लोकतन्त्रमा हुलतन्त्रको प्रभावकारिता

आजको विश्वमा हुलतन्त्रले कतिपय अवस्थामा लोकतान्त्रिक समूहलाई सचेतात्मक अवस्थामा रहनको लागि सकारात्मक नतिजा दिन सक्षम रहँदै आएको तथ्यहरूले औँल्याएको पाइन्छ । लोकतान्त्रिक समूहले आफ्नो राजनीतिक वर्चश्व कायम राख्न आफूनिकटका समूहलाई हुलतन्त्रका नाममा गलत लोकतान्त्रिक अभ्यासलाई समेट्दै आएको देखिन्छ 

लोकतान्त्रिक राज्यमा आफ्नो विचारहरू स्वतन्त्र रूपमा मुखरित गर्न पाइन्छ । यो नै आधुनीक लोकतन्त्रको महानत्तम विशेषता हो । यसै मुलभूत तथ्यका कारण विश्वजनतमा लोकतन्त्रले आफ्नो भिन्नै अस्तित्व एवं छवि निमार्ण गर्दै आएको तथ्यसँग हामी कोही पनि अनभिज्ञ रहेका सकेका छैनाँै । जसका कारण लोकतान्त्रिक कसीमा लोकतन्त्रले मौलाउने अवसर प्राप्त गरेको हो ।

यस पद्धतीय व्यवहारको विपरित अवस्थालाई केही हदसम्म हुलतन्त्रको नामाकरण गर्न सकिन्छ । जहाँ निःसन्देह लोकतन्त्रको आधारभूत मूल्य एवं मान्यतालाई क्रमश तिरस्कार गर्दै बहुसख्यक जमातद्वारा स्वघोषित एवं प्रतिपादित निर्देशनलाई समाजमा प्रतिस्थापन गराउने उद्देश्यले राज्यलाई दबाबमूलक अवस्थामा राख्ने प्रयास गरिन्छ ।

उक्त परिर्वर्तित परीस्थितीमा लोकतान्त्रिक अभ्यास भन्दा हुलतान्त्रिक अभ्यासले प्रधानता पाउने हुदा निःसन्देह समाजमा अराजकताको जन्म हुन्छ भन्दा त्यति फरक नपर्ला । जसका कारण राज्य सामु योजनावद्ध रूपमा उपस्थित मानव जमात वा सो सँग सम्बन्धित समूहद्वारा बलपूर्वक निर्देशनहरू लाद्ने चेष्टा हुन्छ भने, त्यस अवस्थालाई हुलतन्त्रको प्रमुख सैद्धान्तिक विशेषता मान्न सकिनेछ । प्रस्तुत अवस्थापश्चात् लोकतान्त्रिक बाहुल्यता क्रमबद्ध रूपमा कमजोर हुँदै जानेछ ।

यद्यपि, आजको विश्वमा हुलतन्त्रले कतिपय अवस्थामा लोकतान्त्रिक समूहलाई सचेतात्मक अवस्थामा रहनको लागि सकारात्मक नतिजा दिन सक्षम रहँदै आएको तथ्यहरूले औँल्याएको पाइन्छ । लोकतान्त्रिक समूहले आफ्नो राजनीतिक वर्चश्र्व कायम राख्न आफूनिकटका समूहलाई हुलतन्त्रका नाममा गलत लोकतान्त्रिक अभ्यासलाई समेटदै आएको देखिन्छ । राष्ट्रियता एवं देशभक्तिलाई आत्मसाथ गर्ने चाहना राख्ने हो भने केही हदसम्म हुलद्वारा निर्देशित सही तथ्यलाई मान्दा लोकतान्त्रिक प्रवृत्तिको विकासमा नौलो आयाम थपिने छ ।

जसले प्रजातान्त्रिक समूहलाई नागरिक समाजप्रति बफादार रहन अवश्य पनि सहयोगीको भूमिका निर्वाह गर्नेछ । हुलतन्त्रलाई जन धम्कीको रूपमा लिने चेष्टा गर्ने हो भने, प्रस्तुत कदम कहिलेकाहिँ लोकतन्त्रको लागि प्रत्योपादक सावित हुन सक्छ । तथापि जमातद्वारा स्वप्रफुल्लित निर्देशहरू कतिपय अवस्थामा लोकतन्त्रको आत्मा बन्न सक्नेछ ।

