मौलिक चलचित्र बनाउनुपर्नेमा जोड

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले चलचित्र क्षेत्र संरक्षण र व्यवस्थित गर्ने गरी छिट्टै चलचित्र ऐन ल्याउने बताएका छन् ।

नेपाल चलचित्र कलाकार संघको ३२औँ स्थापना दिवसमा उनले अहिले चलचित्रले नेपाली मौलिकता तथा संस्कृतिलाई जगेर्ना गर्न नसकेका कारण दर्शकलाई आकर्षित गर्न नसकेको जिकिर गरे । उनले यस्तो अवस्थामा विविधता भित्र एकता र राष्ट्रियतालाई बलियो बनाउने विषयलाई प्राथमिकतामा राखेर चलचित्र ऐन ल्याइने जानकारी दिए ।

ऐन प्राविधिक कारणले अझै संसदमा पेश नगरिएको बताउँदै उनले भने, ‘केही भ्रमको सिर्जना गर्ने सञ्चार माध्यमले चलचित्र हलमा राष्ट्रिय गान बजाउन नपर्ने, बजेमा उठ्न नपर्ने सन्देश प्रवाह गरेका छन् । मिडियाले नकारात्मक सन्देश प्रवाह गर्नु राम्रो होइन, मुलुकको राष्ट्रगान बज्दा नउठने मानिस नेपाली हुनै सक्तैन ।’

मन्त्री बाँस्कोटाले देशको राष्ट्रियतालाई उचाइमा पु¥याउन कलाकार एकताबद्ध हुनुपर्ने बताए । उनले संघलाई भवन निर्माणका लागि जग्गा उपलब्ध गराउन प्रयत्न गर्ने प्रतिबद्धता जनाए । संघका अध्यक्ष रवीन्द्र खडका, अभिनेता निर शाह, आकाश अधिकारी, कृष्ण मल्ललगायतले चलचित्र ऐनमा कलाकारको हकहित तथा अधिकारलाई समेट्न सुझाव दिए ।

प्रतिक्रिया