दिपेश र रत्नलाई सफलता

काठमाडौं । एपिएफका राष्ट्रिय च्याम्पियन दिपेश धामी र सेनाका रत्नजित तामाङले इटहरीमा मंगलबारदेखि सुरु भएको नवौँ संस्करणको योनेक्स सनराइज पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता जित निकालेका छन् । शीर्ष १६ वरीयताका खेलाडीबीचको पुरुष एकलको पहिलो खेलमा दिपेशले ‘ब’ समूहमा बाँकेका इरफान अन्सारीलाई २१–१४, २१–१४ ले पराजित गरे । अत्याधिक गर्मीका कारण खेलको दौरान असहज महसुस गरेका रत्नले समूह ‘ए’ मा कठिनताका साथ एपिएफका गौतम सिंह कठायतमाथि १९–२१, २१–९ र २१–१४ को जित निकाले ।

यस्तै उनले एपिएफका सुमन लिम्बुमाथि २१–१०, २१–१३ को जित निकाले । समूह ‘ए’ कै अर्को खेलमा पुलिसका जीवन आचार्यले एपिएफका गौतमसिंह कठायतलाई १५–२१, २१–१९ र २१–१४ ले पराजित गरे । समूह ‘बी’ को अर्को खेलमा सेनाका प्रफुल्ल महर्जनले बाँकेका ईरफान अन्सारीलाई २१–११, २१–१५ ले पराजित गरे । पुलिसका सुनील जोशीले एपिएफका बिजित थापामगरलाई २१–१६, २१–९ ले पराजित गरे ।

यस लिगबाट सेमिफाइनल प्रवेश गर्ने खेलाडीहरूको टुंगो बुधबार हुने प्रतिस्पर्धाबाट हुनेछ । उच्च वरीयताका १६ खेलाडीहरूलाई चार समूहमा विभाजन गरी लिगकम नकआउटका आधारमा प्रतिस्पर्धा गराईरहेको प्रतियोगिता रेफ्री उदय अर्यालले जानकारी गराए । समूह ‘ए’ मा पुलिसका जीवन आचार्यले एपिएफका सुमन लिम्बुलाई २१–१८, २४–२२ ले, समूह सीका भोजपुरका विकास श्रेष्ठले पुलिसका सुनिल जोशीलाई २१–१७, २१–१४ ले तथा समूह ‘डी’मा सेनाका रुकेश महर्जनले पुलिसका विष्णु कटुवालबाट रिटायर्ड हर्टका आधारमा जित निकाले ।

पहिलो सेटलाई २१–१९ ले आफ्नो पक्षमा पारेका विष्णुले दोस्रो सेटमा ७–१२ को अवस्थामा खेल परित्याग गरेका थिए । उनलाई खेलकै दौरान ज्वरो आएकाले खेल परित्याग गरेका थिए । इटहरी रंगशालाभित्र अत्याधिक गर्मी बढेका कारण खेलाडीहरूले असहज परिस्थितीकाबीच पनि आफ्नो खेल कौशलतालाई प्रस्तुत गर्दै प्रतिस्पर्धा गरिरहेका छन् ।

उच्च १६ बाहेककाबीच खेलाईएको पुरुष एकलमा सेनाका आयुष्मान नगरी, कैलालीका अमृत चौधरी, जेष्ट ब्याडमिन्टनका अनिष खतिवडा, बाँकेका रियाज अन्सारी, जाजरकोटका राजु भँडेल, ललितपुरका ससिन डंगोल र दैलेखका खगेन्द्रबहादुर सिंह आफ्ना प्रतिद्वन्द्वीलाई पाखा लगाउँदै दोस्रो चरण प्रवेश गरेका छन् । पहिलो चरणबाट दोस्रो चरण प्रवेश गर्ने अन्य खेलाडीहरूमा बुढासुब्बा ब्याडमिन्टन एकेडेमीका सुजन श्रेष्ठ, जाजरकोटका सिपी घर्तीमगर, एपिएफका प्रियान्सु सिंह क्षेत्री, जाजरकोटका नारायण भँडेल, पुलिसका गौरव दाहाल, काठमाडौंका प्रतीक अर्याल र एपिएफका ईन्द्रबहादुर महता छन् ।

यस्तै यु–१७ छात्रतर्फ खोटाङका अलिस दंगाल, कैलालीका जैबी साउद, सलकपुरका मुनाहाङ राई, कञ्चनपुरका हिमाल चन्द, बाँकेका शिव सुनार, दाङका सुरज गुप्ता, मोरङका आवाज ओडारी, सेनाका डेभिड थापामगर, ताप्लेजुङका मिलिङ गुरुङ, दाङका सफिक इद्रिसी, सप्तीका विनय चौधरी र सनिल चौधरी तथा खोटाङका कञ्चन श्रेष्ठ पहिलो चरण पार गर्दै दोस्रो चरणमा पुगेका छन् ।

प्रतिक्रिया