बिपी विचारको सान्दर्भिकता

धेरैले बिपीले त्यो वेला भनेको ‘एउटा गाई, एउटा घर, केटाकेटीलाई स्कूल आदिको कुरा’ पुरानो भइसक्यो भन्छन् । पक्कै पनि बिपी अहिले जीवितै भए सबैको आवास, सर्ब–सुलभ र गुणस्तरीय शीक्षा र स्वास्थ्य, विदेशमा न गएर स्वदेश मै रोजगारी, नेपालको कृषि क्षेत्रको आधुनिकरण र बजार व्यवस्थापन अनि भारतका मोदीले भन्ने गरेको ‘हाइवे, रेलवे, बिजुली, र सूचना प्रविधिको ’कनेक्टिभिटी’ को कुरा बिपीले पहिले नै गरिसकेका हुन्थे 

बिपीको जन्म जयन्तीको अवसर पारेर दुई किसिमका तर्क गर्ने गरिन्छ । पहिलो, बिपीको सपना साकार पार्नु पर्छ र बिपीले भनेको बाटोमा हिँड्नुपर्छ किनकि उनको दर्शन अहिले पनि उत्तिकै सान्दर्भिक छ । दोश्रो, बिपीले २०१५ साल तिर देखेको सपना अहिलेको २१औं शताब्दीमा असान्दर्भिक भइसकेकाले त्यसको समयसापेक्ष व्याख्या हुनुपर्छ । यसै सम्बन्धमा तपाईंहरूसामु बिपीबारे मैले लेख्दै गरेको एउटा किताबको ‘च्याप्टर’ बाट केही कुरा ‘सेयर’ गर्न मन लाग्यो । वाद र दर्शनबारे पछि चर्चा गरौँला तर एउटा व्यक्तित्वका हिसाबले उनका अनेक कमजोरीका बाबजुद बिपीजतिको उँचाई भएको राजनीतिक व्यक्तित्व नेपालले अर्को पाएको छैन ।

उनको राजनीतीक दर्शनको ज्ञान, साहित्य र लेखनमा त्यत्तिकै दख्खल, बिदेश नीति र अंग्रेजीमा निपूर्ण, राजनीतिक व्याख्यालाई एउटा साधारण मान्छे र परिवारको दैनिक जीवनसँग जोडेर ‘मास’ लाई ‘कमान्ड’ गर्न सक्ने उनको अद्भूत क्षमता भएका अरू राजनीतिज्ञ देखिएका छैनन् नेपालमा ।

बिपी सफल साहित्यकार बन्नुमा धेरैले उनले जेलको समय सदुपयोग गरेको भन्ठान्छन्, तर उनका तीन घुम्ति, सुम्निमा, नरेन्द्र दाइ, मोदिआइन, हिटलर र यहुदी, बाबु, आमा र छोरा जस्ता प्रख्यात उपन्यास र दोषी चस्मा र श्वेतभैरवीजस्ता कथाहरूले पुष्टि गर्दछन् कि बिपी सफल साहित्यकार मात्रै होइनन्, उनले राजनीति र साहित्यलाई एक आपसमा लसपस हुन दिएनन् । उनको साहित्यले उनलाई काल्पनिक संसारमा लगेर मन भित्र कुण्ठित भएको भावना र चाहनालाई उन्मुक्ति दिने अवसर दिन्थ्यो भने उनको राजनीतिक दर्शनले विश्व र नेपालको यथार्ततलाई व्याख्या गर्न सघाउँथ्यो ।

उनी विश्वमा साहित्य र राजनीति दुवै क्षेत्रमा दख्खल राख्ने थोरै प्रख्यात राजनेताहरूमा पर्छन् । तर एउटा राजनीतिज्ञ भएर पनि बिपी कसरी सफल साहित्यकार बन्न सके त भन्ने कुरा अझ बढी रोचक छ किनकी राजनीति सम्भावनाको कला (‘आर्ट अफ पोसिबिलिटिज्’) र साहित्यलाई अर्काको मन छुएर राजी गराउने कला (‘आर्ट अफ पर्सुएसन’) भनेर भनिन्छ । यो भन्दा पनि महत्वपूर्ण कुरा के भने विश्वका प्रख्यात राजनीतिज्ञहरूले अक्सर आफ्नो साहित्यलाई राजनीतिको सिढीमा चढ्ने माध्यमका रूपमा सदुपयोग गरेको देखिन्छ ।