किनकि हुलद्वारा प्राप्त हुन आएको विचारलाई मनन नगर्ने परिपाटीको विकास भए सम्बद्ध मुलुकको लोकतन्त्रको जग हल्लिन सक्ने सम्मको खतरा रहन्छ । यदि राजनीतिक समूह एवं अराजक समूहको समिश्रण रही कार्य आरम्भ भए निश्चित रूपमा त्यहा† दीर्घकालीन समस्या आउन सक्छ । यस अवस्थापश्चात् तिनै समूह हुलतन्त्रमा रूपान्तरण हुने सम्भावनालाई इन्कार गर्न मिल्दैन ।

यस प्रकारका हुलतान्त्रिक व्यवहारलाई सम्बद्ध मुलुकको साक्षरताको प्रतिशतमा भएको अभिवृद्धि, शैक्षिक सुदृढीकरण, आर्थिक अवस्था एवं सकारात्मक राजनीतिक प्रतिफलबाट केही हदसम्म लोकतान्त्रिक विधिमा रूपान्तरण गर्नै नसकिने पनि होइन । विपरीत अवस्था सिर्जना भए नकारात्मक राजनीतिक परिवर्तनका दृष्टान्त देखिनेछ । जुन लोकतन्त्रको क्षेत्रमा सबैभन्दा लज्जापद क्षण हुन आउने छ ।

तत्पश्चातः  विशेष गरी राजनीतिमा दुई अवस्था तयार हुनेछ । प्रथमत ः सडकद्वारा निर्देशन दिँदै राज्य प्रणालीलाई हुलको निर्देश मान्न बाध्यकारी अवस्था सिर्जना गर्दै आफ्नो लक्ष्यमा सफलता हासिल गर्ने । द्रोश्रो अवस्था भनेको कानुनद्वारा बर्जित गरेका तथ्यलाई आत्मसाथ गर्दै राज्य संरचनाका अधिकाशं प्रणालीलाई क्रमश ध्वस्त पार्दै हुलतन्त्रका पक्षधरलाई सत्तामा विराजमान गराउन प्रयत्न गरिनेछ । प्रस्तुत अवस्थापश्चात् ः कानुन व्यवस्था कायम राख्न सम्बद्ध राज्यपक्षलाई निकै हम्मे—हम्मे पर्ने देखिन्छ ।

तसर्थः विश्व राजनीतिमा हुलतन्त्र पनि केही हदसम्म लोकतन्त्रको प्रक्रियागत विशेषता बन्न पुग्नेछ । यदि, कुनै एक्लो व्यक्तिबाट कुनै तथ्यपरक यथार्थलाई आधार मानी केही विषयमा उठान गर्छ भने निश्चित रूपमा सम्बद्ध राज्यको शासकिय स्वरूपले त्यसलाई नजरअन्दाज गर्नेछ, तर समूहगत रूपमा सोही तथ्यलाई राज्य समक्ष प्रस्तुत हुने हो भने, धेरै हदसम्म सकारात्मक नतिजा निस्कने कुरामा आशावादी बन्न सकिनेछ ।

जसलाई हुलतन्त्रको सैद्धान्तिक पृष्ठभूमि मान्दा फरक नपर्ला । विशेषगरी दक्षिण एसियालगायतका मुलुकहरू जहाँ अशिक्षाको दर अत्यधिकता रहेकोछ, त्यस क्षेत्रमा यस विधिले आफ्नो छुट्टै पहिचान बनाउन समक्ष रहेको छ भन्न सकिन्छ । सडकबाट निर्देशित असंवैधानिक गतिविधिहरू अन्ततः हुलतन्त्रका पक्ष पोषक तत्व हुन् । वास्तवमा भन्ने हाे, लोकतान्त्रिक राज्य व्यवस्थामा यस प्रकारका व्यवहारहरू त्यति उपयूक्त हुदैन । तसर्थ प्रजातान्त्रिक राज्य व्यवस्थाभित्र यस प्रकारका व्यवहारलाई क्रमश न्युनिकरण गर्ने प्रयत्न गरीनु पर्छ । कुनै हदसम्म न्यायीय लडाइँ प्राप्तिको लागि अवश्य पनि यसको तात्विक महत्व रहन सक्ला तथापि आदर्श लोकतन्त्रको सैैद्धान्तिक पृष्ठभूमि हुलतन्त्र होइन ।

