पाटन ‘जीवित संग्रहालय’ मन्त्री भट्टराई

ललितपुर । विश्व हस्तकला नगरीको रूपमा परिचित ललितपुर ‘जीवित संग्रहालय’ भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले बताए छन् । उनले कला र संस्कृतिका रूपमा चिनिएको ललितपुरलाई सांस्कृतिक केन्द्रका रूपमा चित्रण गर्दै यसको संरक्षण र विकासमा राज्यले सहयोग गर्ने प्रतिबद्धता जनाए ।

मंगलबजारमा सोमबारदेखि सुरु भएको ४ दिने ‘सार्क हस्तकला प्रदर्शनी तथा कार्यशाला गोष्ठी’ को उद्घाटन गर्दै उनले ललितपुरसहित काठमाडौं उपत्यकाको कला र संस्कृतिले विश्वकै पर्यटकलाई आर्कषण गरिरहेको जिकिर गरे ।

मन्त्री भट्टराईले भने, ‘कला र संस्कृतिको धनी भएकाले पनि नेपालमा पर्यटन विकासको अधिक सम्भावना रहेको छ । कला र संस्कृतिको संरक्षण गरेर सरकारले मुलुकको समृद्धिमा योगदान दिन चाहेको छ ।’ संस्कृति बलियो बनाउन सकेमात्र देशको उन्नति हुन सक्ने बताउँदै उनले समाजलाई गतिशील र चलायमान बनाउन यसको विकासमा जोड दिनुपर्ने बताए ।

कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु मर्हजनले ललितपुर विश्वकै सम्पदाको नमुना सहर भएकाले यसको संरक्षणमा आफूहरू लागि परेको सुनाए । उनले भने, ‘कला र संस्कृतिको मूल थलोको रूपमा परिचित ललितपुरलाई त्यसकै माध्यमबाट समृद्ध बनाउने महागरको योजना रहेको छ ।’ उनले पाटन कला र संस्कृतिमा सम्पन्न सहर भएको जनाउँदै महानगरले यसको विकास, संरक्षण र प्रवद्र्धनमा कुनै कसुर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे । ४ दिनसम्म चल्ने प्रदर्शनीमा नेपाल, बंगलादेश, श्रीलंका, भुटान, माल्दिभ्स लगायतका देशका हस्तकलाका सामग्री राखिएको छ ।

प्रतिक्रिया