बिपी मात्रै विरलै यस्ता नेता हुन जसले राजनीति र साहित्यलाई अलग अलग राखेर अगाडि लान सके मानौकि फ्रान्सेली भाषा र अंग्रेजी दुवैमा पोख्त भएको दोभासेले फ्रान्सेली बोल्दा अंग्रेजीको र अंग्रेजी बोल्दा फ्रान्सेली भाषाको रत्तिभर पनि छन्क नदेखाएको जस्तो किनकी उनक साहित्यमा राजनीतिक लेखन (अर्थात ’पोलिटिकल फिक्सन’) को कुनै छन्क देखिँदैन । नेपालको समाज अहिले पनि खुला छैन भने ६०–७० वर्ष पहिले नै यौनको मनोवैज्ञानिक विधा रोजेका बिपीलाई उनका उपन्यास पढ्ने समकालीन साहित्यकारहरूले या त बिपीलाई समयलाई टक्कर दिने सशक्त लेखकका रूपमा लिन्थे या त उनलाई साहित्य कम तर छाडा र उत्ताउलोपन बढी भएको लेखक भनेर आरोप लगाउँथे ।

कर्नेलको घोडा भन्ने कथामा ४५ वर्षको कर्नेलसँग बिहे गरेकी १९ वर्षीया केटी कर्नेलबाट सन्तुष्ट नभएर कर्नेलको घोडासँग आकर्षित भएको मनोवैज्ञानिक विश्लेषणले बिपीलाई समकालीन साहित्यकारभन्दा भिन्न रूपले उभ्याउँछ । उसो त अश्लिलता र कलाबीचको भिन्नताका बारेमा अमेरिकी सर्वोच्च अदालतका न्यायाधीश पोटर स्टेवार्डले दिएको फैसलाको निम्न अंश विश्वभरी प्रख्यात छ, ‘जब मैले देख्छु, त्यतिखेर थाहा पाउँछु ।’ यौनको सामाजिक बहस लाई निषेध गरिएको हाम्रो समाजमा कथाको विषय वस्तु र शब्दको संयोजनले सजिलै धेरैलाई स्विकार्य हुने कथा वा उपन्यास जन्माउन सक्ने खुबी राख्ने बिपी वास्तवमै साहित्यमा अराजकवादी नभएर प्रगतिशील हुन भन्नु वस्तुनिष्ठ विश्लेषण ठहरिन्छ ।

अब प्रश्न उठ्छ –‘ बिपीले किन यौन मनोवैज्ञानिक विधा नै रोजे त ?’ एउटा कारण बिपीले नेपाली साहित्यमा नयाँ विधा प्रवेश गराउने अठोट गर्नु। दोर्सो, आफूभित्र दबिएर रहेको उत्कण्ठा वा द्वन्दात्मक मनोवृतिलाई कथा र उपन्यासमा ढालेर मन हल्का पार्नु । बिपीको जीवनी लेख्ने भोला चटर्जीलाई बिपीले भनेका छन्–‘मान्छे भित्र दुई प्रमुख द्वन्दहरू चलिरहेका हुन्छन् । एउटा बिद्रोही पाटो अर्को सामाजिक पाटो ।’ तसर्थ, बिपीले सामाजिक पाटोलाई राजनीति र विद्रोही पाटोलाई साहित्यमा प्रयोग गरेका देखिन्छन्।

तेस्रो, उनले पढेका भारतीय र अन्तर्राष्ट्रिय साहित्यको प्रभावका कारण बिपीले आफ्नो साहित्यमा मनोवैज्ञानिक विश्लेषण प्रयोग गरेका देखिन्छन् । रुसी अन्टोन चेकोभ, भारतीय प्रेम चन्द, फ्रान्सेली भिक्टोर ह्युगो र अस्ट्रियन सिग्मण्ड आदिले बिपीको साहित्यिक लेखाइलाई प्रभाव पारेको देखिन्छन् ।

वाद र दर्शन बारे चर्चा गर्दा कुनै पनि वाद अन्तिम सत्य हुँदैन भने हरेक वाद समय अनुसार गतिशील हुन्छ । दुनीया ‘रोबोटिक साइन्स, ब्लक चेन, आर्टि्फिसियल इन्टेलिजेन्स’ आदीको युगमा प्रबेश गरेको भए पनि खुशी, सुख र लामो आयु आदी कुराको बहसमा भौतीकवाद र अध्यात्मवादबीच अहिले पनि द्वन्द चलिरहेको छ । ‘स्पृच्युअल हेल्थ’, ‘मेन्टल हेल्थ’ र फिजिकल् हेल्थ’ तीनवटैको संयोजन नभए मान्छेको स्वास्थ्य सन्तुलित नहुने भने धेरै पैसा र भौतिक साधन भएर मात्रै सुख प्राप्त नहुने कुराको यहसास जापानलगायतका देशमा बढ्दै गएको आत्महत्याका घटनाले देखाउँछन् ।

