एक जातिको चाडपर्व तथा संस्कृतिलाई मात्रै संरक्षण

सनातनदेखि चलिआएका संस्कृति तथा पम्पराको संरक्षण र संवद्र्धन गर्नु राज्यको दायित्व हुनेछ भनेर संविधानमै उल्लेख गरिएको छ । तर, व्यवहारमा भने अहिले पनि कुनै एकजातिको चाडपर्व तथा संस्कृतिलाई मात्रै संरक्षण तथा संवद्र्धन गरिएको छ । नेपाल मुख्यतः तीनवटा नश्लको चौतारी हो । आदिवासी जनजाति, खस आर्य र मधेसी गरी तीन समुदायको संगम हो नेपाल 

नेपालमा मुख्य गरेर हिन्दू र बौद्ध धर्मावलम्बीहरूको बाहुल्यता पाइन्छ । यहाँ मुस्लिम, ईसाई र अन्य धर्मावलम्बीहरू पनि छन् । नेपालमा सबै धर्मालम्बीहरू एक आपसमा मिलेर सहिष्णुपूर्वक नै आजसम्म बसेकै छन् । यहाँ अहिलेसम्म धर्मको नाममा कुनै कलह–झैझगडा भएको छैन । सबैले आ–आफ्नो धर्मअनुसार चाडपर्वहरू मान्दै छन् । नेपाल धर्मनिरपेक्ष राष्ट्र घोषित भइसकेकोलाई केही प्रतिगामी तत्वबाहेक सबै नेपालीहरूले स्वीकार गरिसकेका छन् । यसर्थमा राज्यले कुनै एक धर्मलाई काखा र पाखा गर्न मिल्दैन । राज्य सरकारको लागि सम्पूर्ण देशका नागरिकहरू समान हुन्छन् । धार्मिकस्वतन्त्रताअनुरूप प्रत्येक नागरिकले स्वेच्छाले आ– आफ्नो धर्मअनुसार जीवनयापन एवं बाँच्न पाउनु पर्दछ ।

सनातनदेखि चलिआएका संस्कृति तथा पम्पराको संरक्षण र संवद्र्धन गर्नु राज्यको दायित्व हुनेछ भनेर संविधानमै उल्लेख गरिएको छ । तर व्यवहारमा भने अहिले पनि कुनै एकजातिको जाड पर्व तथा संस्कृतिलाई मात्रै संरक्षण तथा संवद्र्धन गरिएको छ । नेपाल मुख्यतः तीनवटा नश्लको चौतारी हो । आदिवासी जनजाति, खस आर्य र मधेसी गरी तीन समुदायको संगम हो नेपाल । तर, खस आर्य जातिको भाषा, संस्कृति तथा चाडपर्वलाई मात्रै राज्यद्वारा संरक्षण र संवद्र्धन गरिएको छ अहिलेसम्म । नयाँ संविधानको मर्मअनुसार राज्य सत्ता अघि बढेको छैन ।

नेवार समुदायले जवर्जस्ती आफ्ना चाडपर्वमा राज्य सत्ताको ध्यान आकृष्ट गरिरहेको छ । होइन भने अरू जनजातिका चाडपर्वहरू लोप हुने खतरामा छन् । भाषा पनि लोप हुने खतरामा छ । भाषा, संस्कृति तथा चाड पर्व लोप भयो भने उ जनजाति रहँदैन । तर, खस भाषाले जनजातिका भाषाहरूलाई निल्दै गएको छ, खसजातिका चाडपर्व तथा संस्कृतिले जनजातिका चाडपर्व तथा संस्कृतिलाई निल्दै लगेका छन् । पछिल्ला दिनमा खस समुदायका मौलिक चाडपर्वहरूलाई जनजाति समदायका मानिसहरूले पनि मनाउन थालेका छन् । यसले जातीय सहिष्णुतामा राम्रै प्रभाव पार्ला । तर, एकोहोरो भएको छ । आदिवासी जनजातीका चाडपर्वहरू खस आर्य समुदायका मानिसहरूले मनाएको देखिन्न ।

