फिरौतीमा गृहमन्त्रीका भाइ पक्राउ

काठमाडौँ । दुई वर्षअघि राजधानीमा भएको एउटा हत्याकाण्डका मुख्य अभियुक्तसँग मिलेर फिरौती संकलनमा सक्रिय रहेको आरोपमा नरेश थापा पक्राउ परेका छन् । उनी गृहमन्त्री रामबहादुर थापाका साइँला भाइ हुन् ।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको २०७४ असोज २३ गते घरबाट कार्यालय जाँदै गर्दा शान्तिनगरमा गाडीभित्रै गोली प्रहार गरी हत्या गरिएको थियो । उक्त हत्याका मुख्य योजनाकार समीरमान बस्नेतलाई तीन महिनापछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले भारतबाट पक्रेर ल्याएको थियो । यिनै समीरसँग नरेशको सम्पर्क जोडिएको देखिएको प्रहरीको दाबी छ ।

पछिल्लो समय सुन्धारास्थित केन्द्रीय कारागारमा रहेका समीरले थुनाभित्रैबाट फिरौती संकलन तीव्र बनाएको सूचना पाएपछि सीआईबीले गत साउन अन्तिम साता उनका सहयोगीहरू पवन खड्का र सुरेन नगरकोटीलाई समातेको थियो । प्रहरी उच्च स्रोतका अनुसार, समीरले फिरौती संकलनमा खटाएका यी दुई व्यक्ति पक्राउ परेसँगै गृहमन्त्रीका भाइ नरेश अनुसन्धानमा तानिएका हुन् ।

पवन र सुरेन पक्राउपछि प्रहरीले उनीहरूको ‘कल डिटेल रेकर्ड’ समेत झिकाएर अनुसन्धान गरेको थियो । स्रोतका अनुसार, गृहमन्त्रीका भाइ नरेश र पवनबीच ‘मिलेर काम गर्नुपर्छ’ भन्ने आशयका सन्देश आदानप्रदान भएको देखिन्छ । अनुसन्धान अधिकारीले यो ‘मिलेर’ काम गर्नुलाई समीरकै योजनाअनुसार व्यापारी र व्यवसायीलाई धम्काएर फिरौती संकलन गर्नुको अर्थमा बुझेका छन् । सीआईबी स्रोतले ती अभियुक्तहरूसँग बारम्बार सम्पर्कमा रहेर बसेको भेटिएपछि नरेशलाई पक्राउ गर्नुपरेको उल्लेख गर्‍यो । कान्तिपुरमा समाचार छ ।

प्रतिक्रिया