माक्र्सवादलाई सबै वादको जननी मानिन्छ तर पुँजीवाद नभएको भए माक्र्सवाद जन्मिने थिएन र त्यही पँुजीवादले कालान्तरमा माक्र्सवाद एउटा परिकल्पना मात्र हो भन्ने साबित गरिदियो । तर माक्र्सवाद विश्वमा हजारौँ वर्षसम्म पनि ठूलो दर्शनका रूपमा रहिरहने छ । तर सान्दर्भिकताको कुरा गर्दा दुनिँयामा पूर्ण साम्यवाद वा पूर्ण पुँजीवादको कल्पनासम्म गर्न सकिँदैन । यी दुवै काल्पनिक र प्राप्तै गर्न नसकिने ‘युटोपिया’ वाद हुन् । त्यही भएर बिपीको यी दुई बिचको समाजवादको बाटो रोज्नुपर्छ भन्ने कुरा अहिले पनि सान्दर्भिक हुन्छ ।

निजी क्षेत्र र बजार विनाको अर्थतन्त्र (पूर्ण राज्यले चलाउने अर्थतन्त्र) वा पूर्ण रूपमा निजी क्षेत्र वा बजारले चलाउने अर्थतन्त्र दुबै मानव विकासका लागि तगारो हुन् । पूँजीवादी देशहरूमा विद्यमान गरिबी, असमानता र खस्किँदो पर्यावरण तथा पूर्ण राज्य केन्द्रित पूर्व सोभियत संघको अर्थतन्त्रको असफलताले राज्य पनि फेल हुने र बजार पनि फेल हुने भएकाले बीचको बाटो आवश्यक भएको देखिन्छ ।

अर्को कुरा, राष्ट्रियता भूगोल नभएर भाबना हो भन्ने बिपीको दर्शन सायद हाम्रो संघियतालाई व्याख्या गर्न सघाउँछ भने विकास गर्दा सधैँ मानिसलाई केन्द्र बिन्दुमा राख्नुपर्छ भन्ने बिपीको दर्शन अहिले संयुक्त राष्ट्र संघ र अरू संस्थाले अवलम्बन गरेको ‘मानव विकास’ को वादसँग मेल खान्छ । बिपीको राजनीतिक चिन्तन र सिद्धान्तका बारेमा चर्चा गर्दा बिपीलाई के मन पथ्र्यो वा के मन पर्दैनथ्यो भन्ने चर्चा गर्नु सान्दर्भिक ठहरिन्छ ।

बिपी ‘कम्युनिजम’ (साम्यवाद) का जननी मानिने माक्र्स र लेनिनदेखि अति प्रभावित थिए भने उनका धेरै नजिकका साथीहरू भारतीय वामपन्थी आन्दोलनमा थिए तर उनलाई नेपाली कम्युनिस्टहरू भने खासै मन पर्दैनथे । बिपी माहात्मा गान्धीदेखि धेरै प्रभावित थिए, तर गान्धीको केबल गाउलाई मात्रै केिन्द्रत गर्ने र पुँजी विकासलाई खासै नहेर्ने नीतिसँग बिपीको सहमति थिएन । धेरैले बिपीले त्यो वेला भनेको ‘एउटा गाई, एउटा घर, केटाकेटीलाई स्कुल आदिको कुरा’ पुरानो भइसक्यो भन्छन् ।

पक्कै पनि बिपी अहिले जीवितै भए सबैको आवास, सर्व–सुलभ र गुण–स्तरीय शीक्षा र स्वास्थ्य, विदेशमा न गएर स्वदेश मै रोजगारी, नेपालको कृषि क्षेत्रको आधुनिकीकरण र बजार व्यवस्थापन अनि भारतका मोदीले भन्ने गरेको ‘हाइवे, रेलवे, बिजुली, र सूचना प्रविधिको ’कनेक्टिभिटी’ को कुरा बिपीले पहिले नै गरिसकेका हुन्थे । बिपीलाई नेपालको गरिब र धनी, पूर्व र पश्चिम अनी कथित उच्च र निम्न जातको असमानताले समेत घोच्थ्यो होला ।

प्रतिक्रिया