नेपाल एकीकरणदेखि यताको यो दुई सय ४० वर्ष खस आर्य समुदायले मुलुकमा शासन गरिरहेको छ । जसले शासन गर्छ उसको भाषा तथा संस्कृति शासितले ग्रहण गर्दै जानु अस्वभाविक हुँदैन । तर, नेपालको सन्दर्भमा भन्नु पर्दा राणाकालमा मात्रै होइन पञ्चायतकालका अन्तिम दिन सम्म पनि जवरजस्ती गरिएको छ । त्यो जबर्जस्तीको तुस अझै बाँकी छ । वर्षभरीका चाडपर्वहरूमा सरकारी बिदाको सूची हेर्ने हो भने ६० प्रतिशत भन्दा बढी बिदा खस अर्यसमुदायकै चाड पर्वका लागि दिने गरिएको छ । भनिँदैछ कि दशैँ, तिहार, तिजलगायतका पर्व जनजातिले पनि मनाउँछन् । तर यर्थाथमा सरकारले विदा दिने गरेका अधिकांश चाड पर्व जनजातिका होइनन् ।

नेपालका आदिवासी जनजातिको भाषा तथा संस्कृतिको अस्तित्व र वास्तविक पहिचान छायामा पार्ने मात्रै होइन नामेट पार्ने प्रयाससँगै विभिन्न समस्याहरू उत्पन्न भएका छन् । भाषा मर्नु, भूगोल खोसिनु, धर्म–संस्कृति नासिनु, मौलिक जीवनशैली, प्रथा र परम्पराहरू बलपूर्व मिचिनु वा परिवर्तन हुनु, यी सबैले आदीवासी जनजातिहरूको अस्तित्व र वास्तविक पहिचानलाई धरापमा पार्दै लग्यो । गुमेका, खोसिएका, नासिएका र परिवर्तन भएका वा गराईएका तिनै पक्षहरूको उत्खनन् र जगेर्ना गर्दै आदिवासी जनजाति समुदायले आफ्नो पहिचानको खोजी गर्दै आइरहेको छ ।

यी सबै पक्षहरूलाई आदिवासी जनजाति महिलाको हक र दृष्टिकोणबाट पनि खोजी गर्नु, अध्ययन मनन् र विश्लेषण गर्नु उत्तिकै जरुरी छ । यसो भनिरहँदा स्पष्ट हुनुपर्ने महत्वपूर्ण कुरा, आदिवासी जनजाति महिलाहरूको पहिचानको संघर्ष र उनीहरूले उठाएका सवाल आदिवासी जनजाति समुदाय वा जनजाति आन्दोलनको सवालभन्दा बेग्लै वा अलग्गै हैन । न त नेपालका महिलाहरूको सवाल र समस्याभन्दा भिन्न नै हो । मूलधारे महिला आन्दोलन र जनजाति आन्दोलनले उठाउँन बाँकी रहेका आदिवासी जनजाति महिलाकेन्द्रित सवाल र समुदायले लैंिगकताका दृष्टिले समयसापेक्ष अभ्यास र कार्यान्वयनमा ल्याउन नसकेका व्यवहारिक पक्षहरूमा जोड दिँदै आफू सचेत हुन र अरुलाई पनि त्यसप्रति संवेदनशील र सचेत बनाउनुपर्ने दायित्वबोधसँगै उनीहरू अघि बढेका हुन् ।

नेपालमा कुनै कुनै चाड पर्वमा खस आर्य र जनजातिका तिथि मिति जुधेका छन् । उदाहरणका लागि माघे सक्रान्ति, वैशाखे पूर्णिमा, साउने सक्रान्ति, मंसिरे पूर्णिमा आदिलाई लिन सकिन्छ । तिथि मिति एउटै भयो भन्दैमा यी चाडलाई सझा चाड भनिहाल्न मिल्दैन । यी चाडलाई विभिन्न जातजातिले फरकफरक तरिकाले मनाउने भएकाले कुनै एक जाति विशेषले हाम्रो मात्रै पर्व हो भन्नु मनासिव देखिँदैन । त्यस्तो दावीले आफैँलाई कमजोर बनाउँछ

। त्योभन्दा अझ गहिरो कुरो सरकारले बुझ्नुपर्ने हो । तर, नेपालको राज्य संयन्त्र यति कमजोर छ कि, विनाअध्ययन अनुसन्धान जसले जे माग्यो अन्धाधुन्ध तरिकाले दिने गरेको तथ्य माघी पर्वलाई लिन सकिन्छ । माघीलाई तीन थरी समुदायको राष्ट्रिय चाड भनेर घोषणा गर्नुले देखाउँछ । सरकारले माघी हाम्रो जातीय चाड हो भन्दै जो जो उफिन्छ, त्यसैको हो भन्दै मन्त्रीपरिषद्बाट निर्णय गर्नु ठूलो गल्ती हो । सरकारमा बस्ने अल्पज्ञानीहरूले गरेको यस्तो निर्णयले समाज जुटाउन हैन, फुटाउन मद्दत गर्छ । त्यसैले सरकारहरूले जजसले माघीलाई आफ्नो पर्व भनेर माग गर्छन्, उनीहरूलाई खुसी बनाउन हावाको भरमा लौ तिमै पर्व हो भनेर घोषणा गरिदिनु तर्कसंगत हुँदै होइन ।

