अबको गन्तव्य मौलिक समाजवादः प्रचण्ड

इलाम । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा आफ्नै मौलिकताअनुसारको नयाँ मोडेलको समाजवाद स्थापित हुने बताएका छन् । संविधानमा उल्लेख गरिएको समाजवाद उन्मुख मुलुकलाई मूर्त रूप दिन पार्टी एकता गरेका उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अबको गन्तव्य समाजवाद मात्र भएको दावी गरे ।

नेकपा इलामको आयोजनामा शुक्रबार सदरमकाममा सुर भएको दुईदिने बृहत् कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले समाजवाद निर्माण गर्ने पार्टीको रूपमा नेकपालाई विश्वमा स्थापित गर्ने विश्वास व्यक्त गरे । ‘हाीले समाजवादको नयाँ अध्याय सुरु गर्ने प्रतिज्ञा गरेका छौंँ’ अध्यक्ष प्रचण्डले भने, ‘हामी विश्वमा नयाँ मोडल स्थापित गरेरै छाड्नेछौँ ।’ नेपालको आफ्नै मौलिकतामा समाजवादको जग तयार पार्न आफूहरूको एकता सफल भएको र त्यसलाई सफल बनाउन थप एकता, थप सुदृढ पहल जरुरी रहेको बताए ।

नेता र नेतृत्वमा फरक क्षमता र दृढता हुनुपर्ने भन्दै सोही अन्तर्गत एमाले र माओवादीको एकता भएको प्रस्ट्याए । पार्टी एकताको प्रयास मदन भण्डारी जिवित रहँदैदेखि सुरु भए पनि केपी ओलीको नेतृत्वमा सफल भएका दाबी गरे । ‘पार्टी एकतासम्बन्धी वार्ताका लागि आयोजना, मिति र स्थानसमेत तय भइसकेको थियो । तर उहाँको दासढुंगा दुर्घटनामा परेर निधन भएपछि’ अध्यक्ष दहालले भने, ‘त्यसपछिको लागातारको प्रयास संविधान निर्माणपछि सफल भएको छ ।’

जबज कसैको पेवा होइन
पार्टीभित्र देखिएको वैचारिक मतभेदको सन्दर्भमा अध्यक्ष दहालले सबै नेता कार्यकर्ताको स्वर एउटै हुनुपर्नेमा जोड दिए । उनले जनताको बहुदलीय जनवादलाई कसैको पेवा नबनाउन चेतावनीसमेत दिए ।

‘कसैले जनताको बहुदलीय जनवाद, कसैले एक्काइसौँ शताब्दीको जनवाद भन्ने हो भने एकतामा संकट सिर्जना हुन्छ’ अध्यक्ष दाहालले भने, ‘महाधिवेशनसम्मका लागि हाम्रो पार्टीको विचार समाजवादउन्मुख जनताको जनवाद हो । महाधिवेशनमा सबै विषयमा छलफल हुन्छ । त्यहीँबाट टुंगिन्छ ।’ दुवै विचारको ऐतिहासिक महत्व रहेकाले सम्मान गरिएको उल्लेख गरे ।

गुटको अन्त्य गर्न निर्देशन
अध्यक्ष प्रचण्डले पार्टी एकतालाई सफल बनाउन र समाजवाद स्थापित गर्न पार्टीमा सबैखाले गुटबन्दीको अन्त्य गर्न नेता तथा कार्यकर्ताहरूर्ला निर्देशन दिएका छन् । गुटबन्दीले फाइदा नगर्ने बताउँदै प्रचण्डले पार्टीमा अनुशासन कायम गर्न निर्देशन दिए ।

‘गुटबन्दीले पार्टीलाई भित्रभित्रै खोक्रो र कमजोर बनाउँछ । तसर्थ गुटको अन्त्य हुनुपर्छ’ अध्यक्ष प्रचण्डले निर्देशन दिँदै भने, ‘गुट अन्त्यको प्रक्रिया प्रदेश र जिल्लाबाट थाल्नुहोस् ।’

