आत्महत्या गर्नेको संख्या डरलाग्दो

वुटवल । प्रहरीको तथ्यांक हेर्ने हो भने प्रदेश–५ मा आत्महत्या गर्नेको संख्या डरलाग्दो छ । प्रहरीकै तथ्यांकमा प्रदेश–५ मा औसतमा दैनिक चार जनाले आत्महत्या गर्ने गरेका छन् ।

प्रदेश प्रहरी कार्यालय दाङका अनुसार गतवर्ष १ हजार १ सय १८ जनाले आत्महत्या गरेका छन् । त्यसको अघिल्लो वर्ष १ हजार ९४ जनाले आत्महत्या गरेका थिए । गत आवमा ५ सय १७ जना महिला र ६ सय १ जना पुरुषले आत्महत्या गरेका थिए । महिलाको तुलनामा ८४ बढी पुरुषले आत्महत्या गर्ने गरेका छन् । बढ्दो महत्वकांक्षा र बदलिँदो जीवनशैलीले पनि आत्महत्या बढ्दै गएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरिक्षक धर्मराज भट्टराईले जानकारी दिए ।

कुन जिल्लामा कति ?
आत्महत्या गर्नेमध्ये झुन्डिने विकल्प रोज्ने धेरै छन् । प्रदेशमा गत वर्ष ७ सय ५६ जना झुन्डिएका थिए भने २ सय ९८ जनाले विष सेवन गरेर आत्महत्या गरेका छन् । त्यसैगरी आफैँ गोली हानेर दुई जनाले आत्महत्या गरेका छन् भने आगो लगाएर पाँच जनाले आत्महत्या गरेको तथ्यांक छ । गत वर्षमा रूपन्देहीमा २ सय २७ जनाले आत्महत्या गरेको प्रहरीको भनाइ छ । त्यसैगरी दाङमा २ सय १२, कपिलबस्तुमा १ सय ३०, पाल्पामा ९०, नवलपरासीमा ८६, बर्दियामा ८३, प्युठानमा ६८, रोल्पामा ५७, बाँकेमा ५५, गुल्मीमा ५५, अर्घाखाँचीमा ४५ र पूर्वी रुकुममा १० जनाले आत्महत्या गरेको प्रहरीले बताएको छ ।

के भन्छन् मनोचिकित्सक
मानिसमा छिटो प्रगति गर्ने चाहान, आकांक्षा, एक्लोपनजस्ता कारणले डिप्रेसनमा पुगेकाहरू नै आत्महत्याको निर्णयमा पुग्ने गरेको मनोचिकित्सकहरू बताउँछन् । मनोरोग विशेषज्ञ डा. विक्रम काफ्ले ९० प्रतिशत डिप्रेसनकै कारण मानिसले आत्महत्या गर्ने गरेको बताए । ‘विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा हरेक तीन सेकेन्डमा एक आत्महत्याको प्रयास र ४० सेकेन्डमा १ को मृत्यु हुने गरेको छ भने २०७५-७६ को तथ्यांक हेर्ने हो भने नेपालमा दैनिक १४ देखि १६ जनाले आत्महत्या गर्ने गरेका छन् । यो सबै कारण डिप्रेसनमा परेरै हो,’ उनले भने । उनले डिप्रेसनमा पर्नुअघि डिप्रेसन भए नभएको पहिचान गर्नुपर्ने बताए ।

यसो गरेमा मात्र आत्महत्या काम हुने उनको भनाइ छ । ‘मानिस डिप्रेसनमा पर्नु पनि धेरै कारण हुन्छन् । आर्थिक रूपमा सम्पन्न नभएकोमा खिन्नता हुनु, घरेलु हिंसा, एक्लोपनजस्ता कारणले पनि डिप्रेसनमा जान्छ । त्यसैले हामीले यसको पहिचान गर्न सक्नुपर्छ, त्यो वेला ऊसँग बोल्ने, हाँस्ने गर्नुपर्छ’, उनले भने । त्यसबाहेक डिप्रेसनको पहिचान गरी मनोपरामर्शदाता कहाँ लैजाने र सचेतनामस्ूलक कार्यक्रम गरेमा पनि आत्महत्या कम हुने उनले बताए ।

नयाँ आव सुरु भए यता प्रदेशमा आत्महत्या गर्नेको संख्यमा झन् बढ्दै गएको छ । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको तथ्यांक अनुसार गत साउनमा ७८ जनाले आत्महत्या गरिसकेका छन् । भने भदौ २० सम्म ४८ जनाले आत्महत्या गरेका छन् । त्यस्तै सवारी दुर्घटनाबाट प्रदेश–५ मा साउनमा २४ जना र भदौ २० सम्ममा १२ जनाको मृत्यु भएको छ । यसरी सवारी दुर्घटनासँग आत्महत्याको संख्या तुलना गर्दा सवारी दुर्घटनाबाट भन्दा आत्महत्याबाट लगभग तीन गुणा बढी मानिस मर्ने गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालय प्रदेश–५ का सूचना अधिकारी नारायण अर्यालले बताए ।

प्रतिक्रिया