अंग्रेजीमा ‘टुहुरो कुण्डली’

काठमाडौं । साहित्यकार भीष्मराज फुलाराले लेखेको उपन्यास ‘टुहुरो कुण्डली’ को अंग्रेजी संस्करण ‘ओरपान हरस्कोप’ बजारमा आएको छ । अनामनगर चोकको मूल सडकमै विमोचन गरिएको यो पुस्तकमा नेपाली समाजको यथार्थ पक्षलाई चित्रण गरिएको छ ।

वरिष्ठ पत्रकार भैरव रिसाल, मोहनबहादुर केसी, इन्जिनियर दुर्गा वस्थी, स्वास्थ्यकर्मी प्रदीप रिमाल, वृत्तचित्र सम्पादक मानबहादुर थापा, उपप्राध्यापक तथा समालोचक ज्ञाननिष्ठ ज्ञवाली, पुस्तक अनुवादक ऋषि न्यौपानेलगायत दर्जनौँ व्यक्तित्वले पुस्तक विमोचन गरे । फुलारा लिटरेचर फाउन्डेसन नेपालको आयोजनामा अनामनगरको मुलसडकमा गरिएको कार्यक्रममा बोल्दै वरिष्ठ पत्रकार भैरव रिसालले साहित्यकारले सामाजिक तडकभडकबिना नै पुस्तक विमोचन गर्न सक्ने बताए ।

उनले महँगोमा पुस्तक लोकार्पण गर्ने परिपाटीलाई छिचोल्दै युवालेखक फुलाराले जिरो ब्यालेन्समा पनि पुस्तक विमोचन गर्न सकिन्छ भन्ने सन्देश आमनागरिकलाई दिएको धारणा व्यक्त गरे । उनले भने, ‘पठन संस्कृतिले समाज समृद्ध बन्ने भएकाले साहित्यकारले समाजपयोगी कृति ल्याउनुपर्दछ । समाजको मनोविज्ञान बुझेर लेखिएका कृति अमर पनि हुन्छन् ।’

त्यसैगरी, उपप्राध्यापक तथा समालोचक ज्ञाननिष्ठ ज्ञवालीले फुलाराले जुन किसिमले नेपाली साहित्यमा योगदान दिइरहेका छन् त्यो युवावर्गका लागि उदाहरणीय र प्रशंसनीय रहेको बताए । उनले युवालाई समाज र देशप्रति उत्तरदायित्वबोध गर्ने गरी लेखक फुलाराले उत्प्रेरित गर्दै साहित्य लेखेको सुनाए । उनले भने, ‘नेपाली साहित्यको विकासका लागि अंग्रेजीमा अनुवादित यस पुस्तकले समाजका यथार्थ घट्ना, परिघटना र समाजले भोग्नुपर्ने पीडालाई उतारेको छ ।’ उनले उपन्यासले समाजलाई सकारात्मक दिशामा लैजान महत्वपूर्ण भूमिका खेल्नेमा आफू विश्वस्त रहेको सुनाए ।

त्यस्तै, ‘टुहोरो कुण्डली’ का अनुवादक ऋषी न्यौपानेले पुस्तकमा भौगोलिक आञ्चलिकता रहेको र समाजले भोगेका मानवीय घट्नालाई यथार्थरूपमा चित्रण गरिएको बताए । उपन्यास मानवीय करुणा रसले भरिएकाले आफूले अंग्रेजीमा अनुवाद गरेको बताउँदै उनले समाजलाई सचेत ढंगले अगाडि बढाउने सन्देश पुस्तकमा रहेको जिकिर गरे । अनुवादक न्यौपानेले भने, ‘नेपाली साहित्यमा लेखक फुलारा निकै सम्भावना बोकेर देखापरेका छन् । यसलाई उनले अझ सिर्जनशील बनाउन र निरन्तरता दिनु पर्दछ ।’

उपन्यासकार तथा फुलारा लिट्रेचर फाउन्डेसनका अध्यक्षसमेत रहेका भीष्मराज फुलाराले आफू बाँचेको समाज र समयलाई चित्रण गर्दै तीन वर्ष लगाएर उपन्यास तयार पारेको बताए । उनले सामाजिक संवेदना स्खलित हुँदै गएको आजको विश्व परिवेशमा उपन्यासले करुणा, दया माया, सद्भाव र सहानुभूति जस्ता संवेदनालाई उठान गरेको जिकिर गरे ।

उनले समाजका पछिल्ला परिघटना र यथार्थतालाई समेटेर उपन्यास तयार पारेको बताए । उनले भने, ‘समाजका विविध यथार्थ परिवेश र परिघटनालाई मैले उपन्यासमा उधिन्ने काम गरेको छु । साथै यसमा युवावर्गले गर्नुपर्ने दायित्व र समाजको परिवेशलाई चित्रण गरिएको छ ।’ फुलारा लिट्रेचर फाउन्डेसन नेपालले बजार व्यवस्थापन सम्हालेको यो पुस्तकको मूल्य पाँच सय ५० रुपैयाँ रहेको छ ।

प्रतिक्रिया