सुनको मूल्य लगातार ओरालो

काठमाडौँ । दुई महीनादेखि लगातार उकालो लाग्दै गएको सुनको मूल्य पछिल्लो साता भने ओरालो लागेको छ । गत साताको शुक्रबारसम्म वृद्धि भइरहेको सुनको मूल्य आइतबारदेखि ओरालो लागिरहेको छ ।

शनिबार प्रतितोला रु ७२ हजारमा कारोवार भएको छापावाला सुन आइतबार प्रतितोला रु ५०० ले घटेर रु ७१ हजार ५०० पुगेको थियो । त्यस्तै मङ्गलबार सुनको मूल्य घटेर रु ७१ हजार पुगेको थियो । बुधबार भने सुनको मूल्य स्थिर रह्यो ।

आज पुनःसुनको मूल्यमा प्रतितोला रु २०० ले गिरावट आएको छ । बिहीबार छापावाला सुनको मूल्य प्रतितोला रु ७० हजार ८०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यसैगरी तेजाबी सुनको मूल्य पनि प्रतितोला रु २०० ले घटेको छ । तेजाबी सुनको मूल्य रु ७० हजार ५०० निर्धारण गरिएको महासंघले जनाएको छ । सुनको मूल्य घटेसँगै चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ । बुधबार प्रतितोला रु ८८० मा कारोवार भएको चाँदीको मूल्य रु पाँचले घटेर रु ८७५ पुगेको महासङ्घले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य ओरालो लागेको छ । विश्व बजारमा आज सुनको मूल्य प्रतिऔस एक हजार ५०२.४० अमेरिकी डलर रहेको छ । केहीअघि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔस एक हजार ५४० डलरसम्म पुगेको थियो । विश्व बजारमा सुनको मूल्यमा देखिएको गिरावटसँगै नेपाली बजारमा पनि मूल्य घटेको महासंघले जनाएको छ ।

प्रतिक्रिया