लोपोन्मुख भाषा जोगाउन विद्यालयमा पढाइ

नेपालमा मेचे समुदायको जनसंख्या जम्माजम्मी पाँच हजार मात्रै छ । ती मध्ये २० प्रतिशतले मात्रै घरभित्र आफ्नो मातृभाषा मेचे बोल्ने गरेको सम्बन्धित अधिकारीहरू बताउँछन् । लोप हुने अवस्थामा पुगेको मेचे भाषा जोगाउन झापाको हल्दीबारी गाउँपालिकाले दीपेन्द्र प्राथमिक विद्यालयको कक्षा एकमा मेचे भाषाको पठनपाठन सुरु गरेको छ ।

उक्त गाउँपालिकामा मेचे समुदायका सबैभन्दा बाक्लो बस्ती छ । त्यहाँ करिब एक हजार तीन सयको संख्यामा मेचे समुदायका मानिसहरू बसोबास गर्छन् । यस बारेमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरे भन्छन्, ‘जुन विद्यालयमा ५० प्रतिशतभन्दा धेरै मेचे समुदायका बालबालिका छन्, त्यही विद्यालयमा उनीहरूकै मातृभाषाको पठनपाठन सुरु गरेका हौँ ।’ यो थालनी रहेको उनले जानकारी दिए ।

विसं २०४४ मा स्थापना भएको उक्त विद्यालयमा हाल एक सय ३१ जना विद्यार्थी अध्ययनरत रहेकामा ५५ जना मेचे समुदायका रहेका विद्यालयका प्रधानाध्यापक दीर्घराज आचार्यले बताए । पठनपाठनका लागि पाठ्यक्रम विकास केन्द्रले कक्षा १ का लागि प्रकाशन गरेको नेपाली भाषाको पुस्तकलाई आधार मानेर मेचे भाषाको पुस्तक तयार पारेर स्वीकृत गरिएको बताइएको छ ।

‘जङ्नि राउ, थाख १’ पुस्तकका लेखक सन्थलाल मेचे हुन् भने उक्त पुस्तकको प्रकाशक हल्दीबारी गाउँपालिका रहेको छ । पुस्तकमा ३७ भाग र ९५ पेज रहेको छ । सम्भवतः यो उक्त भाषाको पहिलो पाठ्यक्रम हो । यसले आगामी दिनमा नयाँ पुस्ताका बीचमा आफ्नो भाषाको पर्याप्त जानकरी गराउने विश्वास गरिएको छ ।

मेचे जातिका बूढाबूढीहरू घरभित्र आफ्नै मातृ भाषामा कुराकानी गर्छन् । उनीहरूको घरभित्रको बोलाचाली मातृभाषमा नै हुन्छ । तर, घरबाहिर भने उनीहरू पनि उक्त भाषा बोल्दैनन् । घरबाहिर उनीहरूको भाषाको प्रयोग नै नहुने गरेको मेचे अगुवाहरू बताउँछन् ।

गाउँपालिकाका अधिकृत घिमिरे भन्छन्, ‘नयाँ पुस्ताका मानिसहरूले अलिअलि बुझ्छन् तर कुराकानी गर्न भने जान्दैनन् ।’ नयाँ पुस्ताका बीचमा आफ्नै मातृभाषा नौलो जस्तै हुने गरेको छ । पुस्तक लेखक मेचेका अनुसार गाउँघरमा बूढापाकाले बोल्ने गरेको शैली तथा शब्दहरूलाई आधार मानेर उक्त भाषाको वर्ण तयार गरिएको छ ।

उनले भने, ‘गाउँमा मेचे जातिका मानिसहरूको बाक्लो बस्ती रहेका ठाउँमा मात्र सीमित रहने भयो । पढाइ नै भएपछि भाषा बोल्ने मान्छे बढ्ने भए ।’ उनीहरू हराउँदै गएको आफ्नो मातृभाषा स्थापित गराउने अभियानमा जुटेका छन् । मेचे भाषाको आफ्नो छुट्टै लिपी छैन । देवनागरी लिपी नै उनीहरूको लिपी मानिँदै आएको छ ।

माध्यमिक तहसम्मको शिक्षाको जिम्मेवारी पाएसँगै विभिन्न स्थानीय तहहरूले आफ्नो क्षेत्रमा बसोबास गर्ने विभिन्न जातिका भाषाका पाठ्यक्रम बनाएर पठनपाठन सुरु गरेका छन् । इलामको रोङ गाउँपालिकाले लेप्चा भाषाको पठनपाठन गराउनका लागि पाठ्यक्रम बनाउन सीमान्तकृत लेप्चा समुदायका अगुवाहरू सम्मिलित एउटा समिति नै गठन गरेको छ ।

रोङका प्रायः सबै वडाहरूमा लेप्चा समुदायका मानिसहरूको बसोबास रहेको उक्त गाउँपालिकाका प्रवक्ता सुवास तामाङले बताए । उनले भने, ‘हामीले विज्ञहरूको समिति बनाएर लेप्चा भाषाको पढाइका निम्ति काम गरिरहेका छाँै । हामी आगामी शैक्षिक वर्षदेखि लेप्चा भाषाको पढाइको तयारीमा छौँ ।’ आगामी दिनको योजना समेत सुनाए उनले ।

गाउँपालिकाका अध्यक्ष शमशेर राईका अनुसार लेप्चा भाषाको पाठ्यक्रम तथा पाठ्यपुस्तक निर्माण गर्नका लागि विज्ञहरूको टोलीसँग सम्झौता समेत भइसकेको छ । नेपालका सामुदायिक विद्यालयका प्राथमिक तहमा हाल २६ वटा मातृभाषामा पठनपाठन हुने गरेको पाठ्यक्रम विकास केन्द्रले बताएको छ । केन्द्रले दिएको जानकारीअनुसार मैथिली, भोजपुरी, अवधि, नेवारी तथा नेपाली भाषा ऐच्छिक विषयका रूपमा माध्यमिक तहमा पढाइ हुन्छ ।

केन्द्रका निर्देशक तथा सूचना अधिकारी गणेशप्रसाद भट्टराईका अनुसार प्राथमिक तहमा मैथिली, अवधि, भोजपुरी, तामाङ, लिम्बु, वान्तवा राई, चाम्लिङ राई, शेर्पा, नेपाल भाषा, मगर, गुरुङ, थारू, सुनुवार, राजवंशी, याख्खा, थारू, माझी र नेपाली मातृभाषाको पठनपाठन हुने गरेको छ । भट्टराईले अहिले स्थानीय तहले नै आवश्यकताअनुसार पाठ्यक्रम बनाएर केन्द्रको स्वीकृतिमा विद्यालयहरूमा पठनपाठनको व्यवस्था गरिरहेका छन् ।

यसरी मातृभाषामा पठन पाठन गर्दा एकातिर भाषाको संरक्षण हुने र अर्कोतर्फ नयाँ पुस्ताका बीचमा हराउने अवस्थामा पुगेको भाषा स्थापित हुने उनीहरूको ठहर छ । (बिबिसीको सहयोगमा)

प्रतिक्रिया