चन्द्रयान–२ : चन्द्रमाको अधुरो यात्रा

नयाँ दिल्ली । विक्रम ल्यान्डरबाट निराशा प्राप्त भए पनि चन्द्रयान–२ को अर्बिटर चन्द्रमाको कक्षमा आफ्नो काम गरिरहेको छ । अर्बिटरमा कैयौँ वैज्ञानिक उपकरण जडिएका छन् जसले अहिलेसम्म काम गरिरहेका छन् । चन्द्रमामा पानीको खोजी भारतको मुख्य लक्ष्य थियो त्यो काम अर्बिटरले गरिरहेको र भविष्यमा त्यसबाट तथ्यांकहरू प्राप्त हुने बताइएको छ । यो वैज्ञानिक मिसन पूरा गर्न ११ वर्ष लागेको थियो । इसरोले कहाँ कमजोरी भयो भन्ने पत्ता लगाउन कोसिस गर्नेछ र आगामी कदमबारे निर्णय लिनेछ । इसरोको अर्को ठूलो मिसन गगनयान हुनेछ जसमा अन्तरिक्षयात्री पनि पठाउने योजना छ । चन्द्रयान–२ को विक्रम ल्यान्डर चन्द्रमाको दक्षिणी ध्रुवमा छुन केही क्षण बाँकी रहँदा उक्त यानसँग भारतीय अन्तरिक्ष केन्द्र इसरोको सम्पर्क विच्छेद भएको होे ।

अन्तरिक्ष यानलाई के भयो भन्नेबारे प्रस्ट भइसकेको छैन तर, प्रधानमन्त्री नरेन्द्र मोदीले त्यस्ता अरू पनि अवसर आउने बताए । यदि अवतरण गर्न पाएको भए भारत चन्द्रमामा पुग्ने चौथो मुलुक बन्ने थियो । मोदीले वैज्ञानिकहरूलाई भने, ‘हाम्रो अन्तरिक्ष कार्यक्रममा अझ राम्रो क्षण आउन बाँकी छ । भारत तपाईंका साथमा छ ।’

भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो)ले चन्द्रमामा मानवरहित अन्तरिक्ष यान पु¥याउने चन्द्रयान–२ मिसनको एउटा यान विक्रम ल्यान्डर योजना अनुरूप अवतरणतर्फ लागिरहेका वेला सम्पर्क विच्छेद हुन पुगेको बताएको छ । इसरोका प्रमुख के. शिवनले भने, ‘चन्द्रमाको सतहको २ दशमलव १ किलोमिटरसम्म सबै सामान्य थियो । तर, त्यसपछि विक्रमसँग सम्पर्क विच्छेद भएको थियो । तथ्यांकको समीक्षा भइरहेको छ ।’

शुक्रबार राति साढे १ देखि साढे २ को बीचमा चन्द्रमाको सतहमा अर्बिटरबाट अवतरणका लागि तयार पारिएको विक्रम ल्यान्डर नाम गरेको यान पठाइँदै थियो । भारतीय अन्तरिक्ष वैज्ञानिकको उपलब्धि हेर्न र उनीहरूको हौसला बढाउन प्रधानमन्त्री मोदी पनि बेंगलुरुस्थित इसरो मुख्यालय पुगेका थिए । सबै कुरा राम्ररी अघि बढिरहेको थियो र वैज्ञानिकहरू विक्रम चन्द्रमाको सतह निकट पुग्न लागेको हर क्षणलाई पछ्याइरहेका थिए । तर, अन्तिम क्षणतिर इसरो केन्द्रमा तनावपूर्ण स्थिति बनेपछि वैज्ञानिकका मुहारमा चिन्ता प्रकट हुन थालेको देखिन्थ्यो ।

केही बेरपछि इसरो अध्यक्ष प्रधानमन्त्री मोदीकहाँ गएर अवस्थाको जानकारी गराए । इसरोका पूर्व अध्यक्ष कस्तूरीरंगन र के राधाकृष्णनले उनको काँध थपथपाएर सान्त्वना दिए । इसरो प्रमुखले यसअघि नै चन्द्रमा सतहमा अवतरण गर्नुअघिको १५ मिनेट ‘भयाक्रान्त’ हुने बताएका थिए । त्यसको केही बेरपछि इसरोका अध्यक्षले बताए, ‘विक्रमसँग इसरो केन्द्रको सम्पर्क विच्छेद भएको छ ।’

