फस्टाउँदै कौसी खेती : घरको छतमा लटरम्म तरकारी

म्याग्दी । जिल्ला सदरमुकाम बेनी बजारको इन्द्रणी टोलका प्रत्येक घरका छतमा घिरौला, टमाटर, साग, धनियाँ, लौका र खुर्सानी लटरम्मै फलेका छन । बढ्दो घर निर्माणसँगै बेनी बजारमा करेसाबारीका लागिसमेत जमिन नभएपछि स्थानीयवासीले घरको छतमा तरकारी खेती गर्न थालेका हुन् । बेनी नगरपालिका–७ इन्द्रेणी टोलकी पूर्ण राम्जालीलले पाँचतलामाथि डल्ले खुर्सानी फलाएकी हुन ।

बजारमा डल्ले खुर्सानीको मूल्य आकासिएको अवस्थामा घरमा आउने आफन्त र छिमेकीलाई उनले डल्ले खुर्सानी कोसेली दिएर पठाउँछिन । छतमा करिब ४१ वटा बोटबाट खुर्सानी टिपेकी राम्जालीले हङकङ र युकेमा रहेका परिवारका सदस्यलाई पठाउन बट्टामा समेत प्याक गरेकी छन्् । विगत डेढदशक नियमित कौसीखेती गर्दै आएकी उनलाई श्रीमान्ले समेत नियमित सघाउँछन् ।

करिब नौ फिटको छतमा फूलसँगै हावापानीका अनुसार उत्पादन हुने फर्सी, लौका, लसुन, धनियाँ, भिन्डी, बोडी, गोलभेँडालगायत विभिन्न थरीका तरकारी अटाएका छन्् । खुर्सानीसँगै विभिन्न प्रजातिका तरकारी खेतीको लहराले घर नै आर्कषक देखिएको छ । ‘कौसीखेतीले व्यस्त बनाएको छ, घरमा आवश्यक तरकारी किन्न वाहिर जानुपर्दैन’, राम्जालीले भनिन् । उनले सिजन अनुसारका तरकारी खेती गरेर बढी भएको तरकारी बजारमा बेच्नेसमेत गरेको बताइन् । गमला तथा थौलोमा माटो र मल तथा नियमित पानीको प्रयोगले खेतबारीमा जस्तै राम्रो फल दिने उनको भनाइ छ ।

पछिल्लो समय बजारमा डल्ले खुर्सानीप्रति केजी ४ सय सम्ममा बिक्री हुन थालेपछि पहिलोपटक कोशेली घरमा समेत बिक्री गरेको राजु राम्जालीले बताए । ज्यानमारा, रागे र अकबरे खुर्सानीमध्ये डल्लेको नियमित प्रयोगले ग्यास्ट्रिक तथा अल्सरजस्ता रोगको औषधिसमेत हुने भएकाले खेती गरेको उनले बताए । उनले, भने, ‘कौसीखेती अर्गानिक पनि हो, आफ्नै घरमा फलेको तरकारी स्वादिलो पनि हुन्छ ।’

श्रीमतीसँग दैनिक नियमित तरकारीको रेखदेख गर्दै आएका रामजालीले पाहुनालाई कोशेलीको रूपमा उपहार सहित दिने गरेको तथा होटलमा माग हुने कोरियनलगायत विभिन्न तरकारी घरबाटै बिक्री गर्ने गरेको बताए । अगामी वर्षदेखि होटलमा बिक्री गर्ने उनको योजना रहेको छ । जिल्लाको मंगला गाउँपालिका–१ कुहुँ घर भएका राम्जाली दम्पतीले गाउँबाट कम्पोस्ट मल ल्याएर प्रयोग गर्ने गरेका छन्् । राम्जालीको सिको गर्दै इन्द्रेणी टोलका अधिकांश घरमा कौसी बगैँचा छन्् । कौसी बगैँचालाई बेनी नगरपालिका–७ ले समेत अनुदान दिने गरेको छ ।

व्यक्तिगतरूपमै सामान्य लगानीमा सानो–ठूलो परिवारलाई पुग्ने तरकारी फलाउन सकिने भएकाले पनि कौसी खेतीलाई प्रोत्साहन गरिएको वडाध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले बताए । ‘कौसी खेतीले विषादीयुक्त तरकारीलाई निरुत्साहित गर्छ, कौसीखेतीबाटै तरकारीमा आत्मनिर्भर बन्न सकिन्छ’, उनले भने, ‘कौसीखेतीका लागि चालू आर्थिक वर्षमा डेढ लाख बजेट विनियोजन भएको छ ।’ अध्यक्ष श्रेष्ठका अनुसार उक्त बजेटमा गमला वितरण, निःशुल्क तालिम र प्राविधिक सहयोग दिने योजना रहेको छ । कौसीखेती मार्फत घरको फोहर घरमै व्यवस्थापन गर्न सकिने र तराईबाट आउने विषादीयुक्त तरकारी प्रयोग गर्न नपर्ने भएकाले पनि सम्भव भएसम्म घरको छत, कौसी र बरण्डालाई करेसाबारीको रूपमा उपयोग गर्न सकिने अध्यक्ष श्रेष्ठको भनाइ छ ।

बेनीमा कौसी खेती गरिए पनि प्रविधिको ज्ञान नहँुदा समस्या भइरहेको बजारवासीको भनाइ छ । बेनीमा बर्सेनि कराडौँको तरकारी आयात हुन्छ । कृषि ज्ञान केन्द्रका अनुसार प्लास्टिकको गमलामा समेत खेती गर्न सकिन्छ । करीब पाँच हजारको लगानीले पाँच वर्षसम्म नियमित तरकारी खेती गर्न सकिन्छ । गमलासहित केही आवश्यक सामानको खरीद गरी घरमै नर्सरीको स्थापना गरेमा लामो समयसम्म प्रयोग गर्न सकिने कृषिका जानकार बताउँछन्् । हरेक किसिमका तरकारीको पसलै पिच्छे फरक–फरक मूल्यले हैरान बजारवासीको कौसीखेतीमा आर्कषण बढेको छ । अहिले बेनी बजारका अधिकांश घरको छतमा गरिएको तरकारी खेतीले बजारमा आयातित तरकारीको मागसमेत कम भएको स्थानीय तरकारी व्यवसायीले बताए ।

प्रतिक्रिया