नेपाल मौलिक चाडपर्वले विश्वमा नै धनी मुलुकको रूपमा चिनिने गरेको छ । संरक्षणका अभावमा कतिपय चाडपर्वहरू लोपान्मुख अवस्थामा पुगेका छन् भने धेरै चाडपर्वहरूमा विकृति मिसिएको छ । हाम्रा इतिहासमा तथा धार्मिक ग्रन्थमा लेखिएका चाड पर्व मनाउने पद्धति भन्दा हाल आएर मनाउने गरिएको चाडपर्व धेरै नै फरक हुँदै आएका छन् । त्यस्तै, हाम्रो सामाजिक कार्यहरू समेतपुरानो शैलीबाट फेरिएर नयाँ तरिकाले मनाउने गरिएको छ । पछिल्लो समय नेपाली मौलिक चाडपर्व तथा सांस्कृतिक पर्वहरू मनाउने शैली फेरिएसँगै भड्किलो हुँदै गएका छन् ।
नेपालमा मुख्य गरी मनाइने पर्वहरूमा दसैँ, तिहार, तीज, जनैपूर्णिमा तथा समुदायमा आधारित संँस्कृतिक मूल्य र मान्यताहरूमा समेत धेरै विकृति फैलिँने गरेको छ । हाम्रा सांस्कृतिक पर्वहरूमा भएका कुरितीलाई हटाउँदै सभ्य तरिकाले मनाउनुपर्नेमा विकृति पछिल्लो समय झन् विकृति थुपार्दै हामीले झन् जटिल बनाउँदै लगेका छौँ । हाम्रो संस्कृतिमा विकृति मिसिँदै आउन थाल्यो भने हाम्रा सन्ततिलाई हामीले दिने जवाफ नै हुँदैन ।

संस्कृतिको संरक्षण गर्दै यसमा भएका खराब खालका प्रवृत्ति हटाएर सुसंस्कृत बनाउन सकेमा सुनमा सुगन्ध हुने थियो । वैदिक कालदेखि नै नेपालीहरूले मनाउँदै आएको दसैँ पनि पछिल्लो समय भड्किलो हुँदै गएको छ । दसैँमा आफूभन्दा ठूलाबाट टिका र आशिर्वाद ग्रहण गर्नुपर्नेमा टिकासँगै पैसा तथा उपहार दिनुले हामीलाई गिज्याइरहेको भान हुन्छ ।

आदिवासी जनजातिका मौलिक संस्कृति र चाडपर्वहरू सुरुमा खस आर्य समुदायको अपहरणमा परे । खस आर्य समुदायका चाड पर्वहरू भारतीय तथा पश्चिमाहरूको अपहरणमा पर्न थालेका छन् । साउनमा हरियो चुरा लगाउने परम्परा पछिल्लो समय भारतबाट नेपालमा भित्रिएको छ । न हाम्रा आमा न त हजुरआमा कसैले पनि साउनमा हरियो चुरा लगाउने गरेका थिए ।

अफवाह फैलाउँदै साउनमा हरियो चुरा लगाउँदा सर्पले डस्दैन, सुख÷शान्ति÷समृद्धि प्राप्त हुन्छ भनेर व्याख्या गर्ने गरिएको छ । हाम्रो कुनै पनि धार्मिक ग्रन्थमा उल्लेख नभएको साउनमा हरियो चुराले हामीलाई कंगालसमेत बनाउँदै लगेको छ । हरियो चुरा खरिदको लागि साउन महिनामा मात्रै अर्बौँ रूपैयाँ भारत निकासा हुने गरेको छ । सचेत वर्गहरू आजैदेखि जागेर आफ्नो मौलिक संस्कृति जोगाउँदै विकृति र विसंगति हटाउन आजैदेखि पहल गर्ने कि ?

पश्चिमा संस्कृतिलाई बढी महत्व र स्थान दिने पछिल्लो शैलीले नेपाली मौलिक पर्वहरू विस्तारै लोप हुने अवस्थामा पुगेका छन् । हाम्रा मौलिक संस्कृति र चाडपर्वहरू मौलिक शैलीमा नभई अपहरण शैलीमा मनाइँदैछन् । हरेक पर्वको आफ्नै महत्व र मनाउने शैली हुन्छ, सोही अनुसार मनाउनु पर्दछ ।

प्रतिक्रिया