समयले पर्खन्नः डोकोमा दूध अडिन्न

समयले हामीलाई कहिल्यै पर्खंदैन । समय आफ्नै गतिमा अगाडि बढिरहेको हुन्छ । हामीले हाम्रो गतिलाई त घटाउँन या बढाउँन सकौँला तर समयको गतिलाई रोक्न सक्ने क्षमता हामीमा छैन । प्रश्न उठ्न सक्छ , के समय नै जीवनको सबैथोक हो त ? सरसर्ती हेर्दा हाम्रो जीवन सार्थक बनाउँन आवश्यक पर्ने अन्य चिजविजहरूको सूची नै हाम्रो अगाडि खडा भैदिन्छन् । तर, वास्वविकता बुझ्दै जाने हो भने हाम्रो जीवनका हरेक पल अनि घटनाक्रमलाई समयले नै जेलेर राखेको हुन्छ । समयको खेललेनै जिन्दगीसँग मेल गराइराखेको हुन्छ ।

समयको चक्र बुझिनसक्नुको छ । एउटा सानो बच्चाको रूपमा हामीलाई यो धर्तीमा पाइला टेकाउने काम समयले गरिदिन्छ । बाल्यकालको त्यो बालापन र आफूले भनेकै हुनुपर्ने जिद्दी स्वभाव समयकै उपज हो । अनि यो त्यहि समय हो जसले जीवनमा रंगीन सपनाहरू बुनिदिन्छ । त्यहि रंगीन सपनाहरूलाई विपनामा उतार्न हामी तल्लिन हुन्छौँ । त्यस मध्येका केही सपनाहरू हाम्रो वास्तविकतामा परिणत भएपनि केही सपनाहरू भने मिठो सपनामानै सीमित भैदिन्छन् । अनि यिनै अपूरा सपनाहरू विपनामा सार्थक बनाउँने होडबाजीमा जीवन जिउनेक्रम अगाडि बढिरहेको हुन्छ । तर, के थाहा कि जीन्दगीको गाडी कहाँ पुगेर ब्रेक लागिदिन्छ भनेर । जब जीन्दगीरूपी गाडीमा ब्रेक लागिदिन्छ तब हजाराँै सपनाहरूका साथ जीवनको अस्तित्व समाप्त भैदिन्छ ।

बाल्यकालदेखि जीवनको अस्तित्व रहेसम्म विभिन्न उतारचढावहरू ल्याइदिने समयले हामीलाई वेला वेलामा स्वार्थी पनि बनाइदिन्छ । स्वार्थी दुनियाको एक सदस्यको रूपमा हाम्रो संघर्ष जारी रहन्छ । यही संघर्षको दौडानमा हामी कहिलेकाहीँ त यस्तो मोडमा आइपुग्दछौ कि जहाँ के सही अनि के गलत हो भन्ने छुट्याउन पनि दोधार भइदिन्छ । यतिवेलाको सानो कदमले पनि जिन्दगीलाई नकारात्मक धारतिर मोडिदिन सक्दछ । हामीमा भएको हतार हतारमा निर्णय लिन खोज्ने बानीले हामीलाई यस्तो धारमा उभ्याइदिन्छ । जबसम्म हामीमा स्वार्थीपना हट्दैन तबसम्म जिन्दगीका अफ्ठ्यारा मोडहरूले हामीलाई दुःख दिन छोड्दैन ।

वास्तवमै भन्ने हो भने समयभन्दा अघि वा पछि कोही पनि चल्न सक्दैन । समय आफैँमा सर्वशक्तिमान छ र त यसभन्दा माथि हामी जान सक्दैनौँ । यदि हामी समयभन्दा माथि जान सक्ने हो भने युवा अवस्था हुँदा पनि बाल्यकालमा फर्केर तोते बोलीसँगै अनुभव गरेको जीवन जिउन सक्नुपर्ने हो भने बुढ्यौलीमा पनि जवानीको जोस रहनु पर्ने हो । तर यस्तो हुन सक्दैन, किन ? कारण एउटै छ कि हामीले समयको गतिलाई अगाडि बढाउँने होइन कि समय चाहिँ हाम्रो पथ प्रदर्शक हो । यो त यस्तो चिज हो कि न हामी यसलाई रोक्न सक्छौँ न त उछिन्न नै सक्दछौँ ।

