र साहिन आलमले समान एक एक विकेट हात पार्दा भारतका दुई जना ब्याट्सम्यान रन आउट हुन पुगे । जवाफमा बंगलादेश सुरुआतदेखि नै दबाबमा रह्यो । जसका कारण बंगलादेश ३३ ओभरमा एक सय एक रनमा अलआउट भयो ।

बंगलादेशका दुई जना खेलाडीले मात्र दोहोरो अंक छुन सके । जसमा मोहम्मद अकबर अलीले २३ तथा मोहम्मद मृत्युञ्जयले २१ रन बनाए । बंगलादेशले १८ अतिरिक्त रन पाएको थियो । १६ रन बनाउँदा चार विकेट गुमाइसकेको बंगलादेशका सुरुआती चार खेलाडी क्रिजमा टिक्न नसक्दा एकपछि अर्को गर्दै आउट भए । त्यसपछि पाँचौँ विकेटका लागि उसले २४ रनको साझेदारी गरेको थियो ।

तर त्यसपछि पनि उसका खेलाडी क्रिजमा टिक्न नसक्दा ७८ रनमा आठ विकेट खेर फालेको थियो । तर अन्तिममा नवौँ विकेटका लागि रकिबुल हसन र तान्जिन हसनले २३ रनको साझेदारी गर्दै टिमलाई जितको नजिक पु¥याएका थिए । तर अन्तिममा लगातार दुई विकेट गुमाएपछि बंगलादेश उपाधिनजिक पुगेर पनि हार्न पुग्यो । बंगलादेशलाई कम रनमा रोक्न भारतका अथर्वले पाँच तथा आकाशले तीन विकेट लिए ।

प्रतिक्रिया