बालसाहित्य विमर्श

काठमाडौं । बालसाहित्यलाई विस्तार गरी साहित्यलाई बालबालिकाको पहुँचमा पु¥याउने लक्ष्यका साथ विचार गोष्ठी गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान, बालसाहित्य तथा लोकवार्ता विभागले बालसाहित्यसम्बन्धी आयोजना गरेको विचार गोष्ठीको अवसर पारेर अर्धवार्षिक पत्रिका ‘बालप्रज्ञा’ र ‘प्रज्ञा नेपाली बालकथा’ सार्वजनिक गरियो ।

‘बालसाहित्यका लागि अपेक्षित भाषा, विषय र बिम्ब छनोट’ विषयक उक्त गोष्ठीमा बोल्दै प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले यसअघि नेपाल प्रज्ञा प्रतिष्ठानबाट बालसाहित्यका क्षेत्रमा त्यति ध्यान दिन नसकेको बताए । उनले पहिले ध्यान दिन नसकेको महसुस गरेर यसपटकको प्राज्ञपरिषद्ले बालसाहित्यप्रधान पत्रिका ‘बालप्रज्ञा’ प्रकाशन गर्ने निर्णय गरेको जिकिर गरे । कुलपति उप्रेतीले बालसाहित्यको विकासका लागि ‘बालप्रज्ञा’ को भूमिका महत्वपूर्ण हुने बताए । उनले भने, ‘अबका दिनमा बालसाहित्यलाई प्राथमिकतामा राखेरै योजनाहरू बनाइने छ ।’

प्रज्ञा–प्रतिष्ठानका पूर्व उपकुलपति एवं समालोचक प्रा.डा. वासुदेव त्रिपाठीले बालसाहित्य लेखनमा भाषा मानकीकरणको आवश्यकताको महसुस गरी आयोजना गरिएको गोष्ठी सार्थक भएको विचार धारणा राखे । उनले प्रज्ञा–प्रतिष्ठान स्थापना भएको ६२ वर्षपछि पहिलो पटक बालसाहित्यमा भाषा मानकीकरणका लागि बहस सुरु गरेकोमा प्रसन्नता व्यक्त गरे । उनले भने, ‘बालबालिका मुलुकका कर्णधार भएकाले बालसाहित्य लेखक संवेदनशील हुनुपर्दछ ।’

कार्यक्रममा सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायले ‘बालसाहित्यका लागि अपेक्षित भाषा, विषय र बिम्ब छनोट’ विषयक गोष्ठी उपलब्धिमूलक भएको बताए । उनले आगामी दिनमा यसक्षेत्रमा प्रज्ञा–प्रतिष्ठानले अझै प्रभावकारी काम गर्ने जिकिर गरे । कार्यक्रमका संयोजक एवं बालसाहित्य तथा लोकवार्ता विभागका प्रमुख प्राज्ञ डा. देवी नेपालले आफ्नो विभागले बालसाहित्यका क्षेत्रमा नयाँ र ऐतिहासिक महत्वका योजना बनाएर कार्यान्वयन प्रारम्भ गरेको सुर्ना । उनले दार्जिलिङदेखि बर्मासम्मका नेपाली लोकवार्ताहरूको संकलन गरी प्रकाशन गरिने योजना रहेको जानकारी दिए ।

त्यस्तै, प्रा.डा. ऋषिराम शर्माले ‘बालसाहित्यका लागि अपेक्षित भाषा, विषय र बिम्ब छनोट’ विषयमा विचारपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा डा. रामप्रसाद ज्ञवालीले ‘बालप्रज्ञा’ र बालकथाका सम्पादक रामदेव पाण्डेले पुस्तकमाथि परिचर्चा गरे । बालकथामा १ सय १ बालकथाकारका कथा समाविष्ट गरिएका छन् । कार्यक्रम ‘बालप्रज्ञा’ का कार्यकारी सम्पादक प्रा.डा. धु्रव घिमिरेले बालसाहित्यले पठनसंस्कृति विकासमा महत्वपूर्ण भूमिका खेल्ने भनाई व्यक्त गरे ।

प्रतिक्रिया