समयको गतिलाई रोक्न नसके पनि हामी समयसँगै अघि बढ्न भने सक्दछौँ । समयको मागअनुसार सही कदम चलाउन सकेमा मात्र खडेरी रूपी जीवनमा हरियालीको महशुस गर्न सकिन्छ । जीवनरूपी बगैँचालाई सधैँ सुगन्धित तथा हराभरा बनाइ राख्न हाम्रा हरेक क्रियाकलाप अरूले अनुशरण गर्न योग्य हुनु पर्दछ । आफूलाई अमृतको कुण्ड चाहिने र अरूलाई भने विषको पोखरीमा पौडन लगाउने प्रवृत्ति हामीमा भयो भने समयले हामीलाई अमृतको साटो विषको पोखरीमा नधकेलिदेला भन्न सकिन्न । आफूले खनेको खाल्डोमा आफैँ परिँदैन भन्ने पनि त छैन । नियत खराब भयो र त्यही नियतलाई पछ्याउँदै गइयो भने निश्चयनै समयले हामीलाई त्यहि भुमरीमा धकेलिदिन्छ जहाँ हामी पुग्छौँ भन्ने कल्पनासम्म पनि गरेका हुँदैनौँ ।

समयले हामीलाई नपर्खे पनि हामी भने केवल समयको नै पर्खाइमा हुँदा रहेछौँ । यसले ल्याइदिएका सुखका पलहरू हामीबाट कुनै पनि समयमा टुटेर नजाओस् भन्ने आशाले जीवन अगाडि बढाइरहेका हुँदा रहेछौँ । समयसँगै लागेका घाउहरू समयले नै निको पारिदिने झिनो आशाका स्वर्णिम किरणहरूले मनमा बास गर्दा रहेछन् । थाहा छैन समय सधँै आफू अनुकुल हुन्छ या हुँदैन । तर पनि समयले आफ्नो जीवनमा असिमित खुसीको बहार ल्याइदियोस् भन्ने चाहना हुँदो रहेछ । सुखी जीवनको खोजीमा नै जीवनको रथ अगाडि बढ्दो रहेछ । समयले आफ्नो जीन्दगीलाई जता मोडेर लगे पनि जीवनका हरेक मोडले सुन्दर भविष्यको रेखा कोरिदिएको हेर्ने रहर हुँदो रहेछ । आफूले जानी नजानी गरेका सम्पूर्ण कार्यहरूको सकारात्मक प्रतिफल प्राप्त होस् भन्ने इच्छा हुँदो रहेछ । अझ भन्ने हो भने आफ्नो जीवनमा समयले कुनै पनि विचलन नल्याइदियोस् भन्ने सोच हामीमा आउँदो रहेछ ।

समयको महत्वका बारेमा हामीले जति बुझेर अरूलाई अर्ती उपदेश दिए पनि हामी आफैँ भने यसलाई व्यवहारमा उतार्न कता–कता चुकिरहेका छौँ । यो सत्य हो कि समय आए पछि सबै थोक ठिक हुन्छ । तर आफ्नो सत्कर्म छाडेर समयले जादुमय तरिकाले सबै ठिक पारिदिन्छ भनेर सोच्नु चाहिँ भाग्य छ भने डोकोमा दुःध दोए पनि अडिन्छ भन्ने भ्रममा पर्नु हो । समय त त्यतिवेला हामी अनुकूल हुन्छ जब हामीले जीवनबाट अलिकति पनि विचल्लित नभइ सत्यको मार्गलाई पछ्याउँदछौँ ।

कहिलेकाहीँ सत्यको मार्गमा पनि काँडारूपी पर्खालहरू खडा हुन सक्दछन् । तर के सही हो भने समय आएपछि ती पर्खालहरू ढलिदिन्छन् र जीवनलाई खुसीको गोरेटोमा डो¥याइदिन्छन् । अब साँच्चिकै समयको महत्वका बारेमा आफ्ना बालबालिकाहरूलाई पनि सिकाई व्यवहारमा उतार्ने वेलाको खाँचो भएको छ । बुझेर पनि व्यवहारमा उतार्न नसकेको यो कुरालाई आफूले पछ्याउँदै आफ्ना बालबालिकाहरूलाई अनुशरण गर्न लायक बनाउँने परिवेशको आवश्यकता भइसकेको छ । यदि यस्तो गर्न सकेमा हाम्रो मात्र नभई हाम्रा बालबाललिकाहरूको भविष्य पनि उज्जववल हुन्छ र समयले ल्याइदिएको खुसीको बहारसँगै जीन्दगी झलमल्ल भइदिन्छ ।

अब सानो कुरालाई लिएर एक आपसमा मनमुटावको वातावरणको सिर्जना गरी भाइचाराको सम्बन्ध बिगार्नुभन्दा समयको सही सदुपयोग गर्ने वातावरणको विकास गरौँ । असल काम गरी उचित प्रतिफल प्राप्त गर्ने समयको पर्खाइमा बसौँ । जिन्दगीका उतारचढावहरूलाई सही मार्गमा लैजाने विषयमा सोचमग्न होऔँ । कुरा बढी गर्नेभन्दा असल काम बढी गर्नेमा ध्यान दिऔँ । यसलाई आफूले गम्भीरताका रूपमा लिई आफ्ना बालबालिकाहरूलाई पनि गम्भीर हुन सिकाऔँ ।

प्रतिक्रिया