गर्मीले दुई महिनामा १,५०० को मृत्यु

पेरिस । उखरमाउलो गर्मीका कारण फ्रान्समा गत जुलाईदेखि जुन महिनामा १,४३५ जनाले ज्यान गुमाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

फ्रेन्च रेडियोसँगको कुराकानीका क्रममा स्वास्थ्यमन्त्री यानएस बुएजाले मृत्यु हुनेमध्ये आधा ७५ वर्षभन्दा बढी उमेरमा व्यक्ति रहेको जानकारी दिइन्।

तर समयमै सावधानी अपनाइएका कारण सन् २००३ मा युरोपमा देखा परेको चरम गर्मीको तुलनामा मृत्युदर १० गुणा कम रहेको बुएजाले बताइन्।

गत जुनमा फ्रान्समा अहिलेसम्मकै सबैभन्दा उच्च तापमान ४६ डिग्री सेल्सियस रेकर्ड गरिएको थियो। जुलाईमा राजधानी पेरिसमा पनि तापमान ४२.६ डिग्री सेल्सियस पुगेको थियो।

स्वास्थ्य मन्त्रालयका अनुसार ५६७ जनाको जुन २४ देखि ७ जुलाईका बीचमा मृत्यु भएको थियो। थप ८६८ जनाको मृत्यु जुलाई २१ देखि २७ मा भएको बताइएको छ। १० जनाको मृत्यु कार्यस्थलमा भएको बताइएको छ।

गर्मी मौसमका बेला फ्रान्सका विभिन्न शहरमा रेड अलर्ट जारी गरिएको थियो। गर्मीबाट बच्न उक्त समयमा धेरै विद्यालय बन्द गर्नेदेखि लिएर सार्वजनिक सभा समारोहमा रोकसम्म लगाइएको थियो।

सर्वसाधारणको सुविधाका लागि ठूला पार्क र पौडी खेल्नका लागि निर्माण गरिएका पोखरी कतिपय शहरमा खुला राखिएको थियो। बिबिसी

प्रतिक्रिया