त्यसपछि प्रधानमन्त्री मोदी वैज्ञानिकहरूको बीचमा गए र उनीहरूको हौसला बढाउँदै उनीहरूलाई सम्बोधन गरेका थिए । मोदीको भनाइ थियो,‘जीवनमा उतार चढाव आइरहन्छ । सम्पर्क विच्छेद हुँदा मैले हेरिरहेको थिएँ । तर यो कुनै सानो उपलब्धि होइन । मुलुकले तपाईंहरूमाथि गर्व गर्छ । तपाईंहरूको मेहनतले धेरै कुरा सिकाएको पनि छ । मेरो तर्फबाट तपाईंहरू सबैलाई बधाइ छ । विज्ञानले देशको र मानवजातिको ठूलो सेवा गरेको छ । यो चरणबाट हामीले धेरै कुरा सिकिरहेका छौँ । हाम्रो यात्रा अगाडि पनि जारी रहनेछ । म पूर्णरूपमा तपाईंहरूको साथमा छु ।’

भारतीय अन्तरिक्ष वैज्ञानिकहरूका लागि शुक्रबारको रात महत्वपूर्ण थियो । राति साढे १ बजे भारतीय अनुसन्धान संगठन इसरोका वैज्ञानिकहरूले चन्द्रयान–२ को विक्रम ल्यान्डरलाई विस्तारै–विस्तारै चन्द्रमाको सतहतर्फ लगिरहेका थिए । विक्रम ल्यान्डरलाई पहिले चन्द्रमाको कक्षमा रहेको अर्बिटरबाट छुट्याउनुपथ्र्यो र उसलाई चन्द्रमाको सतहतर्फ लगिनुपथ्र्यो । ल्यान्डरको भित्र प्रज्ञान नामको रोवर पनि थियो जसले सुरक्षित अवतरणपछि बाहिर निस्केर चन्द्रमाको सतहमा घुम्न र वैज्ञानिक परीक्षण गर्नु थियो ।

इसरोको चन्द्रयान–२ का लागि चन्द्रमाको दक्षिणी ध्रुव रोजिएको थियो जहाँ विक्रम ल्यान्डरको सफ्ट ल्यान्डिङ भनिने नियन्त्रित अवतरण गर्नु थियो । सबै राम्रै भइरहेको भएपनि सतहमा पुग्नु केही बेरअघि नै ल्यान्डरसँग सम्पर्क विच्छेद भयो । यदि सफल भएको भए अमेरिका, रुस र चीनपछि चन्द्रमामा अन्तरिक्ष यानको सफ्ट ल्यान्डिङ गराउने भारत चौथो देश बन्नेवाला थियो । १५ करोड अमेरिकी डलर लगानी गरिएको यस मिसनलाई अन्य देशले सोही कामका लागि गरेको लगानीको तुलनामा कम खर्चिलो मानिएको थियो ।

यसअघि सन २००८ मा भारतले चन्द्रयान–१ प्रक्षेपण गरेको थियो जसले चन्द्रमाको सुख्खा सतहमा पानीका अणुहरू रहेको कुरा पत्ता लगाएको थियो । चन्द्रयान–२ ले तिनै विवरणमा टेकेर थप अनुसन्धान गर्ने अपेक्षा भारतीय वैज्ञानिकहरूले गरेका थिए । यो अभियानअन्तर्गत चन्द्रमा सतहमा पानी र खनिजको खोजअघि बढाइने र चन्द्रमामा गएका कम्पनहरूको मापन पनि गरिने भनिएको थियो ।

विक्रम नामक लेन्डरले २७ किलो तौल भएको एउटा चन्द्रमामा हिँड्ने वाहन बोकेको थियो । त्यसले चन्द्रमाको भूसतहको अन्वेषण गर्ने योजना राखिएको थियो । यदि भारतको प्रज्ञान रोवरको सेन्सरले चन्द्रमाको दक्षिणी भागमा रहेको पानीको विशाल पोखरीको प्रमाण खोज्न सकेको भए यो ठूलो खोज हुनेवाला थियो । यसलाई भारतीय अन्तरिक्ष निकायको अहिलेसम्मकै सबैभन्दा जटिल र महत्वकांक्षी काम मानिएको थियो ।

चन्द्रयान–२ मिसनको सफलता अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका लागि पनि सहयोगी साबित हुने ठानिएको थियो जसले सन् २०२४ मा चन्द्रमाको दक्षिणी ध्रुवमा मिसन पठाउने योजनामा काम गरिरहेको छ । अहिले पनि पूर्णरूपमा आशा समाप्त भई नसकेको र ल्यान्डरसँग सम्पर्क स्थापित हुनसक्ने आशा गरिएको बताइएको छ । यो पलको साक्षी बन्न देशभरका ६० जना छात्र–छात्रा पनि यो सेन्टरमा बसिरहेका थिए, जसलाई प्रश्नोत्तरपछि चयन गरिएको थियो ।

प्रतिक्रिया