इन्द्रजात्रामा राजनीतिक तरंग

उतिवेलाको नेपाल र अहिलेको राजधानी काठमाडौं उपत्यकाको मुख्य चाड हो इन्द्रजात्रा । हिन्दूहरूले इन्द्रलाई देवताका राजाका रूपमा मान्छन् । अरू देवताको पूजा हुन्छ तर इन्द्रको पूजा विरलै हुन्छ । त्यो विरलै संस्कृतिको बाबजुद नेपालमा इन्द्रजात्रा मुख्य चाडको रूपमा रहेको छ तर इन्द्रजात्राको स्थानीय व्यवस्थापन भने धेरैजसो गैर हिन्दू अर्थात् बौद्धमार्गीहरूले गरिरहेको देखिन्छ । यो परम्परा अनौठो भए पनि धार्मिक सहिष्णुताका दृष्टिकोणले अनुपम हो । इन्द्रजात्राको अर्को महत्वपूर्ण पाटो भनेको राजनीति हो । मुलुकका अधिकांश चाडपर्व तथा संस्कृति राजनीतिभन्दा टाढा छन् तर इन्द्रजात्रा भने विभिन्न राजनीतिक घटनाक्रमसँग जोडिएको छ । पहिलो कुरा त यो जात्रा जनस्तरबाट सुरु नभएर राज्यको साधन स्रोतबाट मल्ल राजाहरूले सुरु गराएको पाइन्छ । दोस्रो कुरा पृथ्वीनारायण शाहले नेपाल एकीकरणका क्रममा इन्द्रजात्राकै अवसर पारेर तत्कालीन कान्तिपुरका राज्यमाथि आक्रमण गरे । राजा जयप्रकाश मल्ल इन्द्रजात्रामा सहभागी भई कुमारीको हातबाट टीका लगाउन अघि बढ्दै थिए, त्यहीवेला गोर्खाली सेनाहरूले कान्तिपुरका राजा जयप्रकाशलाई आफ्नो कब्जामा लिई आफ्ना राजा पृथ्वीनारायण शाहलाई कुमारीका अघि प्रस्तुत गरे । जब कुमारीले पृथ्वीनारायण शाहको निधारमा टीका लगाइदिइन् तब कान्तिपुरका सर्वसाधारण जनताले नयाँ राजाको जय जयकार गर्दै भन्न थाले–‘ कुमारीले राजा परिवर्तन गरिदिइन् ।’ यसरी मल्ल राजा विस्थापित भइसकेपछि इन्द्रजात्रामा शाह राजाहरू सहभागी भई परम्परालाई निरन्तरता दिए ।

मुलुकमा राजसंस्था उन्मूलन भइसकेपछि अर्थात् ०६५ सालदेखि यो परम्परालाई राष्ट्रपतिद्वारा निरन्तरता दिइएको छ । ०६५ सालमा माओवादीको सरकार हुँदा इन्द्रजात्रालाई दिइँँदै आएको बजेट कटौती गरियो । इन्द्रजात्राका लागि लाखौँ खर्च हुने भए पनि सरकारले केही हजार मात्रै बजेट दिन्थ्यो । अधिकांश खर्च स्थानीय समुदाय तथा स्थानीय गुठीहरूद्वारा नै बोहोरिन्थ्यो । राज्यले दिने बजेटले खासै गर्जो टर्दैनथ्यो । तर, पनि स्थानीय समुदाय सरकारको विरोधमा उठ्यो । यो विरोध बजेटका लागि भन्दा पनि राज्यले दिने पहिचानसँग जोडिएको थियो । स्थानीय समुदायको विरोधपछि राज्यले परम्परागत बजेटलाई निरन्तरता दिन थाल्यो । यसपटक त सरकारले पाँच करोड रूपैया“को अक्षयकोष नै खडा गरिदिएको छ ।

इन्द्रजात्रा पर्वलाई राजनीतिसँग जोड्ने कि नजोड्ने ? भन्ने सन्दर्भमा वेलामौकामा बहस हुने गरेका छन् । पक्ष र विपक्षमा विविध स्वर सुनिने गरेका छन् । राजनीतिसँग नमुछ्ने भन्दै ०६५ सालमा सरकारले बजेट कटौती गरेको पनि हो तर स्थानीय समुदायको चर्को विरोधपछि यो निर्णयबाट पछि हट्न सरकार बाध्य पनि भयो । यसपटकको इन्द्रजात्राका क्रममा भने केही अनौठो घटना भयो । धर्मनिरपेक्ष मुलुकमा राष्ट्रपति धार्मिक कार्यक्रममा जान मिल्दैन भन्दै विरोध भयो । विरोध गर्नेहरू अधिकांश राजावादी थिए । नेपाल प्रहरीका पूर्वडिआइजी तथा नेपाली राष्ट्रिय सेनाका पूर्वकर्णेलसमेत विरोध स्थलबाट पक्राउ परे । राष्ट्रपतिलाई पूजास्थलमा प्रवेश गर्न नदिने भन्दै बाटो छेकेर बसेका करिब तीन सय जनालाई प्रहरीले केही घन्टा थुनामा राख्यो । एकातिर हिन्दू राज्य हुनुपर्छ भनेर माग चर्काउने अर्कातिर राष्ट्रपति धार्मिक–सांस्कृतिक कार्यक्रममा सहभागी हुनहुँदैन भन्ने कुरा परस्परमा मेल खाँदैनन् । राजाको सट्टा राष्ट्रपति सहभागी भएकोमा आपत्ति हो यो । उनीहरूको यो आपत्ति संविधानविपरीत छ, लोकतन्त्रविपरीत पनि छ । सरकारले समयमै नियन्त्रण गरेर उचित काम गरेको छ । लोकतन्त्रमा राष्ट्रपतिलाई कालो झण्डा देखाउनु अपराध होइन तर कस्ता कार्यक्रममा मिल्छ कस्ता कार्यक्रममा मिल्दैन ? भन्ने भेदचाहिँ छुट्याउनुपर्छ । राजनीतिक कार्यक्रममा मिल्छ तर धार्मिक तथा सांस्कृतिक कार्यक्रममा मिल्दैन ।

प्रतिक्रिया