निराश नहुन आग्रह
अध्यक्ष प्रचण्डले संघ, प्रदेश र स्थानीय तहमा समेत नेकपाको ठूलो जनमतसहितको सरकारले केही गर्न सकेन भनेर निराश नहुन पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् । ‘३ महिनामा एकता सक्ने भनिएकोमा झण्डै १५ महिना लाग्यो । पार्टीको संरचना निर्माण नभएकाले समस्या भएको हो’ अध्यक्ष प्रचण्डले भने, ‘अब एकता सकिएको छ । सरकारको निगरानी पनि पार्टीले गर्छ । यत्रो जनमत भएको पार्टीले नेपाली जनताको अपेक्षाअनुसार नै काम गर्छ ।’

समृद्धिको यात्रालाई सकैले राक्न सक्दैनः खनाल
यस्तै वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टी एकताको प्रक्रियाले पूर्णता नपाएको कारण सरकारले अपेक्षाअनुसार काम गर्न नसकेको बताएका छन् ।

दुई कम्युनिस्ट पार्टी एकताका सन्दर्भमा जटिल परिस्थितिमा पनि १५ महिनाको अथक प्रयासपछि एकता सफल भएको भन्दै अब कामले गति लिने दाबी गरे ।

उनले पार्टी कमिटीमा केही समस्या देखिए पनि त्यसलाई चाँडै निकास दिएर ‘समृद्ध नेपाल सुखी नेपाली’ को नारालाई सार्थक तुल्याउन नेकपा नेतृत्वको सरकार जोडतोडले अघि बढेको दाबी गरे ।

नेपालको पराराष्ट्र नीति कमजोर नभएको उल्लेख गर्दै नेता खनालले असंलग्न परराष्ट्र नीति अपनाउँदै आएकाले विश्वका सबै देशसँग सम्बन्ध विस्तारमा नेपाल पछि नपर्ने बताए ।

नेपालको संविधान निर्माणसँगै सामन्तवादको अन्त्य भएको दाबी गर्दै नेता खनालले अब समृद्धिको यात्रालाई कसैले रोक्न नसक्ने दाबी गरे ।

अब राजनीतिक आन्दोलन आवश्यक छैनः नेम्बाङ
पुर्व सभामुख सुवासचन्द्र नेम्बाङले अब नेपालमा राजनीतिक आन्दोलनको आवश्यकता नभएको बताएका छन् । नेपालको सबै आन्दोलनलाई संविधानले समेटेको दाबी गर्दै नेम्बाङले फेरि पनि अधिकारका नाममा आन्दोलन गरिरहनुको औचित्य नभएको बताए ।
‘सबै आन्दोलनलाई समेटेर समावेशी संविधान बनाएका छौ । अहिले त्यही संविधान कार्यान्वयन गरिरहेका छाैँ’ नेम्बाङले भने, ‘सबैले अधिकार पाइसकेपछि अब नेपालमा कुनै आन्दोलनको आवश्यकता छैन ।’

नेम्बाङले अहिलेको संविधान विश्वकै उत्कृष्ट भएको दाबी गर्दै यो संविधानको विकल्प नभएको दाबी गरे । संविधानप्रति असन्तुष्ट दल र समुदायप्रति लक्षित गर्दै नेम्बाङले भने, ‘समावेशी संविधानसभाले बनाएको संविधान अहिलेसम्मकै समावेशी छ । यहाँ सबैको माग र अधिकार समेटिएको छ । यसको विकल्प खोज्नु मुर्खता हो ।’

शुक्रबारसम्म सञ्चालन हुने प्रशिक्षणमा जिल्ला, स्थानीय तह, वडा, जनसंगठन, विभागका गरी पाँच सय बढी नेता कार्यकर्ताको सहभागिता छ ।

प्रतिक्रिया