प्रियंकाको आमा बन्ने रहर

मुम्बई । प्रियंका चोपडा बलिउडदेखि हलिउडसम्म आफ्नो पहिचान बनाउन सफल अभिनेत्रीका रूपमा परिचित छन् ।

प्रियंकाले निक जोनससँग बिहे गरेको आगामी डिसेम्बर महिनामा एक वर्ष पुग्दैछ । वैवाहिक जीवन प्रारम्भ गरेको एक वर्ष पुग्नै लाग्दा प्रियंकाको गर्भवती बन्ने बारेमा विभिन्न जिज्ञासाहरू राख्न थालिएका छन् । यसबारेमा उनले आफू चाँडोभन्दा चाँडो आमा बन्न चाहेको बताएकी छन् ।

हुन त प्रियंकाका श्रीमान् निकले यसअघि नै धेरैपटक आफूलाई स–साना बालबालिका औधी मनपर्ने बताउँदै आएका छन् । उनले प्रियंकासँग आफूलाई बुवा बन्न मन लागेको समेत बताइसकेका छन् ।

आमा बन्ने बारेमा चारैतिरबाट दबाब आएपछि अहिले अभिनेत्री प्रियंकाले पनि मुख खोलेकी छन् । उनले एक अन्तर्वार्तामा आफू चाँडोभन्दा चाँडो नयाँ घर किन्न तथा आमा बन्न चाहेको बताएकी छन् । उनले भनिन्, ‘मेरो लागि घर त्यहाँ हुन्छ, जहाँ म खुसी हुन्छु र जहाँ मेरो वरपर मलाई माया गर्ने मेरा आफ्ना मान्छेहरू हुन्छन् ।’ त्यस्तै, प्रियंकाले चाँडोभन्दा चाँडो नयाँ घर किनेर त्यही घरमा आमा बन्नु उनको अबका महत्वपूर्ण कार्यहरू हुने बताएकी छन् । उनी भन्छिन्, ‘आमा बन्नु र नयाँ घर किन्नु मेरो लागि सबैभन्दा महत्वपूर्ण काम हुन् ।’

उनले यसबाहेक आफू लामो समयका लागि लस एञ्जलसमा बसोवास गर्न चाहेको उल्लेख गरेकी छन् । उनले भनिन्, ‘मेरो मुम्बई र न्युयोर्कमा घर छ, जुन बस्नका लागि निकै अफ्ठ्यारा ठाउँहरू हुन्, त्यसको तुलनामा लस एन्जलस निकै शान्त दिने खालको छ ।’

स्विमिङ पुल र पछाडि ठूलो आँगन भएको घर भएमा आफू निकै खुसी हुने उनले सुनाइन् । उनले भनिन्, ‘लस एञ्जलसको समुद्र तथा मौसमले मलाई मुम्बईको याद दिलाउँछ ।’

हलिउडमा समेत उत्तिकै व्यस्त प्रियंकाको पछिल्लो नयाँ चलचित्र ‘द स्काई इज पिंक’ अर्थात् ‘आकाश गुलाबी छ’ प्रदर्शनको तयारीमा छ ।

प्रतिक्रिया