महाकवि सिद्धिदासको चर्चा

काठमाडौं । नेपाल भाषाका महाकवि सिद्धिदास महाजुको १५२औँ जन्मजयन्तीको अवसरमा उनको व्यक्तित्व र कृतित्वको बारेमा चर्चा गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान, साहित्य (मातृभाषा) विभागले आयोजना गरेको गोष्ठीमा महाजुले नेपालभाषाको साहित्यमा पु¥याएको योगदानको विभिन्न वक्ताले चर्चा गरे ।

महाकवि महाजुको कृतित्व र व्यक्तित्व विषयक कार्यपत्र प्रस्तुत गर्दै प्रा.डा ओमकारेश्वर श्रेष्ठले महाजुले दुःख र कष्ट सहन बाध्य हुँदाहँुदै ५० ओटा पुस्तक दिएर नेपाल भाषाको उत्थानका लागि ठूलो गुन लगाउने काम गरेको बताए । ‘रोजीरोटीका लागि मजदुरी गर्दै आफ्नो मातृभाषाको विकासमा आफँै खर्च गरेर पुस्तक प्रकाशन गर्नु निकै गाह्रो विषय हो,’ उनले भने, ‘उहाँको योगदानको जति वयान गरे पनि कम हुन जान्छ ।’

सिद्धिदासले विसं १९६३ देखि १९७१ सम्म पण्डित चक्रपाणि चालिसेसँग संगत भएपछि चालिसेबाटै छन्द लेख्न सिकेको उनले बताए । डा श्रेष्ठले नेपाली भाषामा मोतीराम भट्टले अघि बढाएको विधालाई सिद्धिदासले नेपाल भाषाबाट चरमोत्कर्षमा पु¥याएको धारणा व्यक्त गरे । ‘उहाँका विचार पढ्दा उहाँ सुरुमा परम्परावादी देखिनुभयो’ उनले भने, ‘पछिल्लो चरणमा उहाँमा साहित्यिक व्यक्तित्व प्रचुर मात्रमा बढ्यो ।’

डा. श्रेष्ठका अनुसार समाजलाई बुझेर विचार व्यक्त गर्दा सिद्धिदास समाजभन्दा एक कदम अघि देखिएको छ । कार्यपत्रमाथि प्राध्यापक डा. प्रेमशान्ति तुलाधरले टिप्पणी गरे । ‘उहाँको योगदानलाई सधैँ सम्झिरहनुपर्ने छ”, तुलाधरले भने, ‘आफूमा भएको चेतना समाजलाई बाँड्दै नेपाल भाषा, साहित्य र संस्कृतिको प्रवद्र्धनमा उहाँको योगदान प्रशंसायोग्य छ ।’

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले प्रतिष्ठानले विभिन्न मातृभाषामा योगदान पु¥याएका श्रष्टाहरूको सम्झनामा निरन्तर कार्यक्रम गरिरहेको बताए । उनले भने, ‘एक समाजले अर्को समाजलाई बुझ्नको लागि मातृभाषाले धेरै सहयोग पु¥याइरहेको हुन्छ । बहुलताको अस्तित्वबाटै नेपाली समाज अघि बढेको छ ।’ उनले सिद्धिदासको जीवनीका बारेमा पनि थप जान्ने मौका मिलको बताए ।

कार्यक्रममा उपकुलपति जगमान गुरुङले मातृभाषामा योगदान दिएका साहित्यकारहरूकै कारण विभिन्न भाषाहरू लोप हुनबाट जोगिएको बताए । उनले साहित्यकारहरूलाई मृत्युपछि मात्रै नभएर बाँचुञ्जेल पनि उत्तिकै सम्मान र माया गर्नुपर्ने धारणा व्यक्त गरे । प्रतिष्ठानका सदस्य सचिव जगत्प्रसाद उपाध्यायले उच्च साधना गरेर करिब ५० ओटा कृति प्रकाशनमा ल्याउने महाजुलाई सम्झन पाउँदा आफूलाई खुसी लागेको बताए ।

विभागका प्रमुख लक्ष्मी मालीले नेपालमा बोलिने १२३ भाषाहरूको संरक्षण र विकासमा विभागले ध्यान केन्द्रित गरिरहेको जनाइन् । ‘सबै मातृभाषामा लेखिएका साहित्य सिर्जना हाम्रा सम्पत्ति हुन्,’ उनले भनिन्, ‘भाषा साहित्य र संस्कृति एक आपसमा अन्तर्सम्बन्धित पक्षहरू हुन् ।’ सिद्धिदासका सिद्धिरामायण, सत्यसती, सुखसागर (प्रेमसागर), सज्जन कण्ठाभरण, सत्यऋण, सरल श्रुतबोध, शारदा भजन, सुख दुःख, बिजुली, सगदोष, साधारण धर्म, सर्वभक्ति, सदां लिला, सज्जन हृदयाभरण, सतनीति, संवाद, सकतां, सनातम धर्म, समाचार, सर्वकर्म, सत्यमदन, शिवविलाशलगायतका कृति प्रकाशित छन् ।

प्रतिक्रिया