रामपुरको पर्यटकीय ‘घट्टार क्षेत्र’ओझेलमा

बेझाड । कालीगण्डकीको तटमा रहेको पाल्पा रामपुर नगरपालिका–३ को पर्यटकीय तथा ऐतिहासिक घट्टार क्षेत्र भौतिक पूर्वाधार विकासको कमी तथा प्रचारप्रसार नहुँदा ओझेलमा परेको छ । समथर मैदानमा रहेको घट्टार क्षेत्रलाई उत्तर–पश्चिम कालीगण्डकी र पूर्व–दक्षिण भाग निस्दीखोलाले घेरेको छ । करीब एक हजार २०० रोपनी क्षेत्रफलमा फैलिएको यो क्षेत्र बाइसे र चौबिसे राज्यका बेला राजाहरुले राजकाज गरेको भन्ने इतिहाससँग जोडिएको छ ।

बाइसे र चौबिसे राजाको पालामा लडाईँ हुँदा घटना घटेको हुनाले यस ठाउँको नाम ‘घट्टार’ रहन गएको ६५ वर्षीय ज्येष्ठ नागरिक ताराप्रसाद बोटे बताउँछन् । ‘बाइसे र चौबिसे राज्यका पालामा यहीँ आएर राजकाज गर्ने र आफ्ना विपक्षीसँग लडाईं लडेकाले यो क्षेत्रलाई घट्टार क्षेत्रका नामले चिनिन्छ, गोली, पुराना सिक्कालगायतका विभिन्न वस्तु माटो उत्खनन्का बेला भेटिने गर्छ’, उनले भने ।

पहिलापहिला यहाँ थाना नै निर्माण गरेर लामो समयसम्म राजकाज गरेको उनको भनाइ छ । यो क्षेत्रलाई आङ्गिक क्याम्पस स्थापना गर्ने विषयमा पनि विषय विज्ञसहितको टोलीले अध्ययन अनुसन्धानसमेत गरिसकेको रामपुर नगरपालिकाका कार्यपालिका सदस्य देवबहादुर दर्जीले बताए ।

‘भौगोलिक भू–बनोटले मिलेको यो क्षेत्र आङ्गिक क्याम्पसका लागि उपयुक्त रहेको छ, यसबारेमा नगरपालिकाले चासो दिइरहेको छ, स्थानीय, विषय विषेशज्ञ सरोकारवालाको समझदारीमा आङ्गिक क्याम्पस चलाउन सकिन्छ’, उनले भने । अहिले घट्टार क्षेत्रको रेखदेख र संरक्षणको जिम्मा स्थानीय मिलिजुली आमा समूहलाई दिइएको छ ।

समूहले रेखदेख गर्ने जिम्मेवारी पाएपछि पर्यटकीय ऐतिहासिक क्षेत्र घट्टारमा वनभोज जानेको चहलपहल बढेसँगै आमा समूहलाई आम्दानी गर्ने अवसर मिलेको छ । यहाँ खानेपानी, शौचालय, बिजुलीको सुविधा उपलब्ध गराएपछि वनभोज आउनेको ह्वात्तै आकर्षण बढेको छ । विशेषगरी नयाँ वर्ष, चाडपर्व, हिउँदयाममा यहाँ वनभोज आउनेको चाप बढ्दो पाइन्छ ।

यस घट्टार क्षेत्रमा वनभोज आउनेको सङ्ख्या बढ्दै जाँदा आमा समूहलाई आम्दानी गर्ने माध्यम बनेको सदस्य जुना बोटेले बताइन् । ‘वनभोजका निम्ति विभिन्न स्थानबाट संघसंस्था, व्यक्ति आउन थालेपछि स्थानीय महिलालाई काम गर्ने अवसर मिलेको छ, वनभोज खाने ठाउँ, भाँडा सरसफाइ गर्ने काम पाएपछि दुई चार पैसा कमाउने अवसर बनेको छ’, उनले भनिन् । स्थानीय आमा समूहले वातावरणलाई हराभरा बनाउन तथा आम्दानी लिने उद्देश्यले तीन वर्षअघिदेखि विभिन्न जातका घाँस लगाएको छ । यसले वातावरण हराभरा र आम्दानी गर्न राम्रो अवसर दिएको छ ।

प्रतिक्रिया