बिपीको अपमान

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्ना संस्थापक सभापति बिपी कोइरालाको एक सय ६औँ जयन्तीको अवसर पारेर आजदेखि दोस्रो चरणको जागरण अभियान सुरु गरेको छ । जागरण अभियानको शुभारम्भ मुलुका तीन सय ३० वटा प्रदेशसभा निर्वाचन क्षेत्रमा एक सय ६ वटाका दरले ३५ हजार बिरुवा रोपेर गर्ने नेपाली कांग्रेसले जनाएको छ । नेपाली कांग्रेसका संस्थापक नेता बिपीको जन्म १९७१ भदौ २४ गते भएको थियो, निधन ०३९ साउन ६ गते भएको थियो । ०४० भदौ २४ गतेदेखि हरेक वर्ष नेपाली कांग्रेसले बिपी जयन्ती विभिन्न कार्यक्रम गरेर मनाउ“दै आएको छ । पञ्चायतकालमा पार्टीमाथि प्रतिबन्ध थियो । खुलारूपमा कार्यक्रम गर्न बन्देज थियो । तर, प्रहरीको धरपकड गर्दै कार्यक्रमहरू गथ्र्यो । यस्ता कार्यक्रमले चर्चा पाउँथ्यो । नयाँ पुस्ताले बिपी को हो ? किन बिपीको जन्म जयन्ती मनाउन राज्यले रोक्छ ? भन्ने कुरामा चासो दिन्थ्यो । यही चसोका कारण नयाँ पुस्ताले बिपीको बारेमा थप अध्ययन गथ्र्यो । तर, प्रजातन्त्र पुनस्र्थापना भएपछि पनि नेपाली कांग्रेसले बिपी जयन्तीका अवसरमा त्यही खालका कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ । बिपी को हुन् ? बिपीले मुलुकका लागि दिएका योगदानहरू के–के हुन् ? भन्नेतर्फ भन्दा पनि रूख बिरुवा रोप्ने, कार्यकर्ता भेला पारेर अप्रसंगका भाषणहरू छाँट्ने, एक अर्कालाई लाञ्छना लगाउनेजस्ता गतिविधिमै नेपाली कांग्रेस रुमलिइरहेको छ ।

वास्तवमा बिपी कोइरालाको योगदान मुलुका लागि अमूल्य छ । यो मुलुकको भौगोलिक एकीकरणको श्रेय पृथ्वीनारायण शाहलाई जान्छ भने एकीकृत भूगोलमा राष्ट्रियता र लोकतन्त्ररूपी प्राण भरेको श्रेय बिपी कोइरालालाई जान्छ । नेपाली कांग्रेस तिनै बिपी कोइरालाले जन्माएको र हुर्काएको पार्टी हो । बिपी कोइरालाको योगदानबारे नयाँ पुस्तालाई जानकारी दिँदै जाने हो र बिपीले कोरेको मार्गचित्रअनुसार अघि बढ्ने हो भने मुलुकको लोकतन्त्र र नेपाली कांग्रेसलाई कुनै पनि शक्तिले हल्लाउन सक्दैनन्, तर पछिल्ला दिनमा नेपाली कांग्रेस घोर अन्योलताभित्र रुमल्लिइरहेको छ । पहिलो कुरा बिपी कोइरालाको विचार, दर्शन तथा मार्गचित्रलाई नेपाली कांग्रेसका नेताहरूले नयाँ पुस्तामा लैजान सकेनन् । बिपीको आदर्श नबुझेका अर्थात् बिपी विचार नचिनेकाहरूको पकड नेपाली कांग्रेसको संगठनमा बढ्दै गयो । जसका कारण कांग्रेसका नेता तथा कार्यकर्ताहरूको दिमागमा सामन्ती सोच तथा व्यवहारमा अवसरवादी चरित्र हाबी हुँदै गयो । यही चरित्रका कारण नेपाली कांग्रेस जनताबाट टाढा हुँदै गयो । जनता विकल्प खोज्दै कम्युनिस्ट पार्टीतर्फ आकृष्ट हुँदै गए ।

यतिवेला नेपाली कांग्रेस इतिहासै सबैभन्दा कमजोर अवस्थामा छ । ७० वर्षको इतिहासमा नेपाली कांग्रेस यति विधि हैसियतविहीन कहिल्यै भएको थिएन । नेपाली कांग्रेस यति विधि हैसियतविहीन हुनु भनेको बिपीमाथिको ठूलो अपमान हो । बिपी कोइरालाको मार्गदर्शन जसलाई थाहा छैन, जो बिपीको आदर्शबमोजिम चल्दैन उसलाई नेपाली कांग्रेसको संगठनमा बस्ने नैतिक अधिकार नहुनुपर्ने हो, तर, कांग्रेसको माथिदेखि तलसम्मका संगठनहरूमा करिब ८० प्रतिशत नेता तथा कार्यकर्ता यस्ता छन् जसलाई बिपीको मार्गदर्शन थाहा छैन, थाहा भइहाले पनि बिपीको आदर्शअनुसार चलेका छैनन् । उदाहरणका लागि बिपी कोइराला धर्मनिरपेक्षताको प्रश्नमा स्पष्ट थिए, एकलधर्म सापेक्षता भनेको लोकतन्त्रविरुद्ध हो भन्ने कुरामा बिपी स्पष्ट थिए तर, यतिवेला नेपाली कांग्रेसका प्रभावशाली नेता तथा कार्यकर्ताहरू खुलेआम हिन्दू राज्य पुनर्बहालीको गतिविधिमा लागेका छन् । जुन कुरा नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा बनाएको संविधानको खिलापमा छ । बिपीले भ्रष्टाचारलाई लोकतन्त्रको मुख्य शत्रु भनेका थिए तर, नेपाली कांग्रेसमा भ्रष्टाचार तथा गुण्डागर्दी गर्नेहरूको हालीमुहाली बढ्दै गएको छ । बिपीले समाजिक न्यायविना राष्ट्रियता कमजोर हुने बताएका थिए तर, नेपाली कांग्रेसले सरकार सम्हाल्दा सामाजिक न्यायतर्फ ध्यान नै दिएन । गुण्डाहरूलाई पार्टी संगठनमा हुलेर सामाजिक न्याय दिन सकिन्न भन्ने चेतना कांग्रेसका नेताहरूमा देखिएन । नेपाली कांग्रेसले यस्ता कमजोरी सुधार गरेन भने लोकतन्त्रको भविष्य सुखद् हुँदैन । फेरि पनि लोकतन्त्र गुम्न सक्छ । त्यसैले, नेपाली कांग्रेसले बिपी विचार नयाँ पुस्तासम्म लैजाओस्, बिपीको आर्दशबमोजिम पार्टीलाई अघि बढाओस् शुभकामना ।

प्रतिक्रिया