पाँच किलोमिटरको भाडा १३० !

म्याग्दी । बेनीको महारानी थानदेखि बेनी नगरपालिका–४ डाँडाखेत जोड्ने सडकमा यातायात सेवा दिने व्यवसायीले मनोमानी भाडा असुल्ने गरेका छन् । बेनी नगरपालिका, जिल्ला प्रशासन र यातायात व्यवसायीका प्रतिनिधिको बैठकबाट तय भएको भन्दा बढी भाडा असुलेका हुन् ।

सो सडक आसपासका थाकनपोखरी, डाँडाबारी, छापा, फुर्केसल्ला, कुँडुले, डाँडाखेत, सिस्नेराका बासिन्दा व्यवसायीको मनोमानीबाट ठगिएका छन् । महारानी थानदेखि डाँडाखेत हुँदै ठूलोखोलासम्मको कृषि सडकको दुरी ११ किलोमिटर छ ।

बेनीदेखि डाँडाबारीसम्मको साढे दुई किलोमिटर, फुर्केसल्ला पाँच किलोमिटर र डाँडाखेत सिस्नेरा आठ किलोमिटर छ । सो सडकमा राजन बानिया र शंकर किसानले जीपमार्फत यातायात सेवा दिँदै आएका छन् । सो सडकमा प्रतिकिलोमिटर १५ का दरले भाडादर कायम भएको थियो तर उनीहरूले पाँच किलोमिटर दुरीको फुर्केसल्लासम्म यात्रा गरेको एक सय ३० लिने गरेका छन् ।

बेनी नगरपालिका–४ का वडाध्यक्ष गोविन्दप्रसाद पौडेलले बढी भाडा असुलेको गुनासोका बारेमा उपभोक्ताले लिखित उजुरी गरेको बताए । वडा अध्यक्ष पौडेलले बेनीदेखि डाँडाखेत जोड्ने सडकमा एक सय प्रतिव्यक्ति भाडा कायम भएकोमा आफैँलाई समेत व्यवसायीले एक सय ३० लिएको बताए । बेनी–दरवाङ सडकको बेनीदेखि ठूलोखोलासम्मको विकल्प मानिएको यो सडकबाट बेनी नगरपालिका ४, ५ र ६ का बासिन्दाले सेवा लिँदै आएका छन् ।

यस क्षेत्रमा दुई सयभन्दा बढी घरधुरीको बसोबास छ । पछिल्लो केही वर्षयता यो सडकलाई करोडौँ रकम खर्चेर स्तरोन्नति पनि गरिएको छ । यातायात व्यवसायी बानियाँले डिजेलको मूल्य बढेको र कच्ची सडक भएसँगै गाडीको इन्जिन बिग्रने, मर्मत खर्च बढी लाग्ने भएकाले आफूहरूले भाडा बढाएको प्रतिक्रिया दिए । गाडीमा नचढ्ने मोटरसाइकल भएकाले स्थानीयलाई आफूहरूका विरुद्ध उचालेको उनको भनाइ छ ।

म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले लिखितरूपमा तोकिएकोभन्दा बढी भाडा लिएको विषयमा उजुरी नआएको र त्यस्तो सूचना पाएमा कारवाही गरिने बताए । म्याग्दीका अन्य ग्रामीण सडकमा चल्ने सवारी साधनहरूले पनि मनोमानी हिसाबले तोकिएको भन्दा बढी भाडा असुल्ने गरेको जन गुनासो छ । म्याग्दी यातायात प्रालिका कार्यवाहक अध्यक्ष लालबहादुर थापाले सामान ढुवानी र घरायसी प्रयोजनको मात्र अनुमति लिएका निजी गाडीले यात्रु बोकेर मनोमानी भाडा असुल्ने गरेको र त्यसको अपजस आफूहरूले भोग्नुपरेको बताए ।

प्रतिक्रिया