प्रस्तुत व्यवहारले राज्यव्यवस्थामा अराजकताको जन्म हुन जान्छ । तत्पश्चात प्रहरीप्रशासन एवं स्थानीय प्रशासनहरू निष्क्रियजस्तै बन्न पुग्नेछन् । जसले गर्दा नागरिक समाजलाई विधिको शासन अन्त्य भएको भान पर्नेछ । यसको मुख्य उद्देश्य पनि वास्तवमा राज्य व्यवस्थामा खलल् पारी अराजकताको स्थिती तयार पार्नु नै हो । जसको प्रभावशालिताको प्रभाव स्वरूप तत्कालका लागि राज्यपक्षद्वारा हुल निर्देशित मागहरू पुरा गर्न त सकिएला तर यो नै राजनीतिको स्थायी समाधान भने अवश्य पनि होइन । यस प्रवृतिको विकासले राजनीतिको क्षेत्रमा अनुशासनको न्यूनता कायम रहन गई दीर्घकालीन अवस्थामा अस्वस्थ्य राजनीतिक धुव्रीकरणको डरलाग्दो स्वरूप निम्त्याउन सक्ने देखिन्छ ।

यसमा विशेषतः नागरिक समाज एवं प्रशासकीय संरचनामा भय उत्पन्न गर्ने चेष्टा गरिन्छ । जसका कारण नोकरशाहितन्त्रमा एक प्रकारको राजनीतिक मानसिक तनावजन्य अवस्थाको सिर्जना हुन्छ । किनकि, आज जुन भिडले निर्देशन गर्ने प्रयास गरेकोछ कथमकदाचित उक्त समूह राज्य व्यवस्थामा पदासिन हुन पुगेमा परिस्थितिको गम्भीरता उत्पन्न भई प्रशासनयन्त्रमा अन्योलता छाउने निश्चित छ । मुलतः भिडतन्त्रले यसै सैद्धान्तिक पृष्ठभूमिलाई आधार मानी आफ्नो कार्यक्षेत्रलाई क्रमबद्ध रूपमा अगाडि बढाउने प्रयास गरेको पाइन्छ ।

हुलतन्त्रका कारण कुनै प्रकारको असंवैधानिक गतिविधिहरू हावी भई मुलुकको अस्मितामाथि गम्भीर प्रश्न चिह्न खडा हुन गएमा राष्ट्र विभाजन सम्मको खतरालाई मध्यनजरमा राखी सावधानी अपनाउँदै कार्य गर्नुपर्ने हुन्छ । किनकि, क्रमिक रूपमा प्राप्त हुन आएका भिडका मागलाई पूरा गर्ने हो भने समस्या विकराल बन्ने निश्चित छ ।

तदुपरान्त लोकतन्त्रका आधारभूत मूल्य एवं मान्यताविपरीतका क्रियाकलापहरू मौलाउन जाने सम्भावना रहन्छ । जसले लोकतन्त्रलाई कमजोर बनाउने छ । लोकतन्त्र कमजोर हुनु भनेको अन्तत संवैधानिक गणतान्त्रिक राज्य व्यवस्थामाथि प्रहार गर्नु हो । यस प्रकारको व्यवहारहरू राज्यभित्र कायम रहने हो भने पश्वगमनको खतरा बढ्ने निश्चित छ । जसबाट प्राप्त राजनीतिक उपलब्धिलाई गुमाउनुपर्ने अवस्था सिर्जना हुनेछ । जुन मुलुक एवं जनताको लागि घातमय वातावरण हो ।

तसर्थः संवैधानिक गणतान्त्रिक मुलुकमा यसको कानुनको अधीनमा रही संयमित रूपमा कार्य गर्नु सच्चा राष्ट्रभक्ति हो । संविधानको भनेको मुलुकको मूल कानुन हो, यसैलाई आधार मानि ऐन कानुनको तर्जुमा गरी व्यवहारत कार्यान्वयनमा लाउने प्रयत्न गरिन्छ । तसर्थ मुलुकको हितलाई सर्वोपरी राखी आफ्नो निहित स्वार्थ भन्दा निकै माथि उठी कार्य गर्नु सर्वपक्षीय हितकर रहन्छ ।

होइन भने हुलतन्त्रको चक्रब्यूहमा फस्दा आगामी दिनमा मुलुक छिन्न भिन्न भई विश्व—मानचित्रमा नेपाल कहाँनिर थियो भनेर खुट्याउनुपर्ने अवस्था आउन सक्छ । अतः यस प्रकारका गलत मनसाययुक्त हुलतन्त्रको प्रभावकारीताबाट मुक्त रहँदै सभ्य समाजको परिकल्पनाले मात्र स्थायीत्व, समृद्धि र आर्थिक विकासको मार्ग चित्र कोर्न सम्भव रहन्छ ।

प्